रोक्नुपर्छ पथप्रदर्शक पलायन

पथप्रदर्शकहरूको हितका लागि राज्यले जति ध्यान दिनुपर्ने हो, त्यो दिन सकेको छैन

अन्वेषण अधिकारी अन्वेषण अधिकारी
शनिबार, १२ जेठ, २०८१
डिजिटल संस्करण

नेपालमा चार सय १९ वटा हिमाल आरोहणका लागि खुला छन् । अहिले झन्डै तीन हजारको हाराहारीमा पर्वतीय पथप्रदर्शक सक्रिय छन् । समग्र पर्यटन क्षेत्र नै खस्कँदो छ । हिमाल आरोहणमा जुन उत्साह हुनुपर्ने थियो, त्यस्तो देखिँदैन । सगरमाथामा रेकर्ड बनाएका आरोहीका सन्तानले नै माउन्टेन गाइडका रूपमा सक्रिय हुन रुचि देखाउँदैनन् । आठ हजारभन्दा माथिका १४ वटा हिमाल नेपालमा रहेको राष्ट्रिय तथ्यांक छ । यद्यपि, अन्तर्राष्ट्रिय जगत्ले यसमध्ये आठवटा हिमाललाई मात्र आठ हजार मिटरमाथिको मान्यता दिएको छ ।


सर्वोच्च शिखर सगरमाथा हाम्रोमै छ । तर, हाम्रा हिमालमा पर्यटकलाई आकर्षित गर्न जुन पहल गर्नुपर्ने थियो, त्यसमा कमी देखिन्छ । हाम्रा पर्वतीय पथप्रदर्शक विश्वमै चर्चित छन् । सर्वाधिक धेरै ३० पटक सगरमाथा चढ्ने कामिरिता शेर्पा, विश्वका आठ हजारभन्दा माथिका १४ वटै हिमाल दुईपटक चढ्ने सानु शेर्पा हाम्रै देशका हुन् । अन्य धेरै नेपाली आरोहीहरूले कीर्तिमान बनाएका छन् । तर, सरकारले उनीहरूलाई सम्मान दिन कन्जुस्याइँ गरेको देखिन्छ । आजका दिनसम्म त सरकारले माउन्टेन गाइडलाई लाइसेन्स पनि उपलब्ध गराउन सकेको छैन । योभन्दा ठूलो बिडम्बना अरू के नै होला । 


सबै खालका पथप्रदर्शक राज्यका अघोषित दूतजस्तै हुन् । पर्यटकहरूले पथप्रदर्शककै सहयोगमा घुम्न आएको देशबारे जानकारी लिने हुन् । उनीहरूसँग बिताएका हरेक क्षण पथप्रदर्शकले आफ्नो देशको भाषा, संस्कृति र इतिहासको प्रवद्र्धन गरिरहेका हुन्छन्  । तर, पथप्रदर्शकहरूको हितका लागि राज्यले जति ध्यान दिनुपर्ने हो, त्यो दिन सकेको छैन ।
नीति छैनअहिले नेपाल पर्वतारोहण संघ (एनएमए) र सिटिइभिटीको समन्वयमा एकवर्षे माउन्टेन गाइड कोर्स तयार हुँदै छ । यसमा पाठ्यक्रम बनाउने र लागू गर्ने काम सिटिइभिटी र प्राविधिक पक्ष एनएमएले हेरेको छ ।

माउन्टेन गाइडले उमेर छँदासम्म केही कमाउने भए पनि अवकाशपछिको जीवन सन्तोषजनक छैन । धेरै आरोही विदेश पलायन हुनुको कारण यही हो । यसलाई रोक्न पनि हामीले आरोहीको सेवा–सुविधा बढाउनुपर्छ । 


एनएमएमा राजेन्द्रबहादुर लामाको संयोजकत्वमा दाबातासी शेर्पा र मसहितको तीन सदस्यीय टिम छ । त्यसमा पनि मेरो नेतृत्वमा दाबाजी र रामकाजी तिवारीको टिमले प्राविधिक पाटो हेरिरहेको छ । हामीले यही कोर्स केही वर्षअघि तयार गर्न सकेको भए सायद, नेपाली गाइडहरूको अन्तर्राष्ट्रिय एक्सपोजर अझै बढी हुने थियो । नीति–निर्माण तहमा पनि हाम्रा विज्ञ आरोहीहरूको भूमिका बढाउने लक्ष्यसाथ यो कोर्सको डिजाइन भइरहेको छ । 


अहिले पर्यटन क्षेत्रको नीति–निर्माणमै पथप्रदर्शकको भूमिका नगन्यजस्तो छ । माउन्टेन गाइडको भूमिका शून्यजस्तै छ भन्दा पनि हुन्छ । टे«किङ गाइड, टुर गाइड, माउन्टेन गाइडलगायत कोर्स नेपालमा नभएका होइनन् ।एनएमएले सञ्चालन गर्ने प्रशिक्षणका लागि विदेशबाट समेत मानिसहरू आउँछन् । तर, छोटो अवधिको कोर्स भएकाले यसले प्राविधिक पक्षमा मात्रै जोड दिएको छ । 


हामीसँग आफ्नो पाठ्यक्रम नभएकाले यी कोर्स गर्दा सैद्धान्तिक रूपमा फ्रान्सको नेसनल स्कुल अफ स्कि एन्ड माउन्टेनरिङ (इन्सा)ले तयार पारेको पाठ्यक्रम नै पढाइन्छ । तर, हाम्रा हिमाल र युरोपका हिमालहरू फरक छन् । चढ्ने तरिका र चुनौती फरक छन् । त्यहाँ साना हिमाल छन् । 


हामी त हिमालको राजधानी नै भयौँ । आफ्नै पाठ्यक्रम तयार गर्दा विदेशीहरू यहाँ पढ्न आउने सम्भावना बढ्ने हाम्रो अनुमान छ । हामीलाई  आरोहणमा विश्वले पत्याएको छ । हामीसँग आफ्ना अनुभव छन्, हिमालसँगको समीप्यता र आत्मीयता छ । 


आठ हजार मिटरभन्दा माथिका हिमाल भएका देशमध्ये चीन र पाकिस्तानमा पनि आरोहणका लागि नेपाली पथप्रदर्शकलाई नै सहयोगीका रूपमा लैजाने गरिन्छ । युरोपका हिमालहरू आरोहणमा पनि ठूलो संख्यामा नेपालीहरू जान्छन् । हामीले अब आफ्नो सीप र अनुभवलाई डकुमेन्टेसन गरेर प्राज्ञिक तहमा पनि लैजान जरुरी छ । जुनदेखि सिटिइभिटीको एकवर्षे कोर्स लागू गर्ने गरी पहल भइरहेको छ । हाम्रो लक्ष्य आरोहणको तालिमका लागि नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने भन्ने हो । नेपालका आरोहीहरूको विज्ञतालाई भरपुर उपयोगमा ल्याउने भन्ने हो । कामिरिता शेर्पाले जसरी सगरमाथालाई कसले बुझेको होला ? वा सानु शेर्पालाई आठ हजारभन्दा माथिका हिमालबारे जुन अनुभव छ, त्यो अरू कोसँग होला ?


यस्ता धेरै कीर्तिमानी व्यक्तिको विज्ञता र अनुभवलाई उपयोगमा ल्याउने गरी नयाँ एकवर्षे कोर्स बनाइरहेका छौँ । नयाँ पुस्ताले उहाँहरूसँग व्यावहारिक कठिनाइबारे धेरै बुझ्न सक्छ । भविष्यमा तीनवर्षे डिप्लोमा कोर्स (प्लस टुसरहको) सञ्चालन गर्ने योजना बनाइरहेका छौँ । डिप्लोमा कोर्समा अनिवार्य विषयसहित सैद्धान्तिक पक्ष पनि पढाइ हुनेछ । त्यसपछि ब्याचलर र थप अध्ययन गरेर आफूलाई प्राज्ञिक तहसम्म पुर्याउने ढोका खुल्नेछ । तसर्थ, यो तालिम गाइडको सीप र अनुभवलाई शैक्षिक रूपमा जोड्ने अवसर हो । हाम्रा गाइडसँग भविष्यमा अनुभवसँगै प्रमाणपत्र पनि हुनेछ । उनीहरूले विदेशका विश्वविद्यालयमा वा ट्रेनिङ सेन्टरमा गएर लेक्चरर वा विज्ञका रूपमा आफ्नो अनुभव साझा गर्न सकून् भन्ने लक्ष्यले कोर्स डिजाइन हुँदै छन् । 

चुनौती
हिमाल आरोहण आफैँमा चुनौतीपूर्ण छ । ज्यानको बाजी राखेर हिँड्नुपर्छ । तर, सामाजिक सुरक्षाको ग्यारेन्टी छैन । सरकारले पथप्रदर्शकसँग आयको १५ प्रतिशत कर लिन्छ । जब कि, रोजगारी गर्नेहरूले एक प्रतिशत टिडिएस मात्रै तिरे पुग्छ । यो कर कम हुनुपर्छ भन्ने हाम्रो माग हो । 


माउन्टेन गाइडले उमेर छँदासम्म केही कमाउने भए पनि अवकाशपछिको जीवन सन्तोषजनक छैन । धेरै आरोही विदेश पलायन हुनुको कारण यही हो । यसलाई रोक्न पनि हामीले आरोहीहरूलाई थप एक्सपोजर उपलब्ध गराउन जरुरी छ । उनीहरूको सेवा–सुविधा पनि बढाउनुपर्यो । 

सबै आरोहीलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्न सकिन्छ ? पेन्सनको व्यवस्था गर्न सकिन्छ कि ? कीर्तिमान आरोहीहरूलाई भत्ता उपलब्ध गराएर राख्न सकिन्छ कि ? यी विषयमा सरकारले सोच्नुपर्यो । अग्रजहरूले धेरै दुःख गरेका छन् । तर, अवकाशपछि कसैले सोधपुछ गर्दैन । आय पनि हुँदैन । 


लिडरसिप तालिम, आफ्ना अनुभव सेयर गर्ने, लेक्चर दिनेलगायत विभिन्न काममा संलग्न गराएर उनीहरूलाई रिटायर्ड लाइफमा पनि सक्रिय गराउने हो भने देशले पनि धेरै पाउँछन् । उनीहरू पनि खुसी हुन्छन् । अहिले त यहाँका कीर्तिमानी व्यक्ति अमेरिका पलायन भएर जीविकोपार्जन गर्नुपर्ने अवस्था छ । अमेरिका नै गए पनि पर्वतारोहणमै लाग्न मिल्ने होस् न । प्राविधिक पाटो र क्षमता त उहाँहरूसँग छँदै छ, सँगै सैद्धान्तिक जानकारी र प्रमाणपत्र पनि होस् । 


हाम्रा अग्रजहरूले आफ्ना गुनासा र सल्लाहलाई व्यक्तिगत तवरले कुनै सुनुवाइ नभएपछि हामी संगठित रूपमा अघि बढेका हौँ । माउन्डेट गाइड एसोसिएसन अफ नेपाल खुलेको तीन वर्षमा हाम्रा आवाजलाई सम्बन्धित ठाउँमा पु¥याउने गरी केही कामहरू भएका छन् । गाइडहरूको हकहितका लागि धेरै गर्न बाँकी नै छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार