धोबीखोलाले बग्न पाउनुपर्छ

यो खोलाको मुहान बुढानीलकण्ठआसपास पुग्ने हो भने सफा पानी बगेको देख्न सकिन्छ

संजित परियार संजित परियार
शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

कुनै वेला यो खोलाको नाम रुद्रमती थियो । अचेल रुद्रमतीको नाम फेरिएर धोबीखोला भएको छ । बागमती नदीको यो सहायक खोला काठमाडौंबाटै सुरु हुन्छ र काठमाडौंमै टुंगिन्छ । काठमाडौंको शिवपुरी पहाडबाट निस्कने ससाना झरना र खोल्सीहरूबाट यो खोला बन्छ ।

धोबीखोलाको मुहान, बुढानीलकण्ठ


धोबीखोला भन्नेबित्तिकै एउटा फोहोर खोलाको बिम्ब हाम्रो दिमागमा आइपुग्छ । तर, आधा घन्टाको दूरीमा यो खोलाको मुहान बुढानीलकण्ठआपपास पुग्ने हो भने त्यहाँ सफा पानी बगेको देख्न सकिन्छ । शिवपुरीबाट रसाएको कञ्चन पानी बुढानीलकण्ठको रुद्रेश्वर मन्दिर वरपरसम्म सफा देखिन्छ । पानी देख्दै पिउन मन लाग्छ । चुन्नीखेलआसपास किसानहरूले पालेका हाँसहरू मज्जाले पानीमा डुबुल्की मारिरहेका देखिन्छन् । 

बुढानीलकण्ठ रुद्रेश्वर मन्दिरआसपासको क्षेत्र

तर, जतिजति बाक्लो बस्ती छिचोल्दै खोला अघि बढ्छ, खोलाको कञ्चन पानीले आफ्नो स्वरूप गुमाउँदै–गुमाउँदै जान्छ । खोला वरपर करिडोर निर्माण गरिएको छ । बस्ती चिटिक्क परेको देखिन्छ । बोट–बिरुवा पनि छन् । तर, खोलामा भने लेदो बग्छ । हेर्दा लाग्छ, धोबीखोला अन्तै गायब भइसक्यो । यो कतैबाट आएको अर्कै खोला हो । 

चाबहिलस्थित भत्केको पुलनजिकैको धोबीखोला

जति तल आइपुग्यो उति लाग्छ, यो शिवपुरीबाट रसाएको धोबीखोला होइन, फोहोर फाल्ने डम्पिङ साइट हो । खोलाछेउछाउ फोहोरका थुप्रा यत्रतत्र देखिन्छन् । कति ठाउँमा त आधा फोहोर खोलामा छ, आधा सडकमा । बटुवाहरू नाक थुनेर हिँडेका हुन्छन् । फोहोर फालेको दिउँसो देखिँदैन । जब रात पर्छ, धोबीखोलाले सकिनसकी फोहोर बोक्नुपर्छ । कञ्चन पानी बग्ने खोलामा प्लास्टिकका पोकाहरू फालिन्छन् । ढलहरू मिसाइन्छन् । 

चुन्नीखेलका किसानले पालेका हाँस धोबीखोलामा खेल्दै

धोबीखोला सफाइ गर्ने भन्दै वेलावेलामा सरसफाइका अभियान पनि नचलेका होइनन् । अभियन्ताहरूले एकाधपटक खोला सफा पनि गरे । तर, खोलामा पानी बगेन, फोहोरको लेदो मात्रै बगिरह्यो । खोला सफा गर्न न स्थानीय जुटे, न कुनै संघ–संस्था नै, न जुटे सरकार नै ।

थापाथलीनजिकै बागमतीमा मिसिएको धोबीखोला

शिवपुरीबाट रसाएको कञ्चन पानी तलसम्मै बग्न पाए धोबीखोलाको सौन्दर्य नै फेरिन्थ्यो । खोलाको दुर्गन्ध हटेर सुन्दर भए सहरको सान बढ्ने थियो । त्यसैले नदी–खोलाले प्राकृतिक रूपमै बग्न पाउने अधिकार सहर विस्तार गर्ने बहानामा हनन गरिनुहुन्न । धोबीखोलाले बग्न पाउनुपर्छ । यसप्रति समयमै सबैको ध्यान पुगोस् । 

अनामनगर
बिजुलीबजारमा देखिएको धोबीखोला

सम्पादकको रोजाइ

सुझावित समाचार