२०२१ सेप्टेम्बरमा ‘कोलोसल’ नामक जैविक प्रविधि संस्थाले प्रजाति संरक्षण क्षेत्रमा अभूतपूर्व योजनाको घोषणा गर्यो । सो संस्थाले करिब दश हजार वर्षअघि लोप भएको भुत्लादार हात्ती (उल्ली म्यामथ) उत्तरी ध्रुवीय क्षेत्रमा पुनस्र्थापना गर्ने ‘डी एक्सटिङ्सन’ अर्थात् लोप भएकालाई पुनः अस्तित्वमा ल्याउने आयोजना सार्वजनिक गर्यो । त्यसको करिब एक वर्षपछि अर्थात् सन् २०२२, अगस्टमा सोही संस्थाले उक्त आयोजनाअन्तर्गत नै दोस्रो महत्वाकांक्षी योजना सार्वजनिक गर्यो । त्यो थियो, एक शताब्दीअघि लोप भइसकेको टाजमेनिय बाघ (जुन मांसाहारी शिशुधानी अस्ट्रेलियाको मूलवासी प्रजाति, जसलाई थिलासिन पनि भनिन्छ तर बाघ प्रजाति भने होइन)लाई आनुवंशिक प्रविधिमार्फत अस्ट्रेलियाको टाजमेनियलगायत त्यससँग जोडिएका क्षेत्रमा पुनस्र्थापना गर्ने । जसको मूल उद्देश्य थियाे स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि शीर्ष सिकारी (एपेक्स प्रिडेटर)को टड्कारो आवश्यकता ।
टाजमेनिय बाघ उक्त क्षेत्रको कुनै वेला शीर्ष सिकारी थियो । सो प्रजाति लोप हुनुले वातावरणीय क्षति बढ्न सक्ने अध्ययन तथा अनुसन्धानको निचोड थियो । नेपालमा पाइने पाटे बाघ पनि शीर्ष सिकारी हो, जसले स्वस्थ पारिस्थितिकीय प्रणालीको संकेत गर्छ । यसरी लोप भइसकेको प्रजातिलाई पुनस्र्थापना गर्ने कसरत चलिरहँदा हाम्रो नेपालमा भने पाटेबाघ करिब तेब्बरको संख्यामा वृद्धि हुनु अत्यधिक खुसीको विषय हो । यस कार्यलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सरोकारवालालाई सलाम गर्नैपर्छ । यद्यपि, पाटेबाघको संख्या वृद्धिसँगै सिर्जना हुने मानव–बाघ द्वन्द्वको विषयमा हामी गम्भीर हुनुपर्ने समय आएको छ । जसरी पाटेबाघ करिब तेब्बरको संख्यामा वृद्धि भएको छ, मानव–बाघ द्वन्द्वको निकास पनि सोभन्दा बढीको दरमा गर्नुपर्ने देखिन्छ । यसका लागि अहिले हामीले गरिरहेका कार्यका अतिरिक्त देहायबमोजिमका पाँच बुँदाहरूमा ध्यान दिन सके मानव–बाघ सहअस्तित्व कायम गर्न सहज हुने देखिन्छ ।
बाघ संरक्षणमा प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रलाई साथसाथै लैजाउनुपर्छ । प्रदेश र स्थानीय तहसँग पर्याप्त अधिकार, स्रोत तथा साधन छ । त्यस्तै, निजी क्षेत्रसँग लगानी गर्न नपाएर पुँजी थन्केर बसेको छ ।
जनचेतना फैलाउनेपुरानो तरिकामा आमूल परिवर्तन
संरक्षण क्षेत्रमा जनचेतना फैलाउने तरिकामा विशेष ध्यान दिन जरुरी छ । अहिलेको परिपाटी कमजोर र कमसल छ । जनचेतनाका कार्यक्रम भुइँतहका समुदायमा पुग्न जरुरी छ । जस्तै, हालका कार्यक्रम कुनै सीमित कार्यसमितिका पदाधिकारीमा सीमित छ र यस्ता कार्यक्रम सुगमता र सहजताका आधारमा मुख्य बजारका होटल तथा विभिन्न कार्यालयमा हुँदै आएका छन् । यस्तो पुरानो ढर्रा परिवर्तन गरेर, टोलटोलमा, जनताको घरदैलोमा, सामुदायिक वनको भवनमा, रेन्जपोस्टमा वा जुन बाटो भई जनता जंगल पस्छन्, त्यही ठाउँमा वा सोनजिकै क्षेत्रमा कार्यक्रम सञ्चालन गरी जनचेतना फैलाउन जरुरी छ ।
लक्षित वर्गमा जीविकोपार्जन कार्यक्रम
स्रोतसाधन भनेको यस्तो विषय हो, जुन जति भए पनि पुग्दैन । झन् नेपालजस्तो विकासोन्मुख देशमा त स्रोतसाधनको कमी त हुने नै भयो । तसर्थ, अहिलेको आवश्यकता भनेको लक्षित वर्ग पहिचान गरी प्राथमिकीकरण गर्ने नै हो । लक्षित वर्ग पहिचान गर्दा थोरै फरक ढंगले गर्नुपर्ने देखिन्छ । जस्तै– निकुञ्जभित्र जीविकोपार्जन धान्नैका लागि अनुमतिविना प्रवेश गर्ने व्यक्तिहरूको तथ्यांक संकलन गर्ने र निजहरूलाई पहिचान गरी उनीहरू केन्द्रित सघन जीविकोपार्जन कार्यक्रम ल्याउन आवश्यक छ । यो दुई कुराले जरुरी छ, पहिलो– अधिकांश बाघ आक्रमणका घटनाहरू जंगलभित्रै घटेको विवरण हामीमाझ छ । दोस्रो– कमजोर जीविकोपार्जन क्षमता भएकाहरूलाई हामीले वैकल्पिक उपाय दिनैपर्छ । यसरी गरिब निमुखा जनतालाई जुनसुकै ठाउँमा बाघको आक्रमणबाट जोगाउन जरुरी छ । बाघले चाहे जंगलभित्रै होस् या बाहिर आक्रमण गर्दा समग्र मानवलाई नै यो त खतरनाक जनावर हो भन्ने भान हुन्छ । तसर्थ यो भान हटाउँदा फाइदा अन्ततः बाघ संरक्षण अभियानमै पुग्छ ।
टाइगर ट्र्याकिङ
टाइगर ट्र्याकर अर्थात् बाघ पछ्याउन वा विशेष अनुगमन गर्ने भनेर भारतका केही संरक्षित क्षेत्रमा कर्मचारी खटाइन्छ । नेपालमा पनि बाघकै लागि भनेर ट्र्याकिङ कर्मचारी व्यवस्थापन गरी एउटा युनिट नै खडा गर्नुपर्ने अवस्था आइसक्यो । यस समूहमा समुदायमा आधारित चोरी सिकार नियन्त्रण समूहका सदस्य तथा युवालाई पनि समेट्न सकिन्छ । यो युनिटको जिम्मेवारी भनेकै घाइते, टुहुरा तथा समस्याग्रस्त बाघ पहिचान, अनुगमन तथा अभिलेखीकरण गरी वेलैमा व्यवस्थापन गर्ने हुनुपर्छ । साथै, यी कर्मचारीलाई आधुनिक प्रविधि (जस्तै– क्यामेरा ट्र्याप, सिसी क्यामेरा, ड्रोन, रातको समयमा पनि देखिने नाइट भिजन क्यामेरा वा दूरविन, तापबाट पहिल्याउन सकिने थर्मल यन्त्रहरू इत्यादि) बाट सुसम्पन्न गरी विशेष तालिम प्रदान गर्नुपर्छ । अबको युग आधुनिकीकरणको हो । यसलाई आत्मसात् गर्नुको विकल्प छैन भने यसको प्रयोगले कार्यक्षमता र सम्पादनमा प्रभावकारिता र मितव्ययिता ल्याउँछ ।
बाघ प्रकृतिको सुन्दर प्राणी हो । प्रकृतिमा बाघको विशेष स्थान छ । अनौठो त के छ भने वनको ‘राजा’ भएर पनि बाघ लजालु भई शान्त भएर बस्न रुचाउँछ । प्रतिकूल अवस्था नआएसम्म यो प्रजातिले आक्रमण गर्दैन । तसर्थ, मानव र बाघ आ–आफ्नै वासस्थानमा रमाउने अवस्था सिर्जना गर्न हामी सबैको साझा दायित्व रहन्छ ।
स्थानीय तह र निजी क्षेत्रसँग समन्वय
जैविक विविधता संरक्षण गर्नु सबै तह र क्षेत्रको समान दायित्व हो । तसर्थ, बाघ संरक्षणमा प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रलाई साथसाथै लैजाउनुपर्छ । प्रदेश र स्थानीय तहसँग पर्याप्त अधिकार, स्रोत तथा साधन छ । त्यस्तै, निजी क्षेत्रसँग लगानी गर्न नपाएर पुँजी थन्केर बसेको छ । यस्तो अवस्थामा हामीले यी सबै क्षेत्रसँग सहकार्य गरेर लगानी तथा सहयोग गर्न प्रोत्साहन गर्नुपर्छ । अब लगानी तथा सहकार्य केमा गर्ने भन्ने प्रश्न आउला । यसका क्षेत्रहरू बृहत् छन् । जस्तै– वासस्थान व्यवस्थापन कार्यक्रम (घाँसेमैदान तथा पानीका घोल संरक्षण तथा व्यवस्थापन), वन्यजन्तु उद्धार तथा पुनस्र्थापना केन्द्र स्थापना तथा स्तरोन्नति, जीविकोपार्जन कार्यक्रम, सामुदायिक बिमा कार्यक्रम, सहकारी कार्यक्रम, पर्यापर्यटन प्रवद्र्धन, वातावरण मैत्री संरचना, अध्ययन अनुसन्धानमा आदि ।
मानव–बाघ सहअस्तित्वबारे नवीनतम अध्ययन
अध्ययन, अनुसन्धान र सिकाइ निरन्तर प्रक्रिया हो । यसलाई जति व्यापक पार्न सक्यो, त्यति उत्कृष्ट हुने गर्छ । तसर्थ, मानव–बाघ सहअस्तित्वबारे मिहिन ढंगले अध्ययन गर्न आवश्यक छ । अध्ययन तथा अनुसन्धानको केही विषय यस प्रकार हुन सक्छ, बाघका लागि कसरी प्रभावकारी तथा किफायती ढंगले वासस्थान व्यवस्थापन गर्ने ? संरक्षित क्षेत्रमा बाघको उचित संख्या कायम गर्न सक्ने भारवान् क्षमता, मानव–बाघ द्वन्द्व कम गर्ने नवीनतम प्रविधि, नेपालकै कुनै संरक्षित क्षेत्रमा बाघ द्वन्द्व शून्यबराबर छ त कुनैमा अत्यधिक छ किन ? बाघ संरक्षणमा चुरे पहाड, महाभारत पहाड र जैविक मार्गहरूको उपादेयता तथा महत्व, बाघसँग जोडिएका पर्यापर्यटनको पक्ष आदि ।
अन्ततः बाघ प्रकृतिको सुन्दर प्राणी हो । प्रकृतिमा बाघको विशेष स्थान छ । अनौठो त के छ भने वनको ‘राजा’ भएर पनि बाघ लजालु भई शान्त भएर बस्न रुचाउँछ । प्रतिकूल अवस्था नआएसम्म यो प्रजातिले आक्रमण गर्दैन । तसर्थ, मानव र बाघ आ–आफ्नै वासस्थानमा रमाउने अवस्था सिर्जना गर्न हामी सबैको साझा दायित्व रहन्छ ।
(लेखक गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालयका संरक्षण अधिकृत हुन् ।)