१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २o:३९:oo
Read Time : > 4 मिनेट
ad
ad
अन्तर्वार्ता डिजिटल संस्करण

सधैँ नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:३९:oo

कांग्रेसको बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको हकमा जितको एउटा ब्रान्डका रूपमा चिनिन्छन्। यसका निश्चित आधार छन्। विक्रम संवत् २०१५ मा पहिलोपटक भएको आमचुनावमा कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेको थियो। त्यो जितमा मकवानपुरको एक सिट पनि समावेश थियो। तर, त्यसयता चुनावमा जित हासिल गर्न कांग्रेसले धेरै चुनाव कुर्नुपर्यो। बहुदलीय व्यवस्था पुनर्स्थापनापछि ०४८, ०५१, ०५६ र ०६४ को पहिलो संविधानसभासम्म आउँदा मकवानपुरका कुनै पनि क्षेत्रबाट कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। 
पराजयको यो क्रमलाई उनै बानियाँले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तोडे। बानियाँ ०७४ को प्रदेश सभा निर्वाचनमा पनि विजयी भए। संसदीय चुनावमा मात्र होइन, पार्टीभित्रका चुनावमा पनि उनले अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन। जिल्ला पार्टी सभापति हुँदै उनी निर्वाचन जितेरै कांग्रेसको बागमती प्रदेश सभापति बनेका छन्। यिनै बानियाँ ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनमा मकवानपुर २ को प्रदेश सभा २ बाट सहभागी हुँदै छन्। उनीसँग नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

४ मंसिरको चुनाव संघारमा छ। कस्तो तयारी छ यसपटक?
मेरो चुनावी क्षेत्र मकवानपुरको सबैभन्दा विकट क्षेत्र हो। राक्सिराङ र कैलाशजस्ता विकट गाउँपालिका मेरो क्षेत्रमा पर्छन्। सबै ठाउँमा पुगेको छु। मतदातासँग भेटघाटमै व्यस्त छु। अहिले पनि म कैलाश गाउँपालिकामा छु। मतदाताहरूसँग भेटघाटको कार्यक्रम छ। भ्याउँदासम्म सबै ठाउँमा पुग्छु। 

म अरूजस्तो पाँच वर्षमा एकपटक चुनावकै वेला मात्र आफ्नो क्षेत्र पुग्नेभित्र पर्दिनँ। म वेला मौका पारेर आफैँ मेरो क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेको हुन्छु। म पुग्न नसक्दा मेरा प्रतिनिधिहरू परिचालन गर्छु। कहाँ के समस्या छ? कसलाई के सहयोग गर्नुपर्नेछ? म बुझिरहेको हुन्छु। मेरो जिम्मेवारी मैले बुझेको छु। म जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेको हो। मैले राजनीतिलाई पेसा बनाएको छैन। त्यसकारण म सधैँ नागरिककै माझमा छु। 

यही क्षेत्रमा दोस्रोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कस्तो अनुभव भइरहेको छ। मतदाताका गुनासा पनि छन् कि?
म ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएको थिएँ। यसपटक प्रतिनिधिसभामा जान सोच बनाएको थिएँ। तर, पार्टीले मेरो आवश्यकता फेरि पनि यसै क्षेत्रमा महसुस गरेकाले दोस्रोपटक पनि प्रदेश सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छु। यसअघि मलाई मतदाताहरूले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको थिएँ। अहिले फेरि त्यही जिम्मेवारी मलाई छ। मैले हिजोको दिनमा जस्तै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक परिवर्तनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्याउनेछु।
हो, मतदातामा केही गुनासा स्वाभाविक छन्। हामीले व्यवस्था त परिवर्तन गर्यौ तर जनताको अवस्था परिवर्तन गर्न भने सकेनौँ। उनीहरूको मुख्य गुनासो भनेकै अवस्था परिवर्तनसँग जोडिएको छ। विगतमा नेपाली कांग्रेस बागमती प्रदेशमा लामो समय प्रतिपक्षी भएर बस्न बाध्य भयो। हामीले चाहेर पनि यस क्षेत्रमा खुलेर केही गर्न सकेनौँ। मकवानपुरले नै प्रदेशको मुख्यमन्त्री पाउँदा पनि यस क्षेत्रको विकासमा कुनै सहयोग भएन। धेरै मतदातामा यो कुरा खड्किएको छ। त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छैन। जनतामा आशा र भरोसा जगाउन हामीले धेरै काम गर्न बाँकी छ। 

विगत पाँच वर्षमा सम्झनालायक के–के काम गर्नुभयो?
निर्वाचित भएपछिको साढे तीन वर्ष त हामी प्रतिपक्षी भूमिकामै रह्यौँ। त्यस अवधिमा जिम्मेवार प्रतिपक्षीले सदनमा खेल्नुपर्ने भूमिका इमानदारपूर्वक निर्वाह गर्यौँ भन्ने लाग्छ। प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा हाम्रो प्रत्यक्ष भूमिका रह्यो। हेटौँडालाई प्रदेशको अस्थायी राजधानी बनाउनेदेखि स्थायी गर्नेसम्ममा हामीले जिम्मेवार भएर काम गर्यौँ। तत्कालीन प्रदेश सरकारले गरेका गलत काममा खबरदारी र राम्रा काममा हामीले खुलेरै सहयोग पुर्यायौँ। 

