मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १८ बुधबार
  • Wednesday, 01 February, 2023
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:३४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रदेशमा समानुपातिकबाट ७६% महिला आउँदै

सातवटै प्रदेश सभाका ५५० सांसदमध्ये ३३ प्रतिशत अर्थात् कम्तीमा १८१ महिला हुनुपर्छ, प्रत्यक्षबाट निर्वाचित भएका ३३० मध्ये १४ जना मात्र महिला छन्, संवैधानिक व्यवस्थाअनुसार बाँकी १६७ महिला अब समानुपातिकमा छानिने २२० मध्येबाट पूर्ति गर्नुपर्छ

Read Time : > 4 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०६:३४:००
  • सातवटै प्रदेशमा प्रत्यक्षतर्फ १४ महिला मात्र निर्वाचित
  • कर्णाली र सुदूरपश्चिमबाट एकजना पनि महिला प्रत्यक्षबाट निर्वाचित भएनन्

प्रदेश सभामा समानुपातिक प्रणालीबाट चुनिने दुई सय २० सांसदमध्ये करिब ७६ प्रतिशत महिला आउने भएका छन् । प्रदेश सभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट वितरणमै चरम उपेक्षा गरेका थिए । त्यसमध्ये पनि निर्वाचित हुनेको संख्या अत्यन्त न्यून भएपछि महिला उपस्थितिको पूर्ति समानुपातिकबाट गर्नुपर्ने बाध्यता दलहरूलाई छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रदेश १ बाट दुई, मधेसमा चार, बागमतीमा पाँच, गण्डकीमा दुई र लुम्बिनीमा प्रत्यक्षबाट एकजना महिला मात्रै निर्वाचित भएका छन् । प्रदेशमा अहिलेसम्म दलहरूले पाएको मतलाई केलाउँदा सातवटै प्रदेशमा समानुपातिकबाट आउने दुई सय २० सांसदमध्ये एक सय ६७ जना महिला हुने देखिन्छ । 

समानुपातिकबाट सबैभन्दा धेरै महिला मधेस र बागमती प्रदेशबाट ३१–३१ जना छानिने देखिन्छ । त्यस्तै, प्रदेश १ बाट २९, लुम्बिनीबाट २८, गण्डकीबाट १८, सुदूरपश्चिमबाट १७ र कर्णालीबाट १३ जना महिला छानिने सम्भावना छ । 

 

 

 

 

 

 

(नयाँ पत्रिकाले यो सूची निर्वाचन आयोगले जारी गरेको प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार तयार गरेको हो । पूर्ण नतिजा आइसकेपछि यसमा एक/दुई सिट र नाम तलमाथि हुन सक्छन् ।)

९३ सदस्यीय प्रदेश १ को सभामा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सांसद चुनिन्छन् । प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, माओवादीले नौ, एकीकृत समाजवादीले तीन र राप्रपाले दुई सिट जितेका छन् । त्यसमध्ये एकीकृत समाजवादी र राप्रपाबाट एक–एक महिला निर्वाचित भएका छन् । सभामा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन अब दलहरूले समानुपातिकबाट चुनिने ३७ मध्ये ३१ जना महिला पठाउनुपर्ने हुन्छ ।

समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १२, माओवादी र राप्रपाले चार–चार तथा एकीकृत समाजवादी र जसपाले एक–एक सिट पाउने देखिन्छ । आफूले पाएको सिटअनुसार दलहरूले नाम छनोट गर्दा आदिवासी जनजाति ४६.७९, खस–आर्य २७.८४, थारू ४.१५, दलित १०.०६, मधेसी ७.५७ र मुस्लिम ३.५९ प्रतिशत पठाउनुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १७.५३ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत नाम समावेश हुनुपर्छ । 

एक सय सात सदस्यीय मधेस प्रदेश सभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सांसद छानिन्छन् । ३३ प्रतिशत सहभागिताको व्यवस्थाअनुसार सभामा ३५ जना महिला अनिवार्य हुनुपर्छ । प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपा नौ, लोसपाले सात, जनमत पार्टीले ६, माओवादी र एकीकृत समाजवादीले चार–चार र स्वतन्त्रले ६ सिट जितेका छन् । एमाले, लोसपा, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक–एक गरी चार महिला निर्वाचित भएका छन् । 

समानुपातिकतर्फ कांग्रेसले नौ, एमालेले आठ, जनमत पार्टीले सात, जसपाले ६, माओवादीले चार, एकीकृत समाजवादीले तीन, लोसपाले दुई तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक–एक सिट पाउने देखिन्छ । दलहरूले आफूले पाएका सिटमध्ये मधेसी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, जनजाति ६.६१ र खस–आर्य ४.८९ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ प्रतिशत र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश गर्नुपर्ने हुन्छ ।

