कर्‍याङकुरुङ : मौसम परिवर्तनको सन्देशवाहक

टेक घर्ती मगर टेक घर्ती मगर
शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण

कर्याङकुरुङ आए काँक्राफर्सी रोपौँ
क
र्याङकुरुङ गए काँक्राफर्सी खायौँ

अहिले मौसमसम्बन्धी जानकारी उन्नत वैज्ञानिक प्रविधिले दिने गरेको छ । प्राचीन समयमा आधुनिक विज्ञानको सुविधा थिएन र पनि त्यसवेला कृषकले खेतीपातीसम्बन्धी जानकारी राख्थे । त्यति वेला विविध उपायले मौसमसम्बन्धी जानकारी हासिल गर्ने क्रममा चराको आवागमन पनि एक माध्यमका रूपमा रहेको थियो ।


यस भूखण्डमा परापूर्व कालदेखि कृषिकर्म नै प्रधान कर्मका रूपमा स्थापित थियो । कृषिकर्मलाई चाहिने एक महत्वपूर्ण तत्व भनेको पानी हो । पानीको आपूर्ति वर्षाको पानीमा निर्भर रहँदै आएको छ । त्यसकारण पनि कृषकलाई वर्षासम्बन्धी ज्ञानको अहं भूमिका हुन्छ । उक्त ज्ञानको सन्देश हाम्रा कृषकलाई कर्याङकुरुङको बसाइँसराइले दिन्थ्यो । कृषकहरू बालीनाली लगाउने र स्यहार्ने वेलामा तिनै कर्याङकुरुङको सन्देशलाई कुरी बस्थे ।


वर्षायाम सकिएर चिसो बढ्न थालेपछि, प्रजननस्थलमा अत्यधिक चिसो मौसम र पर्याप्त आहारको कमी हुन थालेपछि न्यानो, खुला, सुरक्षित र पर्याप्त आहारा भएको ठाउँ खोज्दै उत्तरबाट दक्षिणतिर कर्याङकुरुङहरू आउने गर्छन् । यस क्रममा वर्षायामको अन्त र हिउँद यामको सुरु भएको जनाउ दिएका हुन्छन् । त्यस्तै प्रजननस्थलतर्फ फर्किंदा वर्षायामको सुरु भएको संकेत गरेका हुन्छन् ।


घरपालुवा कुखुरा वा लुइँचेले कुखुरी काँ गर्दै हामीलाई बिहानै उठ, उज्यालो भयो भन्दै समय परिवर्तनको संकेत गरेझैँ कर्याङकुरुङले मौसम परिवर्तनको सन्देश दिएका हुन्छन् । जसका कारण नेपाली समाजमा कर्याङकुरुङलाई मौसम परिवर्तनको सन्देशवाहक पक्षीका रूपमा लिइन्छ ।


वसन्त ऋतुको सुरुवाततिर कर्याङकुरुङ दक्षिणबाट उत्तरतिर लाग्दा कृषकले काँक्रा र फर्सीका बीज रोप्छन् । अर्थात्, यो वेला बालीनाली लगाउने समय भएको हुन्छ । त्यस्तै शरद् ऋतुमा कर्याङकुरुङ उत्तरबाट दक्षिणतिर लाग्दा काँक्रा र फर्सी पाकेका हुन्छन् अर्थात् बालीनाली भित्र्याउने समय भएको हुन्छ । यसरी हाम्रो कृषिकर्मको चक्र मौसमअनुकूल अघि बढिरहँदा समयको जनाउ दिने सूचक भने कर्याङकुरुङ हुने गर्छ । त्यसैले नेपाली समाजले ‘कर्याङकुरुङ आए काँक्रा फर्सी रोपौँ, कर्याङकुरुङ गए काँक्रा फर्सी खायौँ’ भन्ने उखान चलाएको हुन सक्छ । 


पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ लाग्दा तापक्रम बढ्दै जाने, दिन लामा र रात छोट्टिँदै जान थाल्छन् । कर्याङकुरुङ हिउँदका करिब ६ महिना बिताएर दक्षिणबाट प्रजननस्थल उत्तरतर्फ लाग्छन् । त्यो वेला एसियाको यो भूखण्डमा कृषि गतिविधि तीव्रतर भइरहेको हुन्छ । वसन्त ऋतुको आगमनसँगै आकाशमा बादल धुम्मिएर पानी पर्न थाल्छ । अनि कृषकले अन्न बालीको बिउ रोप्ने समय आएछ भन्ने जानकारी पाउँछन् ।


पहाडी भेगका कृषकहरूले मुख्यतः मकै, कोदो, आलु, काँक्रा, फर्सीलगायत रोप्छन् । हिमाली भेगतिरका किसानको मुख्य अन्न फापर छर्ने वेला भएको हुन्छ । जुन वसन्त ऋतुमा लगाएर शरद् ऋतुमा भित्र्याइन्छ । भेडीगोठ र भैंसीगोठहरू बिस्तारै शीतल हावापानी र चरणको खोजीमा हिमाली खर्क एवं लेकतिर लाग्न थाल्छन् । विभिन्न सांस्कृतिक पर्व वसन्त पञ्चमी, महाशिवरात्रि र रंगहरूको पर्व फागुपूर्णिमाजस्ता पर्व यही समयमा पर्छन् । देशमा अन्नबाली लगाउने यामसँगै दोस्रो पर्यटकीय मौसमको सुरुवात भइसकेको हुन्छ, अर्थात् वसन्त ऋतुको । 


फेरि उत्तरबाट दक्षिणतिर जब कर्याङकुरुङ हुलका हुल जान थाल्छन्, सूर्य उत्तरायणबाट दक्षिणायन लागिसकेका हुन्छन् । जाडो बढ्दै जाने, रात लामो र दिन छोट्टिँदै जान थाल्छन् । पहाडी भेगका मुख्य अन्न बाली मकै, कोदो पाक्दै गरेका हुन्छन् र काँक्रा फर्सी पाकेर खानलाई पहेंलपुर अवस्थामा हुन्छन् ।हिमाली भेगमा पाकेको फापर भित्र्याउनलाई किसान जुर्मुराइरहेका हुन्छन् । तराईतिर धानको बाला झुलिसकेका हुन्छन् । लेकतिरबाट भेडीगोठ र भैंसीगोठहरू पनि बेंसीको न्याना ठाउँतिर ओर्लन थाल्छन् । मुलुकभरि शरद ऋतुको आगमनसँगै कृषिबाली भित्र्याउने याम सुरु भएको हुन्छ । अब वर्षा ऋतुको अन्त्य र हिउँदका कठ्यांग्रिने दिन आउन थालेछ भनेर बुझ्ने गर्छन् । खेताला र गोठालाहरूलाई यस विषयमा राम्रो ज्ञान हुन्छ ।


नेपालको आकाश भएर न्यानोपनको खोजीमा हजारौँहजार किलोमिटर दूरी पार गरी दक्षिण भारतसम्म पुग्ने कर्याङकुरुङको बसाइँसराइलाई विश्वका पर्यटकमाझ पुर्याउन सके देशले विदेशी मुद्रा आर्जन गर्न सक्छ । विश्वको अन्य भूभागमा देख्न नसकिने र हामीकहाँ देख्न सकिने कर्याङकुरुङको बसाइँसराइ अवलोकन तथा छायांकनको सम्भावना प्रचारप्रसार गरी देश विदेशबाट पक्षी अवलोकन गर्न आउने वातावरण सिर्जना गर्नुपर्छ । यसबाट विदेशी मुद्रा आर्जन र स्थानीयस्तरमा रोजगारी सिर्जना भई आर्थिक टेवा पुग्न सक्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार