मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर १२ सोमबार १६:५०:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेश : २८-७१ वर्षका उम्मेदवार निर्वाचित, कसकाे प्रतिनिधित्व कति ?

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १६:५०:००

मधेश प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १ सय ७ जनाको प्रदेश सभा छ। मधेश प्रदेशको ६४ प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको परिणाम अन्तिम चरणमा छ।

कुल ६४ पदमा १ हजार ७ जनाले उम्मेदवारी दिएका थिए। एकजना अन्य, ७४ जना महिला र ९३२ जना पुरुषले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए। ६४ मध्ये ६३ प्रदेश सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ। धनुषा क्षेत्र नम्बर ४(ख) को मतगणना अन्तिम चरणमा छ।

प्रत्यक्षतर्फ चार महिला निर्वाचित, तीन निर्वतमान सांसद

निर्वाचन अयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार मधेश प्रदेशमा प्रत्यक्षतर्फ चारजना महिला प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्। प्रदेश सभामा पुग्न आठवटै जिल्लाबाट ७४ जना महिलाले विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए। ७४ जनामध्ये ४ जना यसपटक निर्वाचित भएर प्रदेश सभामा पुग्ने भएका छन्। 

२०७४ सालमा मधेश प्रदेशबाट पाँचजना महिला प्रत्यक्षबाट चुनाव लडेर निर्वाचित भएका थिए।

चारजना मध्ये तीनजना राजनीतिक दलबाट र एक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन्। महोत्तरी क्षेत्र नम्बर २(ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी सुरिताकुमारी साह दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भइन्।

सत्तागठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिने भएपछि साहले स्वतन्त्र उम्मेदवारी दिइन्। उनले कांग्रेसका नागेश्वर यादवलाई १७६६ मत अन्तरले पराजित गरिन्। साहले ८५६८ र कांग्रेसका नागेश्वरले ६८०२ मत पाए। जनमत पार्टीका कोमल यादवले ४२४० र नेकपा एमालेका लक्ष्मीनारायण भगतले ३७१४ मत पाए। 

यता लोसपाबाट निवर्तमान प्रदेश सभा सदस्य रानीकुमारी तिवारी महोत्तरी क्षेत्र नम्बर ३(ख) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भइन्। तिवारीले स्वतन्त्र उम्मेदवार उज्जवलकुमार झा ९२५ मतान्तरले पराजित गरिन्। तिवारीले ६४१४ मत पाइन् भने झाले ५४८९ मत पाए। नेकपा एमालेका रामदयाल मण्डल ४५६७ र जनमत पार्टीका कौशलेन्द्र गिरीले २३१९ मत पाए। 

महोत्तरी क्षेत्र नम्बर ३(क) बाट नेकपा एमालेबाट शारदादेवी थापा दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भइन्। थापाले ७१९ मतान्तरले लोसपाका पिताम्बर महतोलाई पराजित गरे। थापाले ८३०४ र लोसपाका महतोले ७५८५ मत पाए। स्वतन्त्र उम्मेदवार फाल्गुणकुमार सुसलिङले ४५०२ मत पाए। 

सर्लाही क्षेत्र नम्बर १(ख)बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बेची लुङेली विजयी भइन्। लुङेलीले नेकपा एमालेकी शान्तिकुमारी लामालाई करिब दोब्बर मतान्तर अर्थात् ६३८८ मतअन्तरले पराजित गरिन्। लुङेलीले १३३०१ र एमालेकी लामाले ६९१३ मत पाइन्। स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले ५६५३ र जनमत पार्टीका अजितकुमार मण्डलले ३९६९ मत पाए।

२०७४ भन्दा यसपटक मुस्लिम प्रदेश सभा सदस्य बढी निर्वाचित

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मुस्लिम समुदायबाट मधेश प्रदेश सभा सदस्यमा आठजना निर्वाचित भएका छन्। २०७४ मा मधेश प्रदेशमा प्रत्यक्षबाट ६ जना निर्वाचित भएका थिए। यसपटक पर्सा क्षेत्र नम्बर १(ख) जसपाबाट मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भए। 

पर्सा १(क)बाट नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, रौतहट क्षेत्र नम्बर २(क) नेकपा एमालेबाट महम्मद जैद आलाम, रौतहट क्षेत्र नम्बर ४(ख) जसपाबाट शेख अबुलकलाम आजाद, महोत्तरी क्षेत्र नम्बर २(क) लोसपाबाट जयनुल राइन, सप्तरी १(ख) जनमत पार्टीबाट सकिल मियाँ र सप्तरी क्षेत्र नम्बर ३(क) नेपाली कांग्रेसबाट मोहम्मद समिम प्रत्यक्षमा निर्वाचित भए।
 
दलितबाट एकजना निर्वाचित, २०७४ मा पनि उस्तै 

मधेश प्रदेश सभाको ६४  प्रत्यक्ष सिटमध्ये दलित समुदायका एकजना मात्र निर्वाचित भएका छन्।

धनुषा क्षेत्र नम्बर २(क) नेकपा एमालेका लखनदास तत्मा प्रदेश सभा सदस्यमा निर्वाचित भए। २०७४ मा पनि दलित समुदायबाट एकजना मात्र विजयी भएका थिए। बारा ४(क) बाट नेकपा एमालेका सुन्दरबहादुर विश्वकर्मा विजयी भएका थिए।