एक सय दश सदस्यीय बागमती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सदस्य छानिन्छन् । कुल सदस्यमध्ये ३६ जना महिला हुन्छन् । अहिलेसम्मको मतगणनाको नतिजाअनुसार समानुपातिकतर्फ एमालेले १४, कांग्रेसले १२, माओवादी र राप्रपाले सात–सात, एकीकृत समाजवादी दुई तथा नेमकिपा र हाम्रो नेपाली पार्टीले एक–एक सिट पाउनेछन् । प्रत्यक्षतर्फ कांग्रेसबाट दुई (खस–आर्य एक, जनजाति एक), माओवादीबाट दुई ९जनजाति) र एकीकृत समाजवादीबाट एक (जनजाति) महिला निर्वाचित भएका छन् । बाँकी महिला समानुपातिकबाट पूर्ति गर्नुपर्ने हुन्छ । 

दलहरूले समानुपातिकतर्फ पाएको सिटअनुसार छनोट गर्दा आदिवासी जनजाति ५३.१७, खस–आर्य ३७.०७, दलित ५.८४, थारू १.६६, मधेसी १.५७ र मुस्लिम ०.६७ प्रतिशत समावेश गर्नुपर्छ । यसरी छनोट गर्दा अल्पसंख्यक समुदायबाट ७.७७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १.०० प्रतिशत उम्मेदवार समावेश गर्नुपर्ने हुन्छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट ४४ सदस्य छानिन्छन् । कुल सदस्यको ३३ प्रतिशत अर्थात् २० जना महिला हुनुपर्छ । प्रत्यक्षमा एमालेबाट मात्रै दुई महिला (दलित एक, खस–आर्य एक) निर्वाचित भएका छन् । बाँकी समानुपातिकबाट पूर्ति गर्नुपर्छ । 

गण्डकीमा समानुपातिकबाट एमालेले १०, कांग्रेसले नौ, माओवादीले तीन र राप्रपाले दुई सिट पाउने देखिन्छ । दलहरूले पाएको सिटअनुसार छनोट गर्दा आदिवासी जनजाति ४२.३७, खस–आर्य ३७.२४, दलित १७.४४, थारू १.७२, मधेसी ०.५२ र मुस्लिम ०.७१ प्रतिशत छान्नुपर्ने हुन्छ । जसभित्र अल्पसंख्यक समुदायबाट ६.०२ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट ०.०८ प्रतिशत उम्मेदवार समावेश गर्नुपर्ने हुन्छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ सदस्य निर्वाचित हुन्छन् । कुल सदस्यमध्ये २९ जना महिला हुन्छन् । प्रत्यक्षतर्फ माओवादीबाट मात्रै एकजना (खस–आर्य) महिला निर्वाचित भएका छन् । बाँकी २८ महिला दलहरूले समानुपातिकबाट पूर्ति हुन्छ । प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले पाँच तथा जसपा, नागरिक उन्मुक्ति, लोसपा र राप्रपाले दुई–दुई र जनमत पार्टीले एक सिट जितेको छ । त्यस्तै, तीन स्वतन्त्र निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादीले चार, नागरिक उन्मुक्ति, राप्रपा र जनमत पार्टीले दुई–दुई तथा लोसपा, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले एक–एक सिट पाउने देखिन्छ । दलहरूले समानुपातिक सांसद छनोट गर्दा आदिवासी जनजाति १९.५८, खस–आर्य २८.८४, दलित १५.११, थारू १५.१८, मधेसी १४.३५ र मुस्लिम ६.९४ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट ८.४७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १.१७ प्रतिशत नाम समावेश गर्नुपर्ने हुन्छ । 

४० सदस्यीय कर्णाली प्रदेश सभामा प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ सांसद निर्वाचित हुन्छन् । कुल सदस्य संख्याको ३३ प्रतिशत अर्थात् १३ जना महिला हुन्छन् । प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । समानुपातिकतर्फ कांग्रेस र एमालेले पाँच–पाँच, माओवादीले चार तथा एकीकृत समाजवादी र राप्रपाले एक–एक सिट पाउने देखिन्छ । समानुपातिक सांसद छनोट गर्दा खस–आर्य ६२.२, जनजाति १३.६३, दलित २३.२५, थारू ०.५, मधेसी ०.२४ र मुस्लिम ०.१८ प्रतिशत छान्नुपर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १.४७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट ३२.४ प्रतिशत समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कर्णालीमा प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले नौ–नौ, एमालेले पाँच र एक स्वतन्त्र निर्वाचित भएका छन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन् । जसमध्ये १७ जना महिला सदस्य हुन्छन् । प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमाले र एकीकृत समाजवादीले तीन–तीन र एक स्वतन्त्र निर्वाचित भएका छन् । 
समानुपातिकबाट कांग्रेस र एमालेले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई तथा एकीकृत समाजवादी र राप्रपाले एक–एक सिट पाउने देखन्छि । आफूले पाएका सिटबाट दलहरूले छनोट गर्दा खस–आर्य ६०.०२, दलित १७.२९, थारू १७.२१, जनजाति ३.६१, मधेसी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्ने हुन्छ । 

*(नयाँ पत्रिकाले यो सूची निर्वाचन आयोगले जारी गरेको प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार तयार गरेको हो । पूर्ण नतिजा आइसकेपछि यसमा एक-दुई सिट र नाम तलमाथि हुन सक्छन् । - सं.)