जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै भारत

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण
जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै भारत

इन्डोनेसियाको राजधानी बालीमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबाट जी २० को अध्यक्षता ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : एजेन्सी

भारतले जलवायु र विकास योजनालाई प्रमुख प्राथमिकता दिने नयाँदिल्लीस्थित रिसर्च फाउन्डेसनका अध्यक्ष समीर सरिन बताउँछन्

भारत विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी २० को औपचारिक रूपमा अध्यक्ष भएको छ । यससँगै जलवायुजन्य समस्या उत्पन्न हुन नदिनेतर्फ भारतले विशेष जोड दिने भएको छ । 

गत महिना इन्डोनेसियाको बालीमा सम्पन्न समूहको १७औँ शिखर बैठक समापनका अवसरमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबारदेखि अध्यक्षता गर्ने गरी समूहको प्रतीक चिह्न हस्तान्तरण गरेका थिए । 

जी समूहको अध्यक्षता ग्रहण गरेको सन्दर्भमा भारतले एक सातासम्म देशका एक सयवटा ऐतिहासिक एवं पुरातात्विक महत्वका स्मारक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमा समूहको प्रतीक चिह्न राखेर दीपावली गर्ने भएको छ । भारतका ४० स्थानमा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सूचीकृत गरेका विश्व सम्पदा छन् । केन्द्रीय सरकारले पुरातत्व विभागलाई जी–२० को प्रतीक चिह्नसहित प्रचारप्रसारका सामग्री ती स्थानमा राख्न र आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री मोदीले समूहको प्रतीक चिह्न ‘वसुधैव कुटुम्बकम् ः एक पृथ्वी एक परिवार’ रहेको वेबसाइट गत कात्तिक २२ गते अनावरण गरेका थिए । भारतको राष्ट्रिय झन्डाको चार रङकासाथ सिर्जना गरिएको प्रतीक चिह्नमा कमलमाथि बसेको पृथ्वी छ भने कमलका सातपत्रले सात समुद्र र सात महाद्वीपको मिलनलाई झल्काउँछ । जी २० मा भारतसहित युरोपेली युनियन, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका छन् । हरेक वर्ष समूहको अध्यक्षताको अतिरिक्त कार्यसूची र प्राथमिकता पनि परिवर्तन हुने गरेका छन् । यस वर्ष भारतले जलवायु र विकास योजनालाई प्रमुख प्राथमिकता दिने नयाँदिल्लीस्थित विद्वत् पर्यवेक्षक समूह रिसर्च फाउन्डेसनका अध्यक्ष समीर सरिन बताउँछन् । 

भारतले धनी औद्योगिक राष्ट्रहरूबाट उदीयमान अर्थतन्त्रलाई विश्वव्यापी रूपमा बढिरहेको पृथ्वीको तापक्रमविरुद्ध लड्न आवश्यक पर्ने रकम प्रवाह गर्ने विषय सुनिश्चित गर्नेछ । 

भारतका धेरै ठूला उद्योगीले नवीकरणीय ऊर्जामा स्वदेशी र विश्वव्यापी रूपमा ठूलो लगानी गरिरहेका छन् । तर, सरकारले आगामी चार वर्षका लागि ३३ अर्ब डलरको लागतमा कोइलाजन्य ऊर्जा केन्द्रमा लगानी गर्ने तयारी गरिरहेको छ । विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता भारतले जलवायु लक्ष्य र जलवायु वित्तमा पहुँच विस्तारमा जोड दिनुपर्नेछ ।  

जी २० को अध्यक्षता ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले समूहका लागि भारतको ‘एजेन्डा’ समावेशी, महत्वाकांक्षी र कार्यउन्मुख हुने बताए । जलवायु परिवर्तन, आतंकवाद, महामारीलगायत विश्वले सामना गर्नुपरेका चुनौतीका पहाडलाई एकापसमा मिलेर समना गर्नुपर्ने मोदीको भनाइ छ । 

भारतले उठाएको ‘एक पृथ्वी, एक परिवार’ले एकताको सन्देश दिएको तथा विश्वव्यापी भावनालाई प्रवद्र्धन गरेको बताउँदै प्रधानमन्त्री मोदीले यो एक नारा मात्र नभई यसले सहकार्य, साझेदारी र एकतालाई जोड दिएको बताए ।
 

सुझावित समाचार