‘हनी–हन्टर’लाई पछ्याउँदा

दिपेन्द्र ढुंगाना दिपेन्द्र ढुंगाना
शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

कहालीलाग्दो भिरमा डोरीको सहाराले झुन्डिँदै भिरमौरीको मह काढिरहेको दृश्य हेर्दै डरलाग्दो देखिन्थ्यो । भिरको कोप्चाबाट मह काढिसकेपछि भुइँमा नझरोस् भनेर छेउमै चोयाको टोकरी राखिएको थियो । हेर्नेहरू आत्तिएका थिए, तर ‘हनी–हन्टर’हरू भने खुसी देखिन्थे ।

जेठको अन्तिम साता भोटेकोसी किनारको जोमभिरमा भिरमह काढिरहेका थिए, विक्रम खड्का । उनीसँगै थिए पाल्देन शेर्पा । उनीहरूसँगै थिए ६ जना अन्य सहयोगी पनि । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका विक्रमले यस्तै कठिन भिरमा मह काढ्न थालेको २६ वर्ष बितिसक्यो । उनी हरेक सिजनमा मह काढ्न यस्तै भिर चढ्छन् । विक्रमको यो पुख्र्यौली पेसा भने होइन । उनलाई भिरबाट मह काढ्ने काम लेकतिर गोठ बस्न जाँदा तामाङ साथीहरूले सिकाएका थिए । सुरुमा साथीहरूसँग रमाइलोका लागि मह काढ्न जाँँदाजाँदै बिस्तारै उनले यसैलाई पेसा बनाए । उनी भन्छन्, ‘भिरमा चढेर मह निकाल्ने काम धेरै गाह्रो छ । जहान परिवारले नजानू भन्छन् । तर, मलाई हरेक सिजनमा मह नकाढी चित्तै बुझ्दैन ।’

भिरमह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । जंगलमा थुप्रैपटक समस्या भोग्नुपरेका अनुभव छन् उनीसँग । कतिपटक उनका साथीहरू जंगलमै बिरामी परेर बसेका पनि छन् । मह धेरै खाँदा पखला लाग्ने, वाकवाकी लाग्ने, मात्नेसमेत हुन्छ । त्यस्ता घटनाले उनलाई सजग गराइरहन्छन् ।

भिरमा देखिएका सबै चाकामा मह हुँदैन । कैयौँपटक भिरमा चीिसकेपछि बिनामह फर्किनु सामान्य हो । मह नपाउँदा पनि उनी निरास हुँदैनन् । उनी भन्छन्, ‘अहिले महको लोभमा मौरी नै विनाश हुने गरी जंगलमा आगो लगाइदिने धेरै छन् । जसले गर्दा भिरमा मौरी बस्नै आउँदैनन् । यो राम्रो काम होइन ।’

औषधिजन्य गुण भएको भिरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भिरमौरीको मह बिक्री हुने गरेको खड्का सुनाउँछन् । तर, बजारको मागअनुसार आपूर्ति गर्न भने त्यति सहज छैन । हरेक वर्ष डोरीको सहारामा भिरमा चढ्नुपर्छ । उनी भन्छन्, ‘यसरी दुःख गरेर मह निकाल्नेहरूको संख्या कम हुँदै छ । पहिलेकोजस्तो अहिले मह पनि पाउन छाड्यो ।’

उनीहरूको समूहले जोमभिरलगायत नजिकैका अन्य ठाउँमा वर्षौंदेखि मह काढ्दै आएका छन् । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जोमभिर सिन्धुपाल्चोक जिल्लाको चाकु भन्ने ठाउँबाट करिब २० किमि टाढा पर्छ । भिरमह काढ्न उनीहरूले संरक्षण क्षेत्र र स्थानीय निकायबाट अनुमति लिनुपर्छ । खड्का र शेर्पाले भिरमह काढ्ने कामसँगै जडीबुटी संकलन र बिक्री गर्ने काम पनि गर्दै आएका छन् । भिरमह काढिरहेका वेला विदेशी पर्यटकसमेत आएर रमाइलो मान्दै हेर्ने गरेको अनुभव पनि उनीहरूसँग छ । ‘हनी हन्टिङ’लाई साहसिक पर्यटनको रूपमा समेत विकास गर्न सके स्थानीयवासीले त्यसबाट फाइदा लिन सक्ने देखिन्छ । हाल भिरमह अमेरिका, दक्षिण कोरिया, जापान, चीनलगायत देशमा निर्यात हुने गरेको उनीहरूले सुनाए ।

सम्पादकको रोजाइ

सुझावित समाचार