हात्ती सफारी ठीक कि बेठीक ?

सुमन घिमिरे सुमन घिमिरे
शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

हात्ती भन्नेबित्तिकै चितवनको सौराहाको याद आउँछ । अर्थात् सौराहा जाने, हात्ती चढेर जंगल सफारी गर्ने । तर, समयसँगै हात्ती चढ्ने सोच बिस्तारै फेरिँदै छ । अब हात्ती चढ्ने होइन, प्राकृतिक वासस्थानमै गएर हात्तीका गतिविधि र आनीबानी नजिकबाट नियाल्ने चलन सुरु भएको छ । 


साँझबिहान हात्तीसँगै हुने सौराहाका हात्तीको आनीबानी हामीलाई प्रायः थाहा नै छ । तर, हात्तीलाई सफारीमा प्रयोग नगरी कसरी फरक खालको व्यवसाय गर्न सकिन्छ भनेर जान्नु थियो । त्यसैले हात्ती व्यवसायसँग जोडिएका सौराहाका १८ जना हामी थाइल्यान्डतर्फ लाग्यौँ । यो यात्रा फरक भएकाले ‘शैक्षिक भ्रमण’को संज्ञा दिएका थियौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट सुवर्णभूमि विमानस्थलमा ओर्लंदा हामीलाई वाइल्ड एनिमल प्रोटेक्सनकी सेराले पर्खिरहेकी थिइन् ।

उनी हाम्रो यात्राभरिकै सहजकर्ताका रूपमा रहने जानकारी उनको संस्थाले पहिल्यै दिइसकेको थियो । हामीलाई पहिलो रातको बसोवास बैंककमा व्यवस्था गरिएको थियो । बैंककमै साँझपख समुद्री तटमा गएर थाई खानाको मजा लियौँ । 
पश्चिमेली देशका पर्यटकले नेपाललगायतका एसियाली देशहरूमा हात्ती चढेर जंगल घुम्ने कार्यलाई घटाउँदै गएका छन् ।

कतिपय ट्राभल एजेन्टले त आफ्ना पाहुनाहरूलाई हात्ती चढाउनै छाडेका छन् । नेपालमा अहिले सरकारी र निजी गरी करिब दुई सय घरपालुवा हात्ती रहेका छन् भने जंगली हात्तीको संख्या पनि त्यत्ति नै छ । हात्ती चढेर जंगल घुम्ने सबैभन्दा सुरक्षित तरिका हो । तर, पछिल्लो समय युरोप, अमेरिकालगायत विकसित देशहरूमा पशुअधिकारकर्मीहरूले हात्तीलाई नराम्रो व्यवहार गरिन्छ भन्ने भ्रम फैलाएर पर्यटकलाई हात्ती सफारी गर्न निरुत्साहित गरिरहेका छन् । चितवन घुम्न आउने आन्तरिक, भारतीय र चिनियाँबाहेकका पर्यटक हात्ती सफारी नगरेर हात्तीको दिनचर्या नजिकबाट नियाल्ने र जिप सफारीमा आकर्षित हुँदै गइरहेको पाएका छौँ । 


केही समयअघि चितवनको ‘टाइगर टप्स’ले हात्ती सफारी बन्द गरेर नयाँ कार्यक्रम ल्याएको थियो, ‘वाक विथ एलिफेन्ट’ । टाइगर टप्सले आफ्ना सम्पूर्ण हात्तीलाई चेनमुक्त पनि गर्यो । सुन्दा सामान्य लागे पनि यस्ता कार्यक्रम कसरी व्यवस्थित गरेको छ भन्ने जान्न हामी हात्ती पालकहरूलाई ज्यादा उत्सुकताको विषय हो । 


थाइल्यान्ड, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाजस्ता देशमा हात्तीलाई क्रुर व्यवहार गरिन्छ भन्ने रिपोर्ट आउने गरेका छन् । त्यसो त भारत र नेपाल पनि अछुतो छैन । कतिपय विदेशी मुलुकमा हात्तीलाई कोइलाखानीहरूमा, ठुल्ठूला मुढा बोक्न, मन्दिर र बाटामा माग्न र पर्यटकलाई आकर्षण गर्न विभिन्न अप्ठ्यारा खेलमा समावेश गरिनेरहेछ । त्यही भएर त्यस्ता हात्तीहरूलाई त्यहाँबाट संरक्षण गरेर नयाँ परिवेश दिने कामको सुरुवात गरिएको रहेछ । नेपालमा हेर्ने हो भने हामीसँग रहेका कुनै पनि हात्तीलाई जोखिमपूर्ण कार्यमा लगाइएको छैन । हामीसँग रहेका हात्तीलाई खानपिन भएन, स्याहारसुसार भएन भन्नु अफवाह मात्र हो ।

हामी तेस्रो गन्तव्य चियाङराईका लागि हिँड्दै गर्दा निस्फिक्री हिँडडुल गरेका हात्ती देख्दा कता–कता मनमा प्रश्न उठिरह्यो, ‘हामी किन हाम्रा हात्तीहरूलाई बाँधेर राखिरहेका छौँ ?’


