प्रकृति, रुख, वनजंगल, निकुञ्ज, आरक्ष, वरपीपल, चौतारी आदि अहिले ग्रिन हस्पिटल र उपचार कक्षका रूपमा प्रयोग हुँदै छन्
पानीसँग घुलमिल हुनु मानव स्वास्थ्यलाई राम्रो मानिने हुनाले हामी शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न स्नानागार जाने, दैनिक नुहाउने र पौडी खेल्नेजस्ता जलक्रीडाजनित क्रियाकलाप गरिरहेका हुन्छौँ । कतिपयले पानीभित्र हुने योगाभ्यास पनि गर्छन् । कार्यालयमा छुट्टी मिलाएर सपरिवार हाइकिङ जानेदेखि पोखरी, जलाशय, नदी, समुद्र, झरना आदिमा पनि प्राकृतिक आनन्द लिई, नुबाइधुवाइ गरेको पनि पाइन्छ । यसै सिलसिलामा अचेल जंगल स्नान/अरण्य स्नान (फरेस्ट बाथिङ) को प्रचलन आएको देखिन्छ । सन बाथिङ, साउना बाथिङ, स्टिम बाथिङ, हर्बल बाथिङ, स्टोन बाथिङ र यस्तै प्रकारका बाथिङ सुनिए पनि फरेस्ट बाथिङ अर्थात् अरण्य स्नानको भने अहिले भर्खरैभर्खरै प्रयोगमा व्यापकता आइरहेको छ ।
झट्ट सुन्दा जंगलभित्र गएर खोलानाला वा पोखरीको पानीमा नुहाउने र डुबुल्की हान्ने हो कि भन्ने भए पनि फरेस्ट बाथमा पानीको प्रयोग गरिँदैन । यही नै हो, यसको चाखलाग्दो विशेषता । हुन त जापानी समाजमा यो अरण्य स्नानको चलन सन् १९८० तिरैबाट प्रचलनमा आएको थियो, किनकि तीव्र सहरीकरण र कार्यालयमा हुने अधिक कार्यबोझले गर्दा धेरै जापानीमा मानसिक तनाव पैदा भएको स्थिति देखिन्थ्यो । अनि, यसैवेला सिनरिन–योकु (जंगल स्नान/अरण्य स्नान) थेरापी नामक प्राकृतिक उपचार पद्धति ल्याइयो । यस उपचार पद्धतिमा मानिसहरू कम्तीमा पनि प्रतिहप्ता दुई घण्टासम्म नजिकको नेचुरल उडल्यान्ड (वनजंगल र पुराना रुख र ठुटाठुटी भएको स्थान) मा गई टहल्ने, भुल्ने, खेल्ने र एकाग्रतामा डुबेर तनाव व्यवस्थापन गर्ने गर्छन् । जंगल स्नान भनिए पनि वनभित्र वा झाडीदार ठाउँमा गएर शरीर धुने र पखाल्ने कार्य गरिन्न ।
काठ (लग) सँग भने लसपस गरिन्छ । यसमा पातलो कपडा लगाएरै जंगलका काठपात एवं रुख ठुटाहरूमा लुटपटिने, रुखलाई अँगालोमा बेर्ने, म्वाइँ खाने, हातले रुखमा माडमुड गर्नेे र उनीहरूसँग दोहोरो अन्तक्र्रिया गर्नेजस्ता कार्य गरिन्छ । बिबिसी साइन्स पत्रिका, सेप्टेम्बर २, २०२४ का अनुसार युनिभर्सिटी अफ डर्बीमा आधुनिक चिकित्सा पद्धतिसँगै आफ्ना बिरामीलाई यो जंगल बाथको प्राकृतिक चिकित्सा विधिसमेत अपनाइरहेकी प्रा.डा. क्रिस्टियन मेकनले जंगल स्नान शारीरिक र मानसिक तनाव व्यवस्थापनका लागि निकै उपयोगी भएको बताएकी छिन् । मानिसमा सामाजिक, आर्थिक, शैक्षिक वा विविध पारिवारिक कारणबाट निरन्तर उत्पन्न हुने नकारात्मक मनोभावना र तनावले मानसिक सकस (स्टे«स) को अवस्था पैदा गर्छ, त्यसवेला निराशाले छोपेर मानिसलाई एक्ल्याउने गर्छ र कतिपयको जीवनलाई दुःखान्त जोखिम (आत्मदाह) तर्फ लैजान्छ पनि । यसर्थ, मानसिक रोगीलाई यस्तै हरियो जीवन पद्धतिसँगैसँगै थप सामाजिक उपचारमा अन्तरघुलन गराई प्राकृतिक चिकित्साका माध्यमबाट सकारात्मक सोच बलियो बनाई मनोरोग नियन्त्रण गर्न यो विधि औँल्याइएको छ ।
तनाव नियन्त्रणका प्रभावकारी उपाय
