
निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ।
आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मतपरिणाम नआएसम्म रहने स्पष्ट पारे।
उनले समानुपातिक निर्वाचन प्रणालीको मतगणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए। समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरूको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिट संख्यामध्येबाट वर्ग समूह मिलाएर बन्दसूचीभित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उनले बताए।
निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने अर्यालले जानकारी दिए।
सहायक प्रवक्ता अर्यालले २८ मंसिरसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए। समानुपातिक मतपरिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने उनको भनाइ छ।