लखनदास जनमत पार्टीका दीपेन्द्रकुमार तेथवारलाई ४१५१ मतान्तरले पराजित गरे। प्रदेश सभा सदस्यमा निर्वाचित तत्माले ११५८१ मत पाए भने जनमतका तेथवारले ७४३०, जसपाका निवर्तमान सांसद शैलेन्द्रकुमार यादवले ७१२८, लोसपाका संजयकुमार साहले ६३३७ र नेकपा एकीकृत समाजवादीका रामनारायण साह सुडीले ५७२४ मत पाए।

४२ वर्षीय दास सिराहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसबाट प्रविणता र स्नातक गणित विषयमा पूरा गरे। त्यसपछि  मावि शिक्षकको रूपमा गणित विषय लिएर जनता प्रस्तावित मावि डुबरीकोट हटलेटवा कमला नपा १ मा तीन वर्ष पठनपाठन गराए। 

त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नाकोत्तर गरेका उनी लोकसेवाका कक्षा वेभ र नेम नामक संस्थामा आइक्यू र गणित विषयमा पठनपाठनमा सहभागी भए।
धनुषाको विदेह नगरपालिकाको मेयर बेचन दासका भाइ रहेका लखन सुरुमा नेकपा माओवादी थिए। नेकपा विभाजन भएपछि माओवादीबाट एमालेमै रहे।

२५–४० उमेर समूहका ७ जना निर्वाचित

मधेश प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ २५–४० वर्ष उमेर समूहका सातजना निर्वाचित भएका छन्।

रौतहट २(क) नेकपा एमालेबाट मोहम्मद जैद आलम (२८), सप्तरी ३(ख) जनमत पार्टीका शम्भुकुमार साह (३०), सिराहा २(क) जनमत पार्टीका संजयकुमार यादव(३२), रौतहट २(ख) नेकपा एकीकृत समाजवादीका कनिश पटेल (३२), पर्सा १(क) नेकपा माओवादीका रहबर अन्सारी (३६), सर्लाही ३(ख) जसपाका संजयकुमार यादव (३८) र सप्तरी २(क) जनमत पार्टीका सतिशकुमार सिंह(४०) प्रत्यक्षतर्फ विजयी भएका छन्।

६४ प्रत्यक्ष प्रदेश सभा सदस्यमध्ये ४१–६० वर्ष उमेर समूहका ४८ जना छन् । ६१ देखि ७२ वर्ष उमेर समूहका १२ जना यसपटक निर्वाचित भएका छन्।

६० वर्ष उमेर कटेका १२ जना

मधेश प्रदेशमा ६० वर्ष उमेर कटेका १२ जना प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।
  सलार्ही २(क) नेपाली कांग्रेसका जंगीलाल राय (६०), बारा ४(क) एमालेका देवनारायण थारू ६१), बारा ३(क) नेकपा एमालेका रवीन्द्रदास श्रेष्ठ (६२), पर्सा ४(क) नेपाली कांग्रेसका शंकरप्रसाद चौधरी (६२), सप्तरी ४(२) स्वतन्त्रबाट अनिरुद्धकुमार सिंह (६३), सिराहा १(क) नेकपा एमालेका राजेन्द्रप्रसाद चौधरी थारू (६४), बारा १(क) नेकपा एकालेका त्रिलोकी प्रसाद(६४), बारा २(ख) जसपाका बच्चा राउत अहिर (६७), सप्तरी १(ख) जनमत पार्टीका सकिल मियाँ (६९), धनुषा ३(क) नेपाली कांग्रेसका रामसरोज यादव (६९), सप्तरी ४(क) नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने (७१) र बारा २(क) स्वतन्त्रबाट शारदाशंकरप्रसाद कलवार (७१) प्रत्यक्षतर्फ विजयी भएका छन्।

प्रदेशकै कान्छो सदस्य २८ वर्षीय जैद आलम

मधेश प्रदेशको कान्छो प्रदेश सभा सदस्यका रूपमा रौतहटका मोहम्मद जैद आलम भएका छन्। २८ वर्षीय आलम रौतहट क्षेत्र नम्बर २(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए। रौतहटका प्रतिनिधि सभाका चार र प्रदेश सभाका आठ सिटमध्ये नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुने उनी एक्ला हुन्।

गत वैशाख ३० मा सम्पनन स्थानीय तहको निर्वाचनमा रौतहटको राजपुर नगरपालिकाको मेयरमा आलम पारजित भएका थिए। जनता समाजवादी पाटीको तर्फबाट मेयरमा उम्मेदवार बनेका उनी निकतटम प्रतिद्वन्दी बन्न पुगे। कांग्रेसका राजिक आलमसँग २५८४ मत अन्तरले पराजित हुन पुगेका थिए। मेयरमा निर्वाचित राजिकले ६३३५ र जैदले ३७५१ मत पाएका थिए।

राजपुर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रदेश सभा सदस्यमा नेकपा एमाले प्रवेश गर्दै उम्मेदवारी दिए। ६६६० मतान्तरले विजयी भएका जैदले १३ हजार ५ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरेका छन्। 

कान्छो प्रदेश सभा सदस्य बनेका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन्।

प्रत्यक्षमा निर्वाचित    २०७४    २०७९
महिला                       ५            ४
दलित                        १            १
मुस्लिम                      ६          ८