गुराँस गुन

बाबुकृष्ण कार्की बाबुकृष्ण कार्की
शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
सलाम छ यो कर्णप्रिय गीत गाउने प्रसिद्ध गायक नारायण गोपाललाई ।


तर, पंक्तिकारलाई एउटै विस्मात छ, धेरै साहित्यकार, संगीतकार कलाकारलाई गुराँसको राजधानीमा भ्रमण गर्न सुर्याएँ, पुर्याएँ, तर उहाँलाई पुर्याउन पाइनँ ।


पुर्याएको भए उहाँले कवि क्षेत्रप्रताप अधिकारीको गीत मालालाई यसरी बंग्याइदिनुहुने थियो होला–


तिमी महामानव
तिमीलाई प्यारो सहर
म अबोध गुराँस
मलाई स्वर्ग तारे भिर
तिमी लेऊ सुलभ मैदान
उर्वर तराई, बेंसी र उपत्यका
मलाई देऊ विकट चट्टान
कालीभिर, पहरा र ढुंग्यान
नापौँ जोखौँ तुलो हालौँ
को धेरै सुन्दर, सुगन्धित र स्वाभिमान

गुराँसको स्वयंसेवा : ३४ वर्ष लामो सैनिक सेवा अवधिमा प्रायः उद्धार राहत मिसनमा ७७ जिल्ला पुग्ने भाग्यमानी पंक्तिकारलाई हिमाल पहाडमा गुराँसले ध्यान खिचे, लपेटे । न्यानो अंगालो हाले । माया जालमा पारे । म गुराँसको मायामा डुब्दै गएँ । बेहोस भएँ । र, हराएँ । जब होसमा आएँ, गुराँसको गहिरो मायाजालभित्र मैले आफ्नो कर्तव्य पहिल्याएँ कि यति सुन्दर र आकर्षक फूलको सम्मान र संरक्षण कसरी गर्ने होला ?


जीवनमा यही हुटहुटी बोकेर छट्पटाइरहेका वेला सेवाको उत्तराद्र्धमा धनकुटा हिले सरुवा भयो । प्रकृतिप्रेमी अग्रजले हजारौँको संख्यामा वृक्षरोपण गरेर बनाइदिएको गुराँसको जंगललाई गोडमेल स्याहार माया गर्ने अपूर्व अवसर प्राप्त भयो । वनमाराले छोपेर निस्सासिएको गुराँसको वन अर्को वर्ष खुसी भएर ढकमक्क फुलिदियो । हरित हिले रंगीन भयो र अवलोकनकर्ता सारालाई प्रफुल्लित बनाउँदै उमंग र ऊर्जा भरिदियो । मेरो खुसीको सीमा रहेन ।


उहिलेको खुइले डाँडो हिलेलाई गुराँसले रंगीन बनाई रैथाने रतुवा मृग, खरायो र कालिजले भरेर स्वर्गजस्तो प्राकृतिक पार्क बनाएपछि हामी तीनजुरे, मिल्के, जलजले (टिएमजे) का गुराँस गोड्न जगाउन र जोगाउन पुग्यौँ । गुराँसप्रेमी स्थानीय समुदायसमेत झन् उत्साहित र उत्प्रेरित भएर संरक्षणमा लाग्दा अर्को वर्ष गुराँस दिल खोलेर फुलिदिए र सारालाई प्रेम र उमंग भरिदिए ।

मेरो निमन्त्रणालाई स्वीकार गरी आउने सम्पूर्ण प्रकृतिप्रेमी भिभिआइपी, साहित्यकार, संगीतकार, कलाकार र पत्रकार मित्रहरूले पूर्वको गुराँस राजधानी टिएमजेमा अद्भूत प्राकृतिक आनन्द लिए । मातृभूमिको लुकेको सौन्दर्यसँग साक्षात्कार हुन पाउँदा अनगिन्ती गीत फुरे, गाइए । आज, गीत, संगीत बजारमा गुराँसका गीत कति कति ? आन्तरिक पर्यटकको आँखा, कान खुल्यो– विदेशीले कृत्रिम फूल रोपेर लाखौँ पर्यटकलाई प्रेममा डुबाएका छन् । हाम्रो प्राकृतिक अद्भूत सुन्दर फूलको प्रचार–प्रसार र पर्यटक आकर्षण छायामा परेको छ ।


संसार बोलाउने, डुलाउने, भुलाउने र असीम आनन्द दिने यो प्राकृतिक राष्ट्रिय फूलको रक्षा कल्याण सम्मानमा नेपाली सेनाको योगदान बढाउन हामीले निकुञ्ज आरक्षमा तैनाथ फौजलाई २० वर्षअघि उत्प्रेरणा र ऊर्जा भरेर त्यसको सानदार परिणाम हेरिसकेका थियौँ । खप्तड, रारा, डोल्पा, ढोरपाटन, लाङटाङ, सगरमाथा, मकालु वरुण गुराँसका नयाँ राजधानी हुन् र त्यहाँका पदमार्ग धेरै प्रजातिका गुराँसले रंगिएका छन् र गुराँसका ती फूल धागो तानेझैँ भर्टिकल र होराइजेन्टल फैलिरहेका छन् । पर्यटकलाई प्राकृतिक स्वागत र आतिथ्य गर्न कुरिरहेका छन् ।


राष्ट्रिय फूल राष्ट्रिय सेनालाई : लालीगुराँस राष्ट्रिय प्रतीक हो । नेपालको पवित्र पहिचान हो । प्रकृति संरक्षणको सन्देश प्रवाह गर्ने प्राकृतिक हिरा हो । नेपालको दूरदराज, कुनाकन्दरा, भिरपाखा, चट्टान पर्वतमा फैलिएको यो फूलले भरपर्दो दिगो संरक्षणका लागि हारगुहार गरिरहेको छ । प्रकृतिको त्यो चीत्कार राष्ट्रिय सेनाको कानमा पर्नुपर्छ र प्रकृति संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले राष्ट्रिय फूललाई आफ्नो शिर र छातीभित्र रगतमा सुरक्षित राखी त्यसको संरक्षणमा स्वस्फुर्त जुट्नुपर्छ । श्रमदान गर्नुपर्छ । र, स्थानीय सरकार र समुदायलाई संरक्षण हातसाथ र काँध दिनुपर्छ ।


हरेक कार्यालयमा लालीगुराँसको फूलको फोटो अनिवार्य राख्ने र स्थानीयबाट माग भई आएका ठाउँमा लालीगुराँसका बिरुवा वृक्षरोपण गरी संरक्षणमा मद्दत पुर्याउने संस्थागत नीति र अभ्यासले गुराँस संरक्षणलाई ठूलो टेवा पुग्नेछ । गुराँस पर्यटनको ढोका खोल्न सघाउ पुग्नेछ । यो पवित्र कामबाट सेनाको गौरव बढेर जुनमा पुग्नेछ ।


यो वर्षको स्वयंसेवा : गुराँसको दोस्रो ठूलो राजधानी पोखरा–जोमसोम पदयात्रा पथमा पर्ने घोरेपानीको वन हो । यो वर्ष भाग्यले यो गुराँसघारीमा कोरियन नेसनल पार्क सर्भिसका पाँचजना होनहार रेन्जर्सलाई पुर्याउने अवसर जुर्यो । पुनहिल पुग्नासाथ कोरियन हर्षले चिच्याए –


हामी पागल भयौँ 
हामी यहीँ बस्ने 
सधैँ यहीँ बसिरहने
अरू केही चाहिँदैन ।


कोरियन मात्र होइन, अरू सबै देशका पर्यटकको हर्ष उद्गार उही थियो । हामी नेपाली पर्यटक पनि चिच्याइरहेका थियौँ –
‘केही खानु पर्दैन ।


निन्द्रा पनि चाहिएन । तर, यो ठाउँमा सधैँ बसिरहन पाऊँ ।’


मैले वरिपरि पर्यासाहित्यकार खोजेँ । गुराँसको प्रेमशक्ति आकलन गर्न । गुराँसको आकर्षण नाप्न र जोख्न । गुराँसको सुगन्ध सुँघ्न र गुन्न ।


अनि घोरेपानीका प्रकृतिप्रेमी पुन मगरहरूलाई भनेँ –


‘तपाईंहरू स्वर्गका साक्षत् भगवान्
प्रकृतिका पुजारी
स्वर्गका खाँटी रक्षक ।’


घान्द्रुकबाट हामी उकालोलाग्दा लालीगुराँसको फूल टिप्नेलाई पाँच सय रुपैयाँ जरिवाना थियो । घोरेपानीले पाँच हजार सजाय तोकेको रहेछ । कडाइका साथ त्यो स्थानीय सजाय लागू छ । कोटीकोटी नमन छ घोरेपानीलाई ।


त्यसैले घोरेपानी गुराँसले ढकमक्क स्वर्गजस्तो छ । गुराँस औधी खुसी, सुखी र ढुक्क छन् । कसैले भाँच्दैैन चुँड्दैन टिप्दैन । र, हामीले पाँच दिनको पदयात्रामा एक थान फूल कसैले टिपेको देखेनौँ । स्थानीयको गुराँस रक्षा कल्याण सम्मानभाव र सजायले नेपाली पर्यटकको आचरण परिवर्तन (बिहेभियर चेन्ज) भएको छ । विदेशीले कानुन होस्–नहोस्, गुराँस टिप भन्दा पनि टिप्दैनन् । बदमास हामी आफैँ हौँ । तर, घोरपानीमा गुराँस सम्मानित छन् र सुरक्षित छन् ।


पवित्र आँखा र शक्तिशाली क्यामेराबाहेक गुराँसलाई अरू केहीले चोर्न, लैजान सक्दैन । गुराँस संरक्षण महाअभियानबापत घोरेपानीलाई प्रकृतिले पर्यटकको मेला लगाइदिएकी छिन् । अन्नपूर्ण संरक्षण क्षेत्र पैसा छाप्ने मेसिन भएको छ । हरेक घरघर र स्कुलले गुराँस वृक्षरोपण गरेर घर–स्कुललाई स्वर्ग बनाइरहेका छन् । पर्यटकको ओइरो लागेको छ । हामीले एक वर्षकी बालिकादेखि ८० वर्षका वृद्धवृद्धासम्म गुराँसखानीमा पदयात्रा गरेको देख्न पायौँ ।

सम्पादकको रोजाइ

सुझावित समाचार