मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ मङ्सिर ९ शुक्रबार ०७:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ज्वाइँले गरे ससुरालीमा ६ करोडको सम्पत्ति डकैत 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ मङ्सिर ९ शुक्रबार ०७:५५:००

वसुन्धराकी नन्दा मल्ल त्यतिखेर छक्क परिन्, जब ज्वाइँको योजनामा घरमा डकैत भएको तथ्य थाहा पाइन् । डकैतमा घरको कामदारसमेत संलग्न रहेको खुलेपछि त उनी छाँगाबाट खसेझैँ भइन् । गत २८ कात्तिक साँझ ६:३० बजे मल्लको घरभित्र डकैत समूह प्रवेश गर्‍यो । उनीहरूले घरका सबै सदस्यलाई एकै कोठामा भेला गरेर डोरीले हातखुट्टा बाँधे । झन्डै साढे दुई घन्टा बन्धक बनाए । घरका दराज र ‘लकर’ खाली गरे । ६ करोड रुपैयाँ मूल्यबराबरको धनमाल पोको पारेर फरार भए ।

प्रहरीका अनुसार हातहतियारसहित प्रवेश गरेका डकैत समूहले सुनका गहना मात्रै ६ सय तोला डकैत गरेका थिए । त्यसबाहेक चाँदी र हिरासहित २५ लाख रुपैयाँ नगद लुटिएको उजुरीमा उल्लेख छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा डकैती कालीकोटका कुर्मराज शाहीको योजनामा भएको खुल्यो । कुर्मराज नन्दाका ज्वाइँ हुन् । तर, प्रहरीले उनलाई पक्राउ गरेको छैन । 

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले डकैतीको मुख्य योजनाकार नन्दाकै आफन्त रहेको बताए । ‘नन्दाको घरमा झन्डै ६ करोड मूल्यबराबरको सम्पत्ति डकैत गर्ने १० जना पक्राउ परेका छन् । डकैतीको मुख्य योजनाकार नन्दाकै नजिकको आफन्त रहेको देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार डकैतीका मुख्य योजनाकार कुर्मराजलाई नन्दाको घरभित्रका सूचना दिने काम भने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ की १९ वर्षीया कविता बुढाले गरेकी थिइन् । कविता कुर्मराजकी भाइकी साली हुन् । उनी केही महिनायता नन्दाको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन् । उनलाई कुर्मराजले नै नन्दाको घरमा घरेलु कामदारका रूपमा पठाएका थिए । घरभित्रका धनमाल तथा गरगहनाको अवस्थिति मात्र नभई परिवारका सदस्यको मनस्थितिका मसिनो सूचना उनै कवितामार्फत कुर्मराजले संकलन गरेका थिए । सोही आधारमा उनले डकैतीको योजना बनाएको प्रहरीको भनाइ छ । 

प्रहरीले घटनामा संलग्न कविता, विशाल शाही, तिलकबहादुर शाही, सुवर्ण मगर, धनबहादुर शाही, पर्वराज सिंह, गंगबहादुर शाही, नेत्रबहादुर शाही, पञ्चबहादुर सिंह र दिपिका मल्ल शाहीलाई पक्राउ गरेको छ । दिपिका कुर्मराजकी श्रीमती हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

घरकै कामदारको सहयोगमा डकैती 
प्रहरीका अनुसार नन्दा तत्कालीन राजदरबार नारायणहिटीमा ‘हाउस मेड’ थिइन् । रानी कोमल शाहकी सुसारे उनलाई दरबारभित्रका चोटाकोठा जाने छुट थियो । सोही क्रममा उनले दरबारभित्रका बहुमूल्य गरगहना हात पारेकी थिइन् । गहना राख्न उनले घरमै दुइटा लकर बनाएकी थिइन् । यसको सूचना उनका ज्वाइँ कुर्मराजलाई थियो । तर, गहनाको अवस्थितिबारे भने उनी जानकार थिएनन् । यसका लागि उनले सुर्खेत वीरेन्द्रनगरकी कविता बुढालाई घरेलु कामदारका रूपमा नन्दाको घर नियुक्त गर्न लगाए । उनैमार्फत गरगहनाको अवस्थितिलगायत सबै सूचना लिए । र, डकैत गर्ने योजना बुनेको प्रहरीको भनाइ छ । २८ कात्तिक साँझ ६ः३० बजे डकैत समूह वसुन्धरास्थित नन्दाको घरनजिक पुगे । कुर्मराज र कविताबीच मोबाइल फोनमा कुराकानी भएको थियो । घरका सबै सदस्य एउटै कोठामा रहेको मौकामा कविताले कुर्मराजसहितको टोलीलाई घरभित्र छिर्न गेट खोलिदिइन् । परिवारका सबैको हातखुट्टा बाँधियो । लकर र दराज खाली गरेर धनमाल लुटियो ।