चारैतिर जंगलले घेरिएका सुन्दर र रमणीय घाँसे मैदान । घाँसे मैदानसँगै जोडिएका खापर दह, सहस्रलिंग, डाँफेकोट, खप्तडबाबाको आश्रम, केदार ढुंगा, नागढुंगा, खप्तड दह, गणेश मूर्ति आदि धार्मिक र पर्यटकीय महत्वका स्थलहरू । फेदीमा पवित्र तीर्थस्थल त्रिवेणी धाम । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण फाँटहरूसँगै मनोरम पर्यटकीय, धार्मिक तथा पुरातात्विक स्थलहरूले खप्तड पुग्ने जोकोहीलाई मोहित मात्र तुल्याउँदैन, त्यहाँ पुग्न घन्टौँ हिँड्दा लागेको थकान पनि मेटिएको महसुस हुन्छ ।
सुदूरपश्चिमको प्राकृतिक र धार्मिक पर्यटनको प्रमुख गन्तव्य हो खप्तड । खप्तड प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र छैन, यसको प्राकृतिक, धार्मिक र पौराणिक महत्व पनि उत्तिकै छ । खप्तडभित्रका धार्मिक एवम् पुरातात्विक स्थलहरूमा ढुंगामा कुदिएका मूर्ति, हातहतियारका चित्रहरू देख्न पाइन्छ । यहाँ चारैतिर जंगलले घेरिएका २२ पाटन र ५२ थुम्का (दह) छन् । त्रिवेणी धाम, खापर दह, सहस्रलिंग, डाँफेकोट, खप्तडबाबाको आश्रम, केदार ढुंगा, नागढुंगा, गणेश मूर्तिजस्ता स्थलले खप्तडको सुन्दरता र महिमा मात्र बढाएको छैन, यी धार्मिक र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन् । त्रिवेणी, खप्तड दह, सहस्रलिंग आदि स्थान हिन्दू धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हुन् ।
गंगा, जमुना र सरस्वती नदीको संगमस्थल हो त्रिवेणी धाम । खप्तडबाबाको आश्रम, सहस्रलिंग, खापर दह, डाँफेकोट, सीतापाइला, घोडादाउने घुम्नैपर्ने महत्वपूर्ण ठाउँहरू हुन् । खप्तडमा पिरामिड आकारका पर्वत शृंखलाहरूले जोकोहीलाई आकर्षित गर्छ । यिनै स्थलहरूले खप्तडलाई अन्यन्तै सुन्दर र मनमोहक तुल्याएको छ । त्यसैले त खप्तडलाई ‘धर्तीको स्वर्ग’को उपमा पनि दिइन्छ र खप्तड पुग्दा ‘स्वर्गीय’ आनन्दको अनुभूति हुन्छ ।

गत महिना भएको आध्यात्मिक सम्मेलनमा सहभागी हुन सयौँ पर्यटक खप्तड पुगे । त्यही वेला पहिलोपटक खप्तड पुगेका डडेल्धुरा अमरगढी नगरपालिका–५ का तारा अवस्थीलाई खप्तड आफूले पढेको, सुनेको र तस्बिरमा देखेकोभन्दा कैयौँ गुणा सुन्दर लाग्यो । खप्तड पुग्दाको अनुभूति र यहाँको सुन्दरता शब्दमा मात्र व्यक्त गर्न नसकिने उनी बताउँछन् । ‘खप्तड जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ रहेछ । प्रकृतिको वरदान नै रहेछ,’ अवस्थीले सुनाए, ‘खप्तडको सुन्दरता र यहाँ पाइला टेक्दा हुने आनन्दको अनुभूति न शब्दमा व्यक्त गर्न सकिन्छ न तस्बिरमै देखाउन मिल्छ ।’
