सन्ततिको पृथ्वी चपाइरहेका हामी

आफ्ना सन्ततिको ०.७५ पृथ्वी चपाउँदै छौँ

रोशन शेरचन रोशन शेरचन
शनिबार, ३ जेठ, २०७७
डिजिटल संस्करण

कोभिड–१९ कुन वन्यजन्तु हुँदै हामीसम्म आइपुग्यो भन्नेमा वैज्ञानिकहरूका आ–आफ्ना तर्क भए पनि ठोस प्रमाणसहित यकिन निष्कर्ष आउन बाँकी छ । वन्यजन्तुबाट विभिन्न माध्यम हुँदै यो मानिससम्म आइपुगेकोमा भने सबैको सहमति देखिन्छ । माध्यमहरूको पहिचान नै यसमा सबभन्दा ठूलो चुनौती देखिएको छ । डब्लुडब्लुएफको मार्चको रिपोर्टको ‘प्रकृतिको क्षय र महाव्याधीको उद्भव’ निष्कर्ष छः आर्थिक गतिविधि र विकासले पु-याएको पर्यावरणीय क्षति, वन्यजन्तुको चोरीसिकारी र अवैध व्यापारले वन्यजन्तु र मान्छेको सम्पर्क बढ्न गई कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने प्रबल सम्भावना छ । 

वातावरणीय विज्ञानमा, विकास र आर्थिक गतिविधिले पर्यावरणमा पर्ने प्रभावको लेखाजोखासम्बन्धी एउटा अवधारणा छः पर्यावरणीय पदचिह्न (इकलजिकल फुटप्रिन्ट) । पर्यावरणमा हामीले कति पदचिह्न (अवशेष) छाड्यौँ । यसमा पर्यावरणमा मानवीय गतिविधिले पारेको दबाबको लेखाजोखा राखिन्छ । यस्तो लेखाजोखा गर्ने निकायमा विश्व पदचिह्न सञ्जाल (ग्लोबल फुटप्रिन्ट नेटवर्क) अग्रणी छ । यस संस्थाले समस्याको गम्भीरतातर्फ पनि राष्ट्र प्रमुख, विश्व समुदाय र नीति निर्मातालाई सचेत गराउँदै आएको छ । 

उपभोगको वृद्धिदर यथावत् रहे सन् २०३० सम्म सन्तुलित ढंगमा मानवीय आवश्यकता आपूर्ति गर्न दुईवटा पृथ्वीको आवश्यकता पर्दछ, जब कि हामीसँग एउटा मात्र पृथ्वी छ।

पहिलो पाटोमा, सम्पूर्ण मान्छेले कति प्राकृतिक स्रोत उपभोग गर्छ र त्यसबाट कति फोहोरमैला निस्कन्छ, त्यसको परिमाण प्रक्षेपण गरिन्छ । उपभोगको निम्ति पहिचान गरिएका क्षेत्रमा फोसिल इन्धन, वन पैदावार, अन्न, माछा र सुमद्री जीव, मासु र भवनहरू मुख्य छ । दोस्रो पाटोमा, प्रकृतिको प्राकृतिक स्रोत उत्पादन गर्ने क्षमता र मान्छेले निष्कासन गरेका फोहोर व्यवस्थापन गर्ने प्रकृतिको क्षमता आकलन गरिन्छ । अनि तराजुमा जोखिन्छ ।

यदि पहिलो पक्षको पल्ला भारी भए, त्यसको अर्थ, हामीले भावी सन्ततिबाट समेत प्रकृति सापट लिएर प्रयोग गरेको बुझिन्छ । यो पाक्न बाँकी रहेको बिदा उपभोग गरेजस्तै हो । वा क्रेडिट कार्डको सहायताले सामान किनेजस्तै हो । दोस्रो पाटोमा भने प्रकृति सन्तुलनमा रहेको मानिन्छ । पृथ्वीको सम्पूर्ण जनसंख्याको निर्वाह चल्न र मान्छेको फेरिँदो जीवनशैलीलाई भरणपोषण गर्न कतिवटा पृथ्वी चाहिन्छ भन्नेसमेत हिसाब गरिएको छ ।


