कालिन्चोक भगवती मन्दिर काठमाडौंबाट १३२ किमि उत्तरपूर्वमा रहेको दोलखा जिल्लामा पर्छ । दोलखा जिल्ला प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जैविक विविधता, मनोरम दृश्यहरूसँगै, अनेकौँ सम्पदाहरू भएको स्थान हो, जहाँ गौरीशंकर हिमाल, जिरी उपत्यका, शैलुड डाँडा, गौरीशंकर संरक्षण क्षेत्र आदि अनेकौँ पर्यटकीय स्थलहरूले भरिपूर्ण गन्तव्य छन् । तामाकोसी जलविद्युत् आयोजना, बिगु गुम्बा, च्छोरोल्पा हिमताल, लोपोन्मुख सुरेल र जिरेल जातिको उद्गमस्थलसँगै अनेकौँ सम्पदाले भरिपूर्ण दोलखा जिल्ला धार्मिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण केन्द्रको रूपमा रहेको पाइन्छ ।
कसरी पुग्ने ?
कालिन्चोक भगवती मन्दिर दोलखा पुग्न काठमाडौंको कोटेश्वर जडीबुटी, बौद्घ, जोरपाटी, स्वयम्भू, कलंकी आदि स्थानबाट रिजर्भ जिप र सार्वजनिक बसहरू उपलब्ध छन् । अरनिको राजमार्ग हुँदै सुनकोसीको तिरैतिर पहिला सुकुटे बजार पुगिन्छ । सिन्धुपञ्चोक जिल्लामा पर्ने सुकुटे बजार क्षेत्रका रिसोर्टहरू सुनकोसी नदीमा र्याफ्टिङ, कायाकिङ आदि साहसिक खेलहरूसँगै कार्यालयका कर्मचारीबीच टिम बिल्डिङ कार्यशाला गोष्ठी, तालिम आदिका कार्यक्रम अनि युवाहरूको विकेन्ड जमघट, पार्र्टी आदि गर्ने, विशेष गन्तव्य बन्न गएको छ ।
हालसम्म १५ वटा सञ्चालनमा र सातवटा बन्ने क्रममा रहेका २२ वटा साना–ठूला रिसोट तथा क्याम्पमा लगभग पाँच हजारजना पर्यटकलाई सेवा दिन सक्ने साहसिक खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम गर्न सक्ने स्थलका रूपमा पर्यटकमाझ स्थापित गन्तव्य बनिसकेको छ, सुकुटे । यहाँका रिसोर्टबाट सुनकोसी नदीमा र्याफ्टिङ गर्दा प्रतिव्यक्ति १५०० रुयौयाँ नेपालीलाई र विदेशीलाई ३५ डलर लिने गरेको र एकरातको क्याम्पिङसहितको र्याफ्टिङ गर्ने नेपालीलाई पाँच हजार प्रतिव्यक्तिको प्याकेज र विदेशीका लागि ८५ डलर प्रतिव्यक्तिको प्याकेज दिने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।
सुकुटे क्षेत्रका रिसोर्टपछि खाडीचौर बजार आउँछ, त्यहाँबाट चरिकोट बजार ५२ किमि पर्छ । खाडीचौर पुल तरेर स्वारा, थुमपाखर, मुडे बजार, आहाल डाँडा, खरीढुंगा हुँदै भीमेश्वर नगरपालिकाको मकैबारी भन्ने स्थानमा पुगिन्छ । मकैबारीबाट माथि कालिन्चोक भगवती माताको थान जाने मोटरबाटो बनेको छ, त्यहाँबाट अघि बढ्दा पहिलो स्थान देउराली बजार आउँछ, जुन स्थान मोटरबाटोले चरिकोट बजार र पदमार्गले दोलखा पुरानो बजार जोडिन्छ ।