समग्र समाजलाई मनोविकार र तनावजनित अवस्थाबाट छुट्कारा दिलाउन एवं मानिसमा खुसी तथा हाँसो ल्याउन प्राडा क्रिस्टियन मेकनले निम्नानुसार दशवटा सरल र व्यावहारिक अभ्यासमा जोड दिएकी छिन्, जो मानसिक स्वास्थ्यका लागि निकै प्रभावी सावित भएका छन् । यसर्थ, हामीले पनि यसलाई व्यावहारिक प्रयोगमा ल्याउन सक्छौँ । उनको यो परामर्श हाम्रा मनोचिकित्सकलाई पनि उपयोगी होस् भन्ने हेतुले यहाँ उल्लेख गरिएको छ ।
आत्म–नियन्त्रण विधि (टेक कन्ट्रोल) : यसमा मानिसलाई धैर्यशील हुन सिकाइन्छ । जहाँ हडबड नगर्न, नआत्तिई बस्न र धेरै दौडधुप नगर्न प्रेरणा दिइन्छ । कतिपयले यो विधि पतञ्जलीको योग र विपश्यना ध्यानसँग मिल्दोजुल्दो पनि भनेका छन् ।
बिजोर अंक गन्ने विधि (क्याल्कुलेट अड डिजिट) : यसमा बिरामीको ध्यानलाई चोट परेको कुराभन्दा बाहिरी कुरामा आकर्षित गर्न बारम्बार बिजोर अंक गणना गर्न लगाइन्छ । खासगरी निद्रा नलाग्ने अवस्थामा उल्टो अंक गणना गर्दा लाभ पुगेको देखिएको छ ।
खाजा व्यवहारमा परिवर्तन : यसमा बिरामीलाई फलफूल खुवाउने अनि ओखर, बदाम, फर्सीको बियाँ आदि खान जोड दिइन्छ ।
साइक्लिङ गर्ने : यसमा बिरामीलाई साइकल यात्रामा लैजाने, डुलाउने र टहलाउने गरिन्छ ।
पप्पी फ्रेन्डसिप : यसमा पन्ध्र वर्षमुनिका बच्चालाई कुकुरसँग मित्रता गर्न सिकाइन्छ, जो निकै लाभदायी देखिन्छ । पप्पीले उनीहरूको ध्यान अन्यत्र मोड्ने र शारीरिक गतिशीलता पनि बढाइदिने गर्छ ।
टेक अ कप अफ टी (एक कप चिया खाऔँ) : यो विधिमा बिरामीसँगै बसेर मिठामिठा गफ गर्दै चिया खाने गरिन्छ । जसले गर्दा उनीहरूमा बलियो आत्मविश्वास पैदा गर्छ ।
जंगल हिँडाइ : यसमा बिरामीलाई सकेसम्म वनजंगल र रुखबिरुवा भएको ठाउँमा हिँडाउने गरिन्छ ।
प्ले भिडियो गेम : सिनेमा हेर्ने र भिडियो गेम खेल्ने कार्य पनि यसवेला उपयोगी देखिएको छ ।
प्री–बाइयोटिक सेवन गर्ने : कतिपय खानेकुराले आमाशय र पेटमा सकारात्मक कार्य गर्ने ब्याक्टेरिया पैदा गर्छन्, जो पाचनयन्त्रका लागि सहजीकरण गर्ने हुन्छन् । जस्तै– दही, मही, केरा, लसुन, कुरिलो आदिको सेवन यसवेला अत्यन्त लाभदायी हुन्छ ।
जंगल स्नान, हरित अस्पताल र फाइदा
‘हेड टु द उड’ अभियान चलाइरहेका चिकित्सकले जंगल स्नानबाट हुने शारीरिक र मानसिक फाइदा अतुलनीय भएको देखिएको हुँदा सहर बजार र अति आबादीवाला गाउँठाउँमा अधिक रुखवृक्ष तथा वनक्षेत्र बनाउन सुझाव दिएका छन् । खेलकुद मैदान र पार्कमा प्राचीन रुख (जस्तै– पीपल, वर, देवदार, समी, अशोक, जामुन, ओखर, रानी सल्लो आदि) रोपण गर्दै सुकेका रुख र काठका अर्धकट्टी स्टम्पेज (मुडा) गाड्न प्राथमिकता दिन सुझाएका छन् । सहरमा रहेका पुराना रुख काट्ने, मास्ने र जंगल फँडानीजस्ता काम पटक्कै नगर्न पनि सुझाव दिएका छन् । बेलायतमा पार्कभित्रको ऐतिहासिक रुख काटेको एक मानिसलाई त्यहाँको अदालतले एक रुखबराबर ६५ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सुनाएको घटना हामीले पनि सुनेका छौँ नै । यसर्थ, प्रकृति, रुख, वनजंगल, निकुञ्ज, आरक्ष, वरपीपल, चौतारी आदि अहिले हरित अस्पताल (ग्रिन हस्पिटल) र उपचार कक्षका रूपमा प्रयोग हुँदै छन् । त्यसैले रुखबिरुवाको महŒवलाई हामीले स्वास्थ्य प्रवद्र्धन नीतिसँग पनि जोडेर लैजानुपर्छ । डर्बी विश्वविद्यालयका वैज्ञानिकले जंगल स्नानका सन्दर्भमा गरेको चिकित्सकीय अध्ययन, प्रयोगात्मक पुस्ट्याइँ र सकारात्मक नतिजाबारे पनि थप जानकारी निम्न छन् :
