मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
२०७९ मङ्सिर १२ सोमबार ०८:०४:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ०८:०४:००

एउटा सहरमा एक व्यक्तिबारे एउटा हल्ला निकै फैलियो— उसको अनुहार अलच्छिनी छ, उसको अनुहार देख्यो भने अशुभ नै अशुभ हुन्छ । मानिसहरूले उसका बारेमा राजासित गुनासोसमेत गरे । राजाले मानिसका यस्तो सोचाइमाथि तत्काल विश्वास गरेनन् । तर, उनले आफू स्वयंले त्यस व्यक्तिमाथि लागेको आरोपको जाँच गर्ने निश्चय गरे । राजाले उसलाई बोलाएर दरबारमा राखे । 

एकबिहान राजा सबेरै उठेर कसैको पनि मुख नहेरी सरासर ती व्यक्तिलाई राखिएको कोठामा पुगे र उसको मुख हेरे । संयोगवश, त्यस दिन कार्यव्यस्तताका कारण राजाले दिनभर खाना खाने मौका पाएनन् । यो देखेपछि राजाले सोचे— त्यो मानिस साँच्चै नै अलच्छिनी रहेछ । त्यसैको मुख हेरेकाले मैले आज दिनभर खाना खान पाइनँ । उनले सेनापतिलाई बोलाएर त्यस मान्छेलाई तत्काल मृत्युदण्ड दिने आदेश दिए ।

राजाको आदेशबारे मन्त्रीले थाहा पाए । उनले सेनापतिलाई रोकेर राजासमक्ष गई प्रश्न गरे— महाराज, यो निर्दोष मानिसलाई तपाईंं किन मृत्युदण्ड दिँदै हुनुहुन्छ ? उसको अपराध के हो ? राजाले भने— मन्त्रीजी, यो मानिस साँच्चै अलच्छिनको रहेछ । आज बिहान मैले सबैभन्दा पहिले उसको मुख देखेको थिएँ । आजै मैले दिनभर भोजन गर्न पाइनँ । त्यसैले, यस्तो अलच्छिनलाई जीवित राख्नुहुँदैन भनेर मृत्युदण्डको आदेश दिएको हुँ । 

राजाको भनाइ सुनिसकेपछि मन्त्रीले पुनः भने— रिसानी माफ होस् महाराज, त्यस मानिसले पनि त आज बिहान सर्वप्रथम हजुरको मुख देखेको थियो । उसको मुख देख्दा हजुरले खान पाउनुभएन । हजुरको मुख देख्दा उसले ज्यान गुमाउने अवस्था आयो । अब हजुर नै भन्नुहोस्— को बढी अलच्छिनी रहेछ ? राजा झसंग भएँ । उनले यस कोणबाट त सोचेकै थिएनन् । 

राजालाई किंकर्तव्यविमुढ देखेर मन्त्रीले भने— महाराज, संसारको कुनै पनि मानिस लच्छिनको या अलच्छिनको हुँदैन । मान्छेको अनुहार त भगवान्को देन हो । लच्छिन या अलच्छिन त हाम्रो हेराइ या सोचाइमा मात्र हुन्छ । त्यसैले, कृपया यस मानिसलाई मुक्त गरिदिनुहोस् । मन्त्रीको सल्लाहपछि राजाले त्यस मानिसलाई मुक्त गरिदिए । उनले जीवनमा निकै ठूलो पाठ सिके ।