Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
इन्डोनेसियाको राजधानी बालीमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबाट जी २० को अध्यक्षता ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : एजेन्सी
एजेन्सी
२०७९ मङ्सिर १८ आइतबार ११:००:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै भारत

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ मङ्सिर १८ आइतबार ११:००:००

भारतले जलवायु र विकास योजनालाई प्रमुख प्राथमिकता दिने नयाँदिल्लीस्थित रिसर्च फाउन्डेसनका अध्यक्ष समीर सरिन बताउँछन्

भारत विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी २० को औपचारिक रूपमा अध्यक्ष भएको छ । यससँगै जलवायुजन्य समस्या उत्पन्न हुन नदिनेतर्फ भारतले विशेष जोड दिने भएको छ । 

गत महिना इन्डोनेसियाको बालीमा सम्पन्न समूहको १७औँ शिखर बैठक समापनका अवसरमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबारदेखि अध्यक्षता गर्ने गरी समूहको प्रतीक चिह्न हस्तान्तरण गरेका थिए । 

जी समूहको अध्यक्षता ग्रहण गरेको सन्दर्भमा भारतले एक सातासम्म देशका एक सयवटा ऐतिहासिक एवं पुरातात्विक महत्वका स्मारक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमा समूहको प्रतीक चिह्न राखेर दीपावली गर्ने भएको छ । भारतका ४० स्थानमा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सूचीकृत गरेका विश्व सम्पदा छन् । केन्द्रीय सरकारले पुरातत्व विभागलाई जी–२० को प्रतीक चिह्नसहित प्रचारप्रसारका सामग्री ती स्थानमा राख्न र आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री मोदीले समूहको प्रतीक चिह्न ‘वसुधैव कुटुम्बकम् ः एक पृथ्वी एक परिवार’ रहेको वेबसाइट गत कात्तिक २२ गते अनावरण गरेका थिए । भारतको राष्ट्रिय झन्डाको चार रङकासाथ सिर्जना गरिएको प्रतीक चिह्नमा कमलमाथि बसेको पृथ्वी छ भने कमलका सातपत्रले सात समुद्र र सात महाद्वीपको मिलनलाई झल्काउँछ । जी २० मा भारतसहित युरोपेली युनियन, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका छन् । हरेक वर्ष समूहको अध्यक्षताको अतिरिक्त कार्यसूची र प्राथमिकता पनि परिवर्तन हुने गरेका छन् । यस वर्ष भारतले जलवायु र विकास योजनालाई प्रमुख प्राथमिकता दिने नयाँदिल्लीस्थित विद्वत् पर्यवेक्षक समूह रिसर्च फाउन्डेसनका अध्यक्ष समीर सरिन बताउँछन् । 

भारतले धनी औद्योगिक राष्ट्रहरूबाट उदीयमान अर्थतन्त्रलाई विश्वव्यापी रूपमा बढिरहेको पृथ्वीको तापक्रमविरुद्ध लड्न आवश्यक पर्ने रकम प्रवाह गर्ने विषय सुनिश्चित गर्नेछ । 

भारतका धेरै ठूला उद्योगीले नवीकरणीय ऊर्जामा स्वदेशी र विश्वव्यापी रूपमा ठूलो लगानी गरिरहेका छन् । तर, सरकारले आगामी चार वर्षका लागि ३३ अर्ब डलरको लागतमा कोइलाजन्य ऊर्जा केन्द्रमा लगानी गर्ने तयारी गरिरहेको छ । विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता भारतले जलवायु लक्ष्य र जलवायु वित्तमा पहुँच विस्तारमा जोड दिनुपर्नेछ ।  

जी २० को अध्यक्षता ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले समूहका लागि भारतको ‘एजेन्डा’ समावेशी, महत्वाकांक्षी र कार्यउन्मुख हुने बताए । जलवायु परिवर्तन, आतंकवाद, महामारीलगायत विश्वले सामना गर्नुपरेका चुनौतीका पहाडलाई एकापसमा मिलेर समना गर्नुपर्ने मोदीको भनाइ छ । 

भारतले उठाएको ‘एक पृथ्वी, एक परिवार’ले एकताको सन्देश दिएको तथा विश्वव्यापी भावनालाई प्रवद्र्धन गरेको बताउँदै प्रधानमन्त्री मोदीले यो एक नारा मात्र नभई यसले सहकार्य, साझेदारी र एकतालाई जोड दिएको बताए ।