कुरीको मौसम भारतीय हिलस्टेसन दार्जिलिङ, मिरिक वा युरोपको ज्युरिक, साल्सवर्गसँग मिल्दोजुल्दो छ । हिउँ पर्दा त कुरी झन् मनमोहक हुन्छ । यहाँ स्कीको सम्भावना पनि उत्तिकै छ ।
केबलकार नबन्दा चरिकोट बजारबाट देउराली हुँदै गैरीगाउँ, फलामे डाँडा हुँदै कुरीगाउँ पुगिन्थ्यो, त्यहाँबाट सुरु हुन्थ्यो, कालिन्चोक भगवती मन्दिर पुग्ने पैदलयात्रा । तर, आजभोलि यो पदयात्रालाई केबलकारको सेवाले सरल बनाइदिएको छ । कुरीगाँउबाट केबलकार चढी कालिन्चोक भगवतीको दर्शन गरेपछि पर्यटक त्यही दिन काठमाडौं वा सुकुटे बजारतिर जान सक्ने भए । अथवा ती पर्यटक कुरीगाँउको मनमोहक प्राकृतिक वातावरणमा रमाउँदै कुरीगाउँमै बस्न सक्ने सम्भावना पनि बढेको देखिन्छ ।
कालिन्चोक गाँउपालिकाअन्तर्गत पर्ने कुरीगाउँ आजभोलि एक आकर्षक गन्तव्य बनेकोे छ । सिजनमा दैनिक ६ हजारसम्म यात्रुले कालिन्चोक भगवती मन्दिर पुग्न केबलकार प्रयोग गर्ने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । वास्तवमा यहाँको मौसम हेर्ने हो भने उत्तरपूर्व भारतीय हिलस्टेसन दार्जिलिङ, मिरिक वा युरोपको ज्युरिक, साल्सवर्गसँग मिल्दो छ । लोभलाग्दो कुहिरोले बाह्रैमास ढाकिने यस स्थानमा आकर्षक रिसोर्ट एवं होटलसँगै राम्रो खानानास्ताको प्रबन्ध छ ।
लगभग ११५ वटा ठूला–साना होटेल, क्याम्पिङ रिसोर्टमा सातदेखि आठ हजारसम्म यात्रुका लागि राम्रो खाना र वासको प्रबन्ध उपलब्ध गराउन सक्ने पूर्वाधार रहेकोे स्थानीय पर्यटन व्यवसायी हिल साइड रिसोर्टका मालिक च्याङ शेर्पा बताउँछन् । जाडोमा हिउँ तीन फिटसम्म पर्छ । २०७८ सालमा सर्वाधिक हिउँ परेको थियोे । हिउँ पर्दा गन्तव्य त झन् मनमोहक भई पर्यटक आउने र हिउँमा रमाउने गरेको पाइन्छ । स्की खेलको यहाँ विकास हुन सक्ने ठूलो सम्भावना देखिन्छ ।
कुरीगाउँ कालिन्चोक भगवती माताको मन्दिर जाने आधार शिविर बनेको छ । २०७५ सालमा स्थापित कालिन्चोक दर्शन लिमिटेडको १२०० मिटरको केबलकारबाट हिमशृंखलाहरू गौरीशंकर, दोर्जी लाक्पा, जुगल, सगरमाथा, गुरुकारोराई, लोङपोयन र भैरव टाकुरा आदिको समेत दर्शन गर्न सकिन्छ । समुद्री सतहबाट सात हजार १३४ मिटरको उचाइमा रहेको कालिन्चोक भगवती माताको मन्दिर दर्शन कुरीगाउँबाट एक घन्टा तीस मिनेटका पैदलयात्रा वा केबलकारको पाँच मिनेटको यात्राबाट पुग्न सकिन्छ । केबलकारमा नेपालीलाई दुईतर्र्फी ६००, भारतीयलाई ९६०, अन्य विदेशीलाई एक हजार ३०० र विद्यार्र्थीलाई जम्मा ५०० रुपैयाँ लिने गरिएको छ ।