मौसमअनुसार खप्तडले आफ्नो रूप पनि फेर्छ र खप्तडका हरेक रूपहरू उत्तिकै सुन्दर हुन्छन् । बर्खामा ढकमक्क फुलेका भुइँफूलले पाटनहरू ढाकेका हुन्छन् । रंगिबिरंगी गुराँस फुल्ने वेला खप्तडको सुन्दरता वर्णन गरेर सकिन्न । हिउँदमा खप्तड हिउँले ढपक्कै छोपिन्छ । हिउँ खेल्न रुचाउने पर्यटकका लागि फागुन र चैत उपयुक्त समय हो, तर अत्यधिक बाक्लो हिउँ परेका वेला भने त्यहाँ पुग्न कठिन हुन्छ । खप्तड क्षेत्रमा भुइँफूल फुलेको दृश्य निकै मनमोहक हुन्छ । यस्तो दृश्य हेर्न साउन–भदौतिर खप्तड पुग्नुपर्छ । चैत–वैशाखतिर रंगिबिरंगी गुराँस फुलेका देख्न पाइन्छ ।
मौसमअनुसार खप्तडले आफ्नो रूप पनि फेर्छ र हरेक रूपहरू उत्तिकै सुन्दर हुन्छन् । बर्खामा ढकमक्क फुलेका भुइँफूलले पाटनहरू ढाकेका हुन्छन् । रंगिबिरंगी गुराँस फुल्ने वेला खप्तडको सुन्दरता वर्णन गरेर सकिन्न । हिउँदमा खप्तड हिउँले ढपक्कै छोपिन्छ ।
खप्तडको मनमोहक सुन्दरतासँगै त्यहाँबाट अपी–सैपाल हिमाललगायत सुन्दर हिमशृंखलाहरूको पनि दृश्यावलोकन गर्न पाइन्छ । घोडादाउने पाटन घोडाका बथान चरिरहेका दृश्य आकर्षक देखिन्छ । खप्तडको यस्तै सुन्दरताले एकपटक त्यहाँ पुगेकालाई पुनः आकर्षित गर्छ । खप्तडको त्यही सुन्दरताको आकर्षणले काभ्रेको पनौती नगरपालिकाका ७० वर्षीय चन्द्रबहादुर खड्कालाई ४२ वर्षपछि पुनः खप्तड पुर्यायो । कर्मचारी भएका वेला उनी २०३८ सालतिर खप्तड पुगेका रहेछन् । उनलाई खप्तड स्वर्गबाट खसेको टुक्राजस्तो लाग्छ । खप्तडको घोडादाउने पाटनमा पाइला टेकेपछि बझाङको बाटो भएर पाँच घन्टाको कठिन हिँडाइको थकान मेटिएको उनले सुनाए ।
पनौतीका पूर्वमेयर खड्का खप्तडको यही सुन्दरताले वृद्धावस्थामा पनि आफूलाई यहाँ डोर्याएर ल्याएको बताउँछन् । ‘वरिपरि देवताका स्थल, धुपीसल्लाका घना जंगल, बीचबीचमा रहेका पाटनहरू । खप्तड साँच्चै स्वर्गबाट खसेको टुक्राजस्तो देखिन्छ । पाटन हेर्दैमा मान्छे मन्त्रमुग्ध हुन्छन् । भावुक मान्छेहरू विभिन्न हिसाबले सोच्छन्,’ खड्काले सुनाए, ‘यहाँ पुग्दाको आनन्द बयान गर्नै सकिन्न ।’

खप्तड जैविक विविधताका दृष्टिले पनि निकै महत्वपूर्ण छ । अध्ययनअनुसार खप्तडमा दुई सय तीन प्रजातिका बहुमूल्य जडीबुटी र पाँच सय ६७ प्रजातिका फूलहरू पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चिराइतो, चुत्रो, झ्याउँ, पदमचाल, टिमुर, सालम, पन्जाजडी, सालम्मी, भोजपत्र, श्री काकोली, डोलु, पाँचऔँले र कालकुट विषजस्ता अमूल्य जडीबुटी पाइन्छन् । नेपालमा पाइने आठ सय ५० प्रजातिका चराचुरुंगीमध्ये खप्तडमा दुई सय ६० प्रजातिका चराचुरुंगी पाइने अनुमान गरिन्छ । विश्वकै दुर्लभ जातिमा पर्ने हरियो छेपारो खप्तडमा पाइन्छ । बाघबुट्टे निगालो खप्तडबाहेक अन्यत्र पाइँदैन ।