दुर्भाग्यवश नतिजा धेरै नकारात्मक छ । आजको मितिमा (सन् २०२०) मानिसलाई आवश्यक पर्ने प्राकृतिक स्रोतहरू र मानवजन्य फोहोरहरू व्यवस्थापन गर्न झन्डै १.७५ पृथ्वी आवश्यक पर्ने अध्ययनले देखाएको छ । उपभोगको वृद्धिदर यही यथावत् रहे, सन् २०३० सम्म सन्तुलित ढंगमा मानवीय आवश्यकता आपूर्ति गर्न दुईवटा पृथ्वीको आवश्यकता पर्दछ, जब कि हामीसँग एउटा मात्र पृथ्वी छ ।

कोरोनाले दुःख दिएकोमा मान्छेको चित्त दुखाइ छ, तर ऊ स्वयम् पृथ्वीको भाइरस भएकोमा अनभिज्ञ छ । पृथ्वीको स्वास्थ्य बिगार्न अमेरिका र युरोपका विकसित भनिएका राष्ट्रहरू बढी दोषी छन् । चीन, बाज्रिल, दक्षिण अफ्रिका र भारत पनि त्यही उपभोगको म्याराथन दौडमा सामेल देखिन्छ । 


पृथ्वीको आफ्नो नैसर्गिक लयमा फर्कन सक्ने क्षमतालाई (रिजेनेटिभ क्यापासिटी) हामीले कमजोर बनाइरहेका छौँ । हामीले देखेका छौँ, एक हदसम्मको फोहोरमैला, नदिले आफैँ सफा गर्छ । एक हदसम्मको प्रदूषणलाई वायुमण्डलले सोसेरै स्वच्छ बनाउँछ । समस्या हद नाघेपछि सुरु हुन्छ । एडवार्ड व. विल्सन, स्टिफेन हकिन्स, नोम चम्स्की, डेभिड एटनवरोलगायतका विज्ञले पृथ्वीकै लय ध्वस्त हुने दिशातिर बढिरहेकोमा सतर्क नगराएका होइनन् । अप्रिय नै किन नहोस्, कठोर निर्णय लिन सुझाएका हुन्, तर आर्थिक वृद्धिदरको दौडमा सामेल विकसित राष्ट्रका प्रमुखले सुनेनन् । 


पर्यावरणीय क्षति र पृथ्वीबाट जैविक विविधताहरू लोप हुँदै गएकोमा चिन्ता गर्ने अग्रणीमा एक एडवार्ड व विल्सन थिए । पृथ्वीलाई ‘थोरै बुझिएको ग्रह’ मान्ने उनी जीववैज्ञानिक हुन् । हार्डवर्ड विश्वविद्यालयका प्रोफेसर उनी दुईपटक पुलित्जर पुरस्कार वितेजा पनि हुन् ।

जैविक विविधताहरू तीव्रगतिमा लोप हुँदै गएपछि उनले पुस्तक लेखे– आधा पृथ्वी : जीवनको निम्ति हाम्रो ग्रहको लडाइँ (हाफ अर्थ : आवर प्लानेट्स फाइट फर लाइफ) । त्यस पुस्तकमा उनले -याडिकल प्रस्ताव अघि सारेका छन् । पृथ्वीको आधा जमिन र जलाशयलाई प्राकृतिक अवस्थामै छाड्ने । त्यसको अर्थ, राष्ट्रसंघले विश्व सम्पदा क्षेत्र घोषणा गरेजस्तै जैविक विधिताले सम्पन्न क्षेत्रहरूलाई संरक्षित क्षेत्र, आरक्ष वा त्यस्तै केही कानुनी हिसाबले घोषणा गर्ने ।

