१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १४ बुधबार १२:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार १२:०८:००

मिहिनेत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका– ६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका– ७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक १० लाख आम्दानी गर्दै आएका हुन् । 

पेसाले सिभिल इन्जिनियर लामिछानेले ०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् ।  लामिछानेले  १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुवात गरेका हुन् ।  अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्री–वितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् । 

०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती संगीता पनि इन्जिनियर नै हुन् ।  ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ,’ लामिछाने भन्छन् । 

उनको  गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौंका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पुर्‍याउने गरेको उनले सुनाए । 

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर  एक सय ५० रुपैयाँ र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक  ३० देखि ३५ लाख रुपैयाँ आम्दानी हुँदै आए पनि खर्च कटाएर  १० लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उनीहरूले पराल र दाना खुवाउँदै आएका छन् ।  गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् ।  
      
लामिछानेले काठमाडौंमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक– ७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् । 

यस्तै, सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।