थाइल्यान्डमा जोखिममा परेका हात्तीलाई सुरक्षित वातावरणमा फर्काउने काम गरिएको रहेछ । हात्ती र पशु अधिकारसँग काम गर्ने गैरसरकारी संस्थाले हात्ती खरिद गरेर उनीहरूलाई आफ्नै संसारमा फर्काउने काम गरे । हाम्रो भ्रमणको चाँजोपाँजो पनि त्यस्तै संस्थामध्येको एक ‘वल्र्ड एनिमल प्रोटेक्सन’ले गरेको थियो । र, संरक्षित हात्तीहरूलाई सफारीबाहेक फरक ढंगले पर्यटन व्यवसायसँग पनि जोड्न थालियो । बिस्तारै थाइल्यान्डसहित अरू देशका हात्ती मालिकहरू पनि सफारी छाडेर यस्तै कार्यक्रममा आकर्षित भए । 


हाम्रो भ्रमणको दोस्रो दिन बैंककबाट बिहान ४२७ किमि उत्तरमा रहेको सुकोथाईका लागि प्रस्थान ग¥यौँ । हामी बाटोमा पर्ने पर्यटकीयस्थलहरूको अवलोकन गर्दै साँझ सुकोथाई पुग्यौँ । तेस्रो दिन बिहानै सुकोथाईस्थित बुनलुट एलिफेन्ट सेन्चुरी पुग्यौँ । यो नै हाम्रो यात्राको पहिलो हात्ती सेन्चुरीको भ्रमण थियो । यस सेन्चुरीलाई छोटकरीमा ब्लस भनिँदोरहेछ ।
हात्ती सेन्चुरीमा १३ वटा हात्ती रहेछन्, जसमध्ये पाँचवटा भाले र सातवटा पोथी रहेछन् । यहाँ हात्तीसँग केही दिन बिताउन पर्यटक आउने गर्दारहेछन्, त्यो पनि पैसा तिरेर । सफारी गर्नुभन्दा हात्तीसँग दिन बिताउन धेरै पैसा लाग्दोरहेछ ।

पर्यटकका लागि एक हप्ताको छट्टै प्याकेज बनाइएको रहेछ । पर्यटक प्रायजसो सोमबार आएर शुक्रबार फर्कनेरहेछन् । ब्लसमा पर्यटकका लागि प्रतिव्यक्ति प्रतिरात प्याकेज ६ हजार भाट पर्दोरहेछ । यो प्याकेजमा बिहानको नास्तादेखि साँझको खानासम्म यही रकमले पुग्दोरहेछ । आवास भने यो प्याकेजमा रहेनछ । ब्लसमा आउने पर्यटकका निम्ति १० किमि पर होटेलमा वासको व्यवस्था थियो । त्यसको रकम पर्यटकले आफैँ तिर्नुपर्नेरहेछ । त्यहाँबाट पर्यटकलाई सेन्चुरीसम्म आउनजान निःशुल्क गाडीको व्यवस्था ब्लसले गर्नेरहेछ । 


हामीले ब्लसको सञ्चालक क्याथरिनलाई भेट्यौँ । उनले हामीलाई छोटकरीमा त्यहाँको इतिहास बताइन् । त्यसपछि हामीलाई रूखमा बनाइएको बस्ने ठाउँ ट्री हाउस लगियो । त्यो ट्री हाउसबाट संरक्षण गरिएका हात्तीहरूको गतिविधि हेर्न सकिनेरहेछ । अवलोकनकर्ताहरू पनि सुरक्षित हुने र हात्तीलाई पनि हिँडडुल गर्न बाधा नहुने हुनाले ट्री हाउसमा बस्ने व्यवस्था मिलाइएको रहेछ ।

