१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०६:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अपेक्षित नतिजा नआए पनि सत्तागठबन्धनको पक्षमा जनादेश, अहिलेकै गठबन्धनको निरन्तरता आवश्यक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार ०६:१२:००

एकीकृत समाजवादीको निर्वाचन समीक्षा

एकीकृत समाजवादीले अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको र वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उसले सत्तारूढ गठबन्धनको निरन्तरता आवश्यक रहेको औँल्याएको हो ।

सत्तारूढ दलमध्ये एकीकृत समाजवादीले पहिलोपटक गठबन्धनबारे संस्थागत धारणा सार्वजनिक गरेको हो । मंगलबार बसेको सचिवालय बैठकले केही कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । अन्य दल पनि चाँडै बैठक बसेर निर्वाचनको समीक्षा गर्ने तयारीमा छन् । 

अध्यक्ष माधव नेपालका अनुसार निर्वाचनको सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुनेछ । ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ । यस हिसाबमा गठबन्धन दलहरूसँगको सहकार्यलाई अगाडि बढाएर लानुपर्छ । राजनीतिक घटनाक्रमका विकास सँगसँगै थप नीति तय गर्छौँ,’ बैठकपछि नेपालले भने । वाम गठबन्धनबाट सरकार बनाउने सम्भावना नदेखिएको नेपालले स्पष्ट गरे । वाम गठबन्धनबाट सरकार बन्ने सम्भावना छ भन्ने प्रश्नमा नेपालले भने, ‘अहिले त्यस्तो सम्भावना छैन ।’

इलामको परिणाम अस्वीकार
बैठकमा देशभरबाट प्राप्त परिणामबारे छलफल भएको थियो । बैठकको अधिकांश समय इलाम र उदयपुरबारे छलफल भएको सचिवालयका एक नेताले बताए । इलाममा धाँधली र गठबन्धनमा अन्तर्घात भएको र उदयपुरमा कांग्रेसका बागीका कारण परिणाम नकारात्मक आएको निष्कर्ष समाजवादीको छ । एकीकृत समाजवादीले इलाममा पुनः मतदानको माग गरेको छ । इलाममा अनेकौँ खालका विसंगति भएको भन्दै समाजवादीले कानुनी उपचार खोज्ने भएको छ । 

बैठकमा सम्मानित नेता झलनाथ खनालले इलाममा भएको धाँधली, गठबन्धन दल कांग्रेसका केही कार्यकर्ताले गरेको अन्तर्घातको विषय उठाएका थिए । उनले समस्या समाधानका लागि पार्टीले कानुनी उपचार खोज्नुपर्नेमा जोड दिएका थिए ।

अहिलेकै गठबन्धन रहन्छ, अर्को गठबन्धनको धरातल छैन : खनाल

सत्तारूढ गठबन्धन दलमध्ये सबैभन्दा पहिला एकीकृत समाजवादीले संस्थागत समीक्षा गर्‍यो । निष्कर्ष के निकाल्नुभयो ?
हामीले सचिवालय बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गर्‍यौँ । कतिपय क्षेत्रमा गठबन्धनले पूरै काम गरेको छ । कतिपय क्षेत्रमा केही प्रतिशतले काम गरेको छ । केही क्षेत्रको कमी–कमजोरीबाहेक गठबन्धन सफल भएको प्रारम्भिक निष्कर्ष निकालेका छौँ । विस्तृत समीक्षा निर्वाचनको सबै परिणाम आइसकेपछि हुनेछ । 

बैठक इलाम र उदयपुरको समीक्षामा केन्द्रित भएछ । तपाईंले के विषय उठाउनुभयो ?
२५ वटा मतपेटिका गनेर त्यसको मतपरिणाम निकाल्दा खसेको मतभन्दा चार सय ३७ मत कम आयो । मतगणना गर्दा चार सय ३७ मत गायब भएका छन् । यो मत कसले, किन, कहाँ गायब गरेको हो ? यसले षड्यन्त्रमा गणना गरिएको स्पष्ट देखिन्छ । जनताले दिएको मतमाथि कसैले पनि कुठाराघात गर्न पाइँदैन । जनतालाई निर्वाचन आयोगले जवाफ दिनुपर्छ । यी मत कहाँ गए भनेर स्पष्ट रूपमा जवाफ दिए हार तथा जित स्विकार्छु । जनताले दिएको मत सम्मानपूर्वक स्पष्ट रूपमा गणना हुनुपर्छ । 

निर्वाचन आयोगले अहिलेसम्म जवाफ दिएको छैन ?
प्रमुख निर्वाचन आयुक्तसँग पनि कुराकानी गरेँ । उहाँले जिम्मेवारीपूर्ण जवाफ दिनुभएन । मतपेटिकामा जति मत खसेका छन् त्यसलाई कायम गर्ने बताउनुभयो । र, मतगणना जारी गर्नुभयो । उसो भए चार सय ३७ मत कहाँ गयो त ? व्यापक धाँधली भएको पाइयो । पटक–पटक गल्ती हुँदा पनि निर्वाचन अधिकृतले वास्ता गरेनन् । निर्वाचन परिणाम पारदर्शी हुनुपर्छ, म हार स्वीकार गर्न तयार छु । 

गठबन्धनमा पावर सेयरिङ कसरी मिल्छ त ?
हामी अहिलेसम्म पावर सेयरिङको विषयमा प्रवेश गरेका छैनौँ । निर्वाचनको सबै नतिजा आउन बाँकी नै छ । पार्टीहरूले आन्तरिक समीक्षा गर्न पनि बाँकी छ । गठबन्धनको बैठक बसेकै छैन । अब, पार्टीहरूले समीक्षा गर्छन् । गठबन्धनले समीक्षा गर्छ । त्यसपछि पावर सेयरिङको कुरा स्वाभाविक रूपमा हुन्छ । 

वाम गठबन्धनको विषय पनि विभिन्न रूपमा उठेको देखिन्छ । गठबन्धन यही रहन्छ कि विकल्प खोज्नुहुन्छ ?
स्थिरता, विकास र समृद्धिको नारा लिएर सत्तारूढ गठबन्धन निर्वाचनमा गएको हो । अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको छ । त्यसकारण अब पनि गठबन्धन यही रहन्छ । अर्को गठबन्धनको धरातल बनेको छैन ।