जहाँ वन्यजन्तु, वनस्पति, कीटपतंग र सूक्ष्म जीवाणुहरू प्राकृतिक अवस्थामै विनाअवरोध बाँच्न पाओस् । उनको प्रस्तावनाको पक्ष र विपक्षमा वातावरणविद् र नीति–निर्माताबीच व्यापक चर्चा चल्यो । धेरैको तर्क थियो, त्यो सम्भव छैन । उनको तर्क छ, कठोर कदमविना समस्याको दीर्घकालीन समाधान छैन । आफ्नो प्रस्तावले बिस्तारै स्वीकृति पाउनेमा उनी आशावादी थिए । 


देखेकै कुरा हो, वनजंगल, खोलानाला, समुद्र, हिमाल, खनिज लवण, पर्ति जमिन केही नछाड्ने, उत्खनन् गर्ने, प्रशोधन गर्ने, बेच्ने, संग्रह गर्ने र अतिउपभोग गर्ने मान्छेका छुकछुके प्रवृत्तिले पर्यावरण बिग्रेको छ । गत साल लागेको अमेजनको वन डढेलो कसैबाट छिपेको छैन । त्यो मानवनिर्मित आगो थियो । त्यो स्केलको डढेलो पृथ्वीकै पर्यावरणको निम्ति अत्यन्त दुखद घटना हो ।

अमेजनमा सन् २०१९ को जनवरीदेखि अगस्तसम्म ८७ हजार वनमा डढेलो गएको थियो । २२ लाख वर्गमाइल क्षेत्रफलमा फैलिएको यस वनले करिब नब्बे अर्ब टन कार्बनडाइअक्साइड आफूमा खिचेर राख्ने जर्ज मासन युुनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्मी थोमस लब्जोय बताउँछन् । गत जुलाईमा मात्र लस एन्जेलस सहरभन्दा बढी क्षेत्रफलको रेन फरेस्ट फँडानी भएको अनुमान छ ।

हरितगृह ग्यासको उत्सर्जन अथाह बढेको छ । रासका रास फोहोर निष्कासन गर्दै पृथ्वीलाई नै ल्यान्डफिल्ड बनाउन मानिस उद्यत छ । कोकाकोला प्लास्टिक प्रदूषण गर्ने कम्पनीमा अग्रपंक्तिमा पर्छ । प्लास्टिक खाख्दा ह्वेल र समुद्री जीव मरेका समाचार सामान्य भइसके । त्यस्तै वन्यजन्तुको चोरीसिकारी र अवैध व्यापारमा गिरोहहरू लागिरहेका छन् । प्रकृतिलाई कच्चापदार्थको भण्डारका रूपमा मात्र हेर्ने नाफामूलक बजार अर्थतन्त्र हाबी भएकाले यो सब भइरहेको छ । 


पृथ्वीलाई घर नभई डेरा मान्ने दृष्टिकोणले पृथ्वीको आरोग्य बढाउन सघाउँछ । हिजो हाम्रा पुर्खाहरू बस्थे, आज हामी छौँ र भविष्यमा हाम्रा सन्ततिहरू पनि बस्नुपर्छ यहाँ भन्ने सोच निकै हितकर छ । यहाँ बस्ने हामी अन्तिम होइनौँ तसर्थ यो विशाल डेरा नबिगारीकन, नभत्काईकन अरूलाई छाड्नुपर्छ भन्ने सोच्न प्रेरित गर्छ, त्यस दृष्टिकोणले । तर, दुर्भाग्यवश प्रमाणले त्यस्तो देखाउँदैन । एकजना विद्वान्को भनाइ सम्झन्छु ‘मान्छे रूखबाट ओर्लिएको धेरै भएको छैन, त्यसैले मान्छे तत्काल संयम भएर बस्ने देखिँदैन ।’