रतुवा, मृग, कस्तुरी, घोरल, चितुवा, रातो बाँदर, डाँफे, मुनालजस्ता जनावर र पशुपन्छीले विचरण गर्ने स्थल पनि हो खप्तड । चार दशकदेखि राष्ट्रिय निकुञ्जका रूपमा खप्तडलाई संरक्षित गरिँदै आएको छ । २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको खप्तड सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको संगमस्थलका रूपमा रहेको छ । खप्तडको पूर्वमा बाजुरा, पश्चिममा डोटी, उत्तरमा बझाङ र दक्षिणमा अछाम पर्छ ।
धार्मिक महत्व
खप्तडका बारेमा गरिएका विभिन्न शोध र अनुसन्धानात्मक आलेखमा उल्लेख गरिएअनुसार स्कन्दपुराणको मानख खण्डमा खप्तडलाई खेचराद्रि पर्वत भनिएको छ । खेचराद्रि शब्द अपभ्रंश हुँदै खप्तड शब्दको उत्पत्ति भएको मानिन्छ । पौराणिक कथनले खप्तड देवीदेवताको क्रीडाक्षेत्र र ऋषिमुनिहरूको तपोभूमिका रूपमा रहेको देखिन्छ । सत्य युगमा भगवान् शिव र पार्वती विवाह–सूत्रमा जोडिएपछि मधुमास यसै रमणीय क्षेत्रमा बिताएको किंवदन्ती प्रचलित छ ।
त्यस्तै त्रेतायुगमा भगवान् रामले खप्तडमा भगवान् शिव र पार्वतीको पूजाआराधना गरेको, शिवजी राँगाभैंसीको रूपमा खप्तडमा विचरण गरिरहेका वेला पाण्डव आउँदा केदार ढुंगामा परिणत भएको प्रसंग पनि खप्तडका बारेमा गरिएका विभिन्न शोध र अनुसन्धानात्मक आलेखमा पाइन्छ । कुरुक्षेत्रमा भएको गोत्रहत्याको पापमोचन गरी कुलको उद्धारका लागि पाण्डव खप्तड पर्वतमा गई शिवजीको दर्शन गर्न खोजेको प्रसंग उल्लेख छ । केदारढुंगाको उत्पत्ति भगवान् शिवसँग जोडिएको पौराणिक कथन रहेको खप्तडमा २०३८ सालदेखिका पूजारी धु्रवराज जोशी बताउँछन् । त्रिवेणी धाममा नदीमा नुहाएर त्रिवेणी धामको मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।
खप्तडको पवित्र भूमिमा ५० वर्ष बिताएका खप्तड बाबाले त्यहाँ कठोर तपस्या गरेका थिए । त्रिवेणी धामबाट माथि खप्तडबाबाको आश्रम छ । कुटीबाहिर खप्तडबाबाको प्रतिमा राखिएको छ भने भित्र उनले प्रयोग गर्ने सामान हेर्न पाइन्छ । जेठ महिनाको शुल्क दशमीमा खप्तडमा गंगादशहराको मेला लाग्छ । त्यसवेला सुदूरपश्चिमसँगै देशका विभिन्न स्थानबाट पर्यटक खप्तड पुग्छन् ।
खप्तड पुग्न डोटीको झिग्राना, अछामको साँफे र चौखुट्टे, बझाङको तमेल र बाजुराको काँडा भएर पैदलमार्ग जार्नुपर्छ । बझाङको तमेल–दारुगाउँ–ल्वाखड हुँदै र बाजुराको काँडा भएर जाने बाटो तुलनात्मक रूपमा छोटो पर्छ । डोटीको सिलगढी–झिग्राना भएर जाने बाटो पर्यटकले धेरै प्रयोग गर्ने बाटो हो । खप्तड जानलाई झिग्राना, दारुगाउँ, साँफे, चौखुट्टे र काँडासम्म गाडीमा जान सकिन्छ । सुदूरपश्चिमका तराईका प्रमुख सहर धनगढी, अत्तरिया, महेन्द्रनगरलगायत ठाउँबाट सार्वजनिक यातायातमा यी ठाउँ पुग्न सकिन्छ । त्यहाँबाट पैदलमार्ग हिँड्नुपर्छ ।