स्थानीयस्तरमा कालिन्चोक केबलकार सञ्चालन हुनुपूर्व कुरीगाउँमा सामान्यतया थामी, लामा, शेर्पा तथा तामाङ जातिको परम्परागत बसोवास थियो र चौँरीपालन व्यवसाय मात्र हुन्यो । केबलकार निर्माणपछि त्यहाँ धेरै होटेल बनेका छन्, कतिपय बन्ने चरणमा छन् । बाटो, पानी, बिजुलीलगायत पूर्वाधारको विकासपछि त्यहाँ अहिले पर्यटकको अत्यधिक भिड हुने गरेको छ । अनेकौँ ठूला–साना होटेल, रेस्टुरेन्टहरूको कारण स्थानीयहरूको जीवनस्तरमा छोटो अवधिमै ठूलो परिवर्तन आएको छ । पहिले स्वदेशी वा भारतीय पर्यटक चरिकोट बजारका होटेलमै बस्थे, त्यसले स्थानीय बजारमा मालसामान पनि खरिद हुन्थ्यो । अहिले यसमा ठूलो ह्रास आएको छ भन्ने गुनासो दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठ र उपाध्यक्ष रुद्रजंग बुढाथोकीले गरेका छन् ।
चरिकोट आउने पर्यटकको प्रमुख उद्देश्य चरिकोट बजारबाट पूर्व ४.५ किमिमा रहेको दोलखा पुरानो बजारको भीमेश्वर देउताको दर्शन पूजाअर्चना गर्ने रहन्छ । यस मन्दिरमा एक शिला तीन अवतारको रूपमा ब्रह्मा, विष्णु, महेश्वरलाई पुज्ने गरिन्छ । बिहानी भीमेश्वर दिनभरि महादेव र बेलुकी नारायण भगवान्को रूपमा पूजा अर्चना हुने र त्यसैअनुरूप भगवान्को वस्त्र, गरगहना र भोग लगाउने प्रचलन छ ।
पाँच पाण्डवमध्येका भीमसेनलाई नेवारी समुदायले भीमसेन महाराजको रूपमा व्यापारीको रक्षा गर्ने, व्यापारमा समृद्धि दिने देउताको रूपमा पनि पुज्ने गरेको पाइन्छ । खासगरी नेपाल–भोट तिब्बत व्यापारको समयमा भीमसेनको कृपाले राम्रो व्यापार हुने र भीमसेनले समुदायको रक्षा पनि गर्ने जनआस्था छ । सातौँ शताब्दीमा दोलखा भीमसेन मन्दिरको स्थापना भएको र भीमसेन देउतालाई स्थानीय बासिन्दाले आराध्य कुल देवताको रूपमा पूजाअर्चना गर्दै विभिन्न जात्रा मनाउँदै आइरहेका छन् । काठमाडौंका नेवार समुदायको पनि दोलखा भीमसेन देउताप्रति विशेष श्रद्धा एवं आस्था रहेको पाइन्छ ।
बिगु गाउँपालिकाको बिगु गुम्बा, च्छोरोल्पा तालजस्ता प्रसिद्ध पर्यटकीय गन्तव्य जाने आधार शिविरको रूपमा स्थापित रहँदै आएको दोलखा पुरानो बजार र चरिकोट बाजारमा केही चुनौती पनि थपिएका छन् । यसको एउटा उदाहरण हो, चरिकोट बजारमा पर्यटकको चाप घट्नु र कुरीगाउँ एक नयाँ पर्यटकीय स्थलको रूपमा उदय हुनु । कुरीगाउँलाई दोलखा जिल्लाको एक हिल स्टेसनका रूपमा विकास गर्न सकिने सम्पूर्ण पूर्वाधारको निर्माण गर्नुपर्ने आजको आवश्यकता देखिन्छ । साथै दोलखा भीमेश्वर र चरिकोट बजारलाई पनि पर्यटकीय गन्तव्य बनाइराख्न केही नीतिगत एवं आवश्यक पूर्वाधारको निर्माण गर्नुपर्ने त्यत्तिकै आवश्यक देखिन्छ । त्यसका लागि केही सुझाब स्थानीय सरकार एवं सम्बन्धित निकायमाझ राख्न चाहन्छुु ।