प्रसिद्ध भौतिकशास्त्री हकिन्सकोे सन् २०१७ को भविष्यवाणी पनि भिन्न छैन । जनसंख्याको तीव्र वृद्धिदरले पृथ्वीमा स्थान अभाव हुँदै गएको, पृथ्वी तातिँदै जाँदा समुद्री किनारका देश डुब्ने सम्भावना भएको र कृत्रिम बौद्धिकताले (आर्टिफिसियल इन्टेलिजेन्स) निम्त्याउने जोखिमले अबको ६ सय वर्षभित्र पृथ्वी बस्नयोग्य नरहने बताएका थिए । सौर्यमण्डलको कुनै उपयुक्त स्थान अन्वेषण गरी बसाइँ नसरेसम्म मानव अस्तित्व जोखिममा छ, उनको डरलाग्दो भविष्यवाणी छ । 


उपभोगको वृद्धिदरको तथ्यांकले मस्तिष्क रिंगाउँछ । पृथ्वीको आयु साढे चार अर्ब वर्ष अनुमान गरिएको छ । पृथ्वीमा मानिसको इतिहास, कुनै न कुनै रूपमा, करिब तीन लाख १५ हजार वर्ष मानिन्छ । पृथ्वीको आयुलाई एक वर्षको स्केल मान्ने हो भने, पृथ्वीमा मान्छेको इतिहास करिब ३७ मिनेट (कणबराबर) हुन आउँछ । तर, मान्छेले पछिल्लो ०.२ सेकेन्डमै एकतिहाइ प्राकृतिक स्रोत रित्याइसक्यो । प्राकृतिक स्रोतहरू सन्ततिलाई पनि छाड्नुपर्छ भन्ने मान्छेले बिर्सी नै सक्यो । 


यतिखेर हामी आफ्ना सन्ततिको ०.७५ पृथ्वी चपाउँदै छौँ । सन् २०३० सम्म अर्को सग्लो पृथ्वी चपाइसक्ने छौँ । कठोर शब्द प्रयोग गर्ने हो भने, मानव जाति लार्भा भएको छ, जसको एक मात्र उद्देश्य खाइरहनु र फोहोर निष्कासन गरिरहनु हो । लार्भा जति उपयुक्त विम्ब सायदै अर्को छ, यतिखेर ।

नवउदारवादी विचारधाराले संकटलाई मलजल गरेकै छ । थाक्रो हालेकै छ । नाफालाई केन्द्रमा राख्ने र पर्यावरणीय समस्याको सधैँ प्रविधिकेन्द्रित समाधान खोज्ने यसको विकल्प नखोजेसम्म, स्वस्थ पर्यावरण सम्भव छैन । वातावरणविद्हरू भन्छन्, ‘न कोभिड–१९ पहिलो महामारी थियो, न अन्तिम हो । यदि मानवजातिको पर्यावरणप्रति व्यवहार नफेरिए, अरू महामारी पनि भविष्यमा आउनेछन् ।’ 


संयुक्त राष्ट्रसंघले सन् २०२० को दशकलाई पर्यावरणको पुनर्उत्थानको दशकका रूपमा मनाउने घोषणा गरेको छ । यो राम्रो कुरा हो, तर सायद आजको आवश्यकता विश्वस्तरमै कठोर निर्णय लिन र कार्यान्वयन गर्न सक्नु हो । जलवायु परिवर्तन र महाव्याधीको बढ्दो संक्रमणले त्यसको अपरिहार्यता देखाइसक्यो । मान्छेका धेरै कुरा गुमे फर्काउन सकिन्छ, तर प्रकृतिको लय भत्किए केही बाँकी रहँदैन । 

पहाडका छातीहरू नाङ्गो हुनु लय भत्किनु हो
मैदानका फाँटहरूमा केही नहुनु लय भत्किनु हो
चराहरूले वास बस्न रूखका हाँगा नभेट्नु लय भत्किनु हो
जङ्गल मासिनु र जनावरहरू मान्छेसँग भयभीत हुनु लय भत्किनु हो
आमाजस्ता नदीहरूमाथि मान्छेका विकार थुपारिनु लय भत्किनु हो
असह्य आणविक-परमाणविक परीक्षण हुनु लय भत्किनु हो
अब म कसरी भनुँ प्रलय टाढा छ ? 

–तिर्थ श्रेष्ठ

सम्पादकको रोजाइ

सुझावित समाचार