कोर्टिसोल हर्मोन नियन्त्रण हुनु : सप्ताहान्तमा कम्तीमा पनि दुई घण्टाका दरले जंगलभित्र हिँड्ने, बस्ने, खेल्ने दौडने, मुढाहरूमा लुटपुटिने, रुख चढ्ने, रुखका बोक्राको बास्ना लिने, पात सुँघ्ने, रुखलाई अंकमाल गर्नेेजस्ता क्रियाकलापमा समावेश भएका पचास व्यक्तिको मुटुको धड्कन जाँच गर्दा २२ प्रतिशत धड्कनको तीव्रता घटेको पाइयो । अनि ती व्यक्तिको कोर्टिसोल स्तर एकतिहाइ कम हुन गएकोसमेत देखियो । यो नतिजा एक साताको मात्रै हो । यदि यो समय बढाउन सकियो भने मुटुको धड्कन घट्ने प्रक्रिया ३०–४५ प्रतिशतमा ओराल्न सकिन्छ भनी विज्ञहरूले स्विकारेका छन् । एर्डनालिन हर्मोनभन्दा कोर्टिसोल हर्मोनको मानसिक तनाव उत्पन्न गराउन मुख्य भूमिका रहने हुँदा चिकित्सकहरू यसको व्यवस्थापन जंगल हिँडाइ र फरेस्ट बाथिङबाट घटाउन सकिएको देखेर अति खुसी देखिन्छन् ।
इम्युन प्रणाली उन्नत बनाउने : निरन्तरजसो जंगल स्नान गर्ने व्यक्तिमा इम्युनिटी सिस्टम (रोग प्रतिरोधी प्रणाली) बलियो भएको देखियो । जब मानिस जंगलनजिक जान्छन्, त्यसवेला रुखहरूले फाइटोन्साइड र साइटोकिन भन्ने रासायनिक केमिकल छोड्ने गर्छन् । फाइटोन्साइड एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुणजन्य हुन्छन्, जसले मानिसको शरीरमा प्रवेश गरी रगतमा सेता रक्तकोष (डब्लुबिसी र टी सेल) वृद्धि गर्छ, अनि यसले ट्रमा सेल र भाइरस सेललाई खान्छ । फलस्वरूप व्यक्तिको इम्युन प्रणालीमा असीमित रूपले बढोत्तरी हुन्छ । यसरी नै साइटोकिन प्रोटिनले एन्टी इन्फेल्मेसन गुण पनि बढाउँछ र मानिसलाई पोल्ने दुख्ने समस्या हुँदैन । फलस्वरूप उनीहरूमा रातको निद्रा राम्ररी लगाउँछ । यसर्थ बुढापाकाले भनेजस्तो जंगल घुमेर आउँदा राम्रो निद्रा पर्ने कारण यही रहेछ ।
प्रतिक्यान्सर लाभ : जापानी वैज्ञानिकले जंगल बाथ गरेका व्यक्तिको रगत परीक्षण गरेर पनि हेरे । यसरी हेर्दा उनीहरूको रगतमा अक्सिजनस्तर राम्रो त पाइयो नै, साथै यसमा क्यान्सर हुनबाट जोगाउने र रोकथाम गर्ने विशिष्ट प्रोटिनको मात्रा ५० प्रतिशतले बढेकोसमेत फेला पारेका छन् । यो निकै उल्लेखनीय लाभ मानिएको छ । खासगरी जंगल बाथका वेला एसिपी (एन्टिक्यान्सर पेप्टाइडहरू– एचएटी–सी तथा आर लाइकोसिन–१ आदि) प्रोटिनको वृद्धिले गर्दा ट्युमर सेल फैलिनबाट रोकथाम भएको देखिएको छ । प्रतिक्यान्सर लाभका लागि पनि जंगल बाथ उचित देएिको छ ।
शारीरिक तन्दुरुस्तीको लाभ : जंगल बाथको अर्को लाभ भनेको शारीरिक स्वस्थता त हो नै । यसवेला शारीरिक अभ्यास पनि हुने भएकाले लिपिड लेभल (कोलेस्टोरोल) नियन्त्रण भई सुगर, प्रेसर र मोटोपन त निवारण हुने नै भयो, त्यसमाथि फिजिओलोजिकल मेटाबोलिज्म राम्रो हुन गई यसले शारीरिक तन्दुरुस्ती पनि दिलाउँछ, अनि नसाहरू र स्केलेटल मांसपेशी पनि सुदृढ गर्छ ।