१. सडकमार्गबाट कालिन्चोक भगवती मन्दिरसम्म पुग्न सरल एवां सबैको पहुँच होस् भन्ने उद्देश्यले दोलखा मकैबारीबाट देउरालीसम्मको मोटरबाटोलाई एकतर्फी बनाइयोस् र देउरालीबाट चरिकोट बजार झर्नुपर्ने ट्राफिक नियम बनेमा यसले सार्वजनिक बस तथा निजी साधन मकैबारीबाट छिरेपछि देउराली हुँदै चरिकोट बजार पुग्नेछन् ।
२. अहिले कुरीगाउँबाट कालिन्चोक भगवती मन्दिरसम्म केबलकार सञ्चालनमा छ, जुन कालिन्चोक गाउँपालिकामा पर्छ । कुरीगाउँ र चरिकोट बजार दुइटैलाई पर्यटकीय स्थलका रूपमा चलायमान गर्ने र दुइटै स्थानमा कम्तीमा एक रात पर्यटक बसून् भन्ने उद्देश्यले चरिकोट बजारबाट कुरीगाउँसम्म केबलकारको सेवा थप्यो भने गन्तव्यमा थप आकर्षण हुँदै पर्यटकको बसाइ लम्बिने सम्भावना देखिन्छ ।
३. कुरीगाउँलाई व्यवस्थित हिल स्टेसनका रूपमा विकास गर्न सबैभन्दा ठूलो समस्या खानेपानीको छ । सँगै जोडिएको जिल्ला सिन्धुपाल्चोकबाट मोटर लगाई माथि पहाडमा तान्नुपर्ने बाध्यता रहेकाले यसको समाधान सरकारले यथाशीघ्र गरिदिनुपर्ने देखिन्छ । साथै यहाँ सार्वजनिक बसपार्कको व्यवस्था गर्नुपर्छ । कुरीबजारको मुख्य सडकमा सार्वजनिक बत्ती राखी उज्यालो गर्नुपर्ने र केही सार्वजनिक शौचालय तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।
४. कालिन्चोक भगवती माता दिदीको दर्शनपछि दोलखा भीमेश्वरको दर्शन र चरिकोट बजार तल भीमेश्वर नगरपालिका–५ मा रहेकी कान्छी बहिनी महाकाल भगवतीको दर्शन गर्नाले मात्र यो धार्मिक यात्रा पूरा हुन्छ भन्ने स्थानीयको जनआस्था छ । यस प्रचलित जनआस्थाको सदुपयोग गर्न व्यापक प्रचारप्रसार र प्याकेज टुरको रूपमा विकास गरी पर्यटकमाझ संयुक्त रूपमा तीनवटै धार्मिक स्थलको चित्र, भिडियो राखी प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ ।
५.काठमाडौं उपत्यकाबाट आउने स्वदेशी वा विदेशी पर्यटकका लागि धुलिखेल–दोलालघाट–सुकुटे बजार– कुरीगाउँ–कालिन्चोक भगवती मन्दिर–चरिकोट बजार –दोलखा भीमसेन मन्दिर दर्शनको विशेष प्याकेज बनेको छ । यसलाई व्यापक प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ ।
धार्मिक, सांस्कृतिक, साहसिक गतिविधिले भरिपूर्ण रोमाञ्चक यात्राको गन्तव्यको रूपमा प्रचुर सम्भावना बोकेको यस ठाउँलाई थप व्यवस्थित र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । अन्यथा कुरीगाउँको कुइरोमा चरिकोटको आकर्षण हराउने हो कि भन्ने शंका बढ्दै जान सक्छ ।
(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन् ।)