पछिल्लो समय गठबन्धनको सरकारमा हामी आफैँ सहभागी भएपछि भने हामीले यस क्षेत्रको लागि धेरै गर्न सकेकोजस्तो लाग्छ। आफ्नो निर्वाचन क्षेत्रमा मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट ल्याउन सकेको छु। सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिकाजस्तो ठाउँमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षामा लगानी बढाएको छु। यस क्षेत्रका विकट स्थानमा बसोबास गर्ने सर्वसाधारणका लागि प्रत्येक वर्ष जाडोमा न्यानो कपडा, चाडपर्वको समयमा खाद्यान्न, बाढीपहिरोजस्ता प्राकृतिक र रोगब्याधीका समयमा आवश्यकताका आधारमा आर्थिक सहयोग, बेरोजगार युवालाई रोजगारीको व्यवस्था आफ्नै निजी लगानी र पहलमा पनि गरेको छु।

आगामी दिनमा तपाईंका प्राथमिकता के–के छन्? तपाईं बागमती प्रदेशको भावी मुख्यमन्त्रीको बलियो दाबेदार पनि हुनुहुन्छ। प्रदेशको मुख्यमन्त्री बन्नुभयो भने तपाईंको भूमिका कस्तो हुन्छ?
मैले अघि पनि भनेँ, म राजनीतिलाई पेसा बनाएर आएको हैन। मेरो जीविकाका लागि व्यापार व्यवसाय छ। म राजनीतिमा रहुन्जेल जे गर्छु, त्यो जनपक्षीय हुन्छ। जनताको भावना र आवश्यकताअनुसार गर्छु। त्यसकारण मेरो प्राथमिकताभन्दा पनि मेरो चुनावी क्षेत्रका जनताको प्राथमिकतामा मैले काम गर्ने हो। मैले जनतालाई सर्वोपरि मानेर काम गर्दै जाने हो। पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु र गर्छु। यो मेरो प्रतिबद्धता हो।

मेरो क्षेत्रमा बसोबास गर्ने मतदाता तामाङ, चेपाङ समुदायका बढी छन्। यहाँको आर्थिक अवस्था कमजोर छ। सामाजिक चेतनाको कमी छ। अर्काको गाँजा बोकेर भरिया बनेकै कारण वर्षौं जेलमा बस्नुपर्ने बाध्यता छ। मेरो क्षेत्रका अधिकांश युवा गाँजा मुद्दामा जेलमा छन्। यस क्षेत्रमा मैले व्यक्तिगत रूपमै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गरेको छु। भोलिको दिनमा यदि मैले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए भने प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा दुईमत छैन। मलाई पार्टीले त्यसको लागि विश्वास र भरोसा गर्नुपर्यो। 

मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु। गरिबकेन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी काममा प्रदेश सरकारलाई अघि बढाउनेछु। त्यसवेला प्रदेश सरकारले गरिब छोराछोरीलाई निःशुल्क शिक्षा दिने नीति लिनेछ। प्रदेश सरकारले प्रदेशको सबै गरिब तथा विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गर्नेछ। स्वास्थ्य बिमाको रकम लाखबाट बढाइनेछ। गरिबहरूको लागि १० हजार घर बनाउने काम पनि गरिन्छ। देशको राजधानीसमेत रहको प्रदेश भएकाले यसको गौरव बढाउन राजधानी चक्रपथ बनाउने तथा एयरपोर्ट बनाउनेजस्ता धेरै काम गरिन्छ। 

गाँजाको कुरा उठाउनुभयो। यसपटक तपाईंहरूले गाँजालाई वैधानिक गर्नुपर्ने भन्दै जोड दिइरहनुभएको छ। यसको कारण के होला?
मेरो चुनावी क्षेत्र अतिविकट छ। यहाँका मानिसहरू चरम गरिबीको रेखामुनि छन्। यस क्षेत्रमा गाँजा सजिलैसँग उम्रन्छ। गाँजाको प्रयोगलाई हाम्रो कानुनले अवैध भनेको छ। जसको कारण यहाँका सयौँ युवाहरू प्रत्येक वर्ष गाँजा ओसारपसार गरेको आरोपमा जेल बस्न बाध्य छन्। 

विश्वका ठूलाठूला देशमा गाँजालाई वैधानिकता दिइएको छ। हाम्रै आयुर्वेदले पनि गाँजालाई औषधिको रूपमा बुझेको छ। यस्तो महत्वपूर्ण चिजलाई हामी भने प्रतिबन्ध लगाएर युवालाई जेलमा कोचेर बसेका छौँ। गाँजालाई वैधानिकता दिएर जेलमा बसेका युवाको रिहाइ र गाँजा निकासी गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्छ। गाँजाले नै यहाँका जनताको आर्थिक उन्नतिमा सहयोग पुर्याउँछ भन्ने बुझाइ छ। 

यहाँका अरू प्राथमिकता के–के छन्?
म समाजसेवाको उद्देश्यले राजनीतिमा आएको हुँ। जीवनयापनका लागि मेरो पेसा व्यवसाय छ। म जहाँजहाँ पुगेको छु, उक्त क्षेत्र र त्यहाँका जनताको सुखदुःखमा इमानदार भएर काम गरेको छु। ०७० मा म पहिलोपटक मकवानपुर क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएको थिएँ। त्यति वेला संविधानसभाका सदस्यको काम संविधान निर्माण गर्नु भए पनि मैले त्यस क्षेत्रको पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि काम गरेको थिएँ। त्यही भएर मैले क्षेत्र परिवर्तन गरेर नयाँ ठाउँमा तत्कालीन वाम गठबन्धनको विरुद्धमा एक्लो चुनावी प्रतिस्पर्धामा रहँदा पनि जित्न सफल भएँ। अघिल्लोपटक मलाई मतदाताले माया गर्नुभयो। मलाई अहिले पनि मतदाताबाट त्यही माया पाउँछु भन्ने विश्वास छ। 

ad
ad