१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

३५ वर्षमा राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत मात्रै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o१:oo

आव ०४५/४६ मा सुरु भएको बबई सिँचाइ आयोजना निर्धारित मितिमा नबन्ने, हालसम्म ११ अर्ब १५ करोड खर्च

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तोकिएको मितिमा सम्पन्न नहुने देखिएको छ । आर्थिक वर्ष ०८२/८३ सम्ममा उक्त आयोजनाको निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ, तर उक्त अवधिमा निर्माण सम्पन्न गर्न चुनौती रहेको आयोजना कार्यालयको पछिल्लो प्रगति प्रतिवेदनले देखाएको हो । 

आयोजना कार्यालयले हालै चालू आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनअनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ६२.३१ प्रतिशत पुगेको छ । सरकारको लक्ष्यअनुसार आयोजना बनाउन अबको साढे तीन वर्षमा ३८ प्रतिशत काम गर्नुपर्नेछ । तर, त्यस अवधिमा बाँकी रहेको काम सम्पन्न गर्न चुनौती रहेको आयोजनाका एक उच्च अधिकारीले बताए । 

गत असारसम्म आयोजनाको भौतिक प्रगति ६२.२३ प्रतिशत थियो । त्योअनुसार पछिल्लो तीन महिनामा आयोजनाको ०.०८ प्रतिशत बिन्दु मात्रै थप भौतिक प्रगति भएको देखिन्छ । यो प्रगति आफैँमा सन्तोषजनक नभएको उक्त अधिकारीको भनाइ छ । 

तोकिएकै अवधिमा आयोजनाको निर्माण सम्पन्न गर्न त्रैमासिक रूपमा झन्डै ३ प्रतिशत र वार्षिक रूपमा १२ प्रतिशतको भौतिक प्रगति गर्नुपर्छ । तर, पछिल्लो समय त्यसअनुरूप काम नभएको स्रोतको भनाइ छ । 

आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना न्यून रहेको बताए । ‘मास्टर प्लानमा आव ०८२/८३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तर, त्यो अवधिमा निर्माण सम्पन्न हुने सम्भावना ज्यादै न्यून छ,’ उनले भने, ‘यद्यपि, आयोजनाको निर्माण कहिले सकिन्छ भनेर तत्काल भन्न सक्ने अवस्था पनि छैन ।’ सम्भवतः अब आवश्यक प्रक्रिया पूरा गरेर मास्टर प्लानमा म्याद थप गरिने बताइएको छ । 

सरकारले आफ्नै लगानीमा बनाउने गरी आव ०४५/४६ देखि उक्त आयोजनाको निर्माण सुरु गरेको थियो । तर, त्यसवेला बजेट अभावका कारण आयोजनाको निर्माणले गति लिन सकेन । पछि सरकारले ०६९/७० मा बबई सिँचाइलाई राष्ट्रिय गौरवको आयोजनामा राख्यो । त्यसपछि भने आयोजनामा विनियोजन हुने बजेटको आकार बढेको छ । साथै, निर्माण कार्य पनि चुस्तै हुँदै गएको थियो । तर, कोरोना महामारी, महँगीलगायतका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको घोरासैनीले बताए । 

‘आयोजनाको निर्माण कार्य राम्रोसँग नै अघि बढेको थियो । तर, कोरोनाका कारण आयोजनाको निर्माण कार्य लामो समय प्रभावित भयो,’ उनले भने, ‘कोरोना महामारी साम्य भएपछि भने महँगी बढ्यो । महँगी बढेसँगै निर्माण सामग्रीको पनि मूल्य बढेपछि निर्माण कम्पनीहरूले केही समय राम्रोसँग काम गर्न सकेनन् । फलस्वरूप आयोजनाको निर्माण निर्धारित समयमै सकिने सम्भावना कम देखिएको छ ।’

साथै, अझै पनि आवश्यक मात्रामा बजेट विनियोजन नहुने, जग्गाप्राप्तिमा जटिलता, निकुञ्ज क्षेत्रभित्र सामग्री ढुवानी र आवागमनमा जटिलतालगायत कारण यसको निर्माणमा कठिन भएको बताइन्छ ।

यस्तै, आयोजना निर्माण गर्दै जाँदा थप संरचनाहरूको पनि माग तथा आवश्यकता देखिएको छ । ‘आयोजना निर्माण गर्दै जाँदा शाखा नहरलगायत संरचनाहरूको आवश्यकता देखिएका छन् । त्यस्ता संरचना बनाउन थप टेन्डर आह्वान गर्नुपर्नेलगायत कारण पनि आयोजना निर्माणमा केही ढिलाइ भएको छ,’ घोरासैनीले बताए ।

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित यो आयोजना अघि बढाइएको थियो । कुल १८ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सरकारको आफ्नै लगानी छ ।

हालसम्म सरकारले यस ११ अर्ब १५ करोड ७९ लाख रुपैयाँ (५९.५६ प्रतिशत) खर्च गरिसकेको छ ।  सरकारले यस आयोजनाको निर्माण गर्न संरचनाअनुसार छुट्टाछुट्टै ठेक्का लगाइएको छ । यस आयोजना निर्माणमा स्वदेशी निर्माण कम्पनीहरू नै रहेका छन् । 

आयोजनाको प्रगति
- सुरु भएको वर्ष : आव ०४५/४६ 
- सम्पन्न हुनुपर्ने वर्ष : आव ०८२/८३
- भौतिक प्रगति : ६२.३१%
- वित्तीय प्रगति : ५९.५६%
- लागत : १८ अर्ब ९६ करोड 
- हालसम्मको खर्च : ११ अर्ब १५ करोड 
- अवस्था : निर्धारित समयमा नसकिने

तोकिएको म्यादमा आयोजना तयार हुने सम्भावना न्यून छ : रामकृष्ण घोरासैनी, सूचना अधिकारी, बबई सिँचाइ आयोजना  
राष्ट्रिय गौरवको आयोजनामा राखेपछि बबई सिँचाइ आयोजनाको निर्माण कार्य राम्रै भएको थियो । तर, कोरोना महामारीका कारण आयोजनाको निर्माण कार्य प्रभावित हुन गयो । त्यसलगत्तै महँगी पनि बढ्यो, निर्माण सामग्रीहरूको मूल्य बढ्दा निर्माण कम्पनीहरूले काम पनि रोक्ने स्थिति आयो । यसका अलावा आयोजना निर्माण गर्दै जाँदा थप शाखा नहरलगायत संरचनाहरूको आवश्यकता देखिएका छन् । त्यस्ता संरचना बनाउन थप टेन्डर आह्वान गर्नुपर्नेलगायत कारण पनि आयोजना निर्माणमा केही ढिलाइ छ । समग्रमा मास्टर प्लानमै तोकिएको मितिमा आयोजना तयार हुने सम्भावना न्यून छ । 

ad
ad