 
हात्ती हिँडेको, खेलेको र हात्तीलाई खुवाएका सबै दृश्य हामीले नेपालमै देखे पनि त्यहाँ अलि फरक थियो । नेपालमा यी सबै दृश्य निःशुल्क हेर्न पाइन्छ भने यहाँ पर्यटकले शुल्क तिरेर हेरिरहेका थिए । हात्तीलाई सफारीमा प्रयोग नगरी कसरी आम्दानी सिर्जना गर्न सकिन्छ भन्ने सत्य यहाँ देख्यौँ । चितवनमा रहेका निजी हात्तीहरू पूर्ण रूपमा सफारी प्रयोग हुँदै आएका छन् । यसले हात्तीधनीलाई मनग्ये आम्दानी पनि दिएको छ । हात्तीलाई सफारीमा प्रयोग गर्नु हामीलाई अनुचित कहिल्यै पनि लागेन । तर, पर्यटक बोक्दा हात्तीलाई सास्ती भयो भनेर सुनिँदै आएको आवाजलाई कसरी सुल्झाउने यो यात्राको अर्को चुनौती थियो । 


यहाँ आउने पर्यटकका लागि हात्तीलाई कसरी स्वस्थ राख्नुपर्छ भन्ने पनि जानकारी दिइँदोरहेछ । अझ हामी सबैजना हात्ती पाल्ने भएर होला बेलीविस्तार लगाएर भनियो र देखाइयो । नेपालमा हात्तीलाई परालभित्र धान राखेर बनाइएको कुची दिने गरे पनि थाइल्यान्डमा अनदीजस्तो चामलमा उसलाई चाहिने भिटामिन सप्लिमेन्ट राखेर दिइँदोरहेछ । नियमित घाँस पनि खुवाइनेरहेछ । हामीले ब्लसमा केही पर्यटक, माहुते अनि स्वतन्त्र रूपमा हिँडडुल गरेको हात्ती हेर्ने मौका पायौँ । दिउँसोको खाना लिएर हामी तेस्रो गन्तव्य चियाङ राईको लागि हिँड्दै गर्दा निस्फिक्री हिँडडुल गरेका हात्ती देख्दा कता–कता मनमा प्रश्न उठिरह्यो, ‘हामी किन हाम्रा हात्तीहरूलाई बाँधेर राखिरहेका छौँ ?’


झमक्क साँझ पर्नैलाग्दा हामी चियाङ राई पुग्यौँ । यहाँ पनि हामीले कसरी हात्तीहरूलाई सफारी नगराई पर्यटकीय गतिविधि गराइन्छ भनेर हेर्नु नै थियो । हामी भोलिपल्ट बिहानको नास्तापछि चियाङराईमा रहेको एलिफेन्ट भेलीमा हात्तीहरूको दिनचर्या हेर्न जाँदै थियौँ । हामी एलिफेन्ट भेली पुग्दा यसका निर्देशक डेभिड हामीलाई स्वागत गर्न बसिरहेका थिए । यो स्थानमा पाँचवटा हात्ती थिए । उनको र क्याथरिनको उद्देश्यमा समानता थियो । तर, यहाँ डे भिजिटरलाई पनि आउन दिइनेरहेछ । पर्यटकले निश्चित रकम तिरेपछि हात्तीका गतविधिहरू अवलोकन गर्न पाउनेरहेछन् ।

डेभिडको यो सेन्चुरी हात्तीहरूको हकहित सँगसँगै पूर्ण व्यापारका लागि पनि बनाइएको महसुस भयो । हात्तीलाई आफ्नै वासस्थानमा फर्काउनु हात्ती सेन्चुरीहरूको उद्देश्य हो । साथै, मानव र हात्तीबीचको द्वन्द्व न्युनीकरण गर्न पनि यसले मद्दत गर्छ । पशुअधिकारकर्मीहरूले हात्ती सफारीलाई हटाएर हात्तीको दिनचर्या हेर्ने बनाउने जुन अभियान चलाएका छन्, त्यसकै उदाहरण हुन् यी सेन्चुरीहरू । तर एउटा प्रश्न, के अब हात्ती सफारी रुचाउने पर्यटक हुँदै हुँदैनन् त ? सबै पर्यटक हात्तीको दिनचर्या मात्र हेर्न आउँछन् त ?


क्याथरिन र डेभिडको हात्ती पाल्ने र पर्यटक आकर्षण गर्ने विधिको अनुभवपछि हामी हाम्रो अन्तिम गन्तव्य चियाङमाईको एलिफेन्ट नेचर पार्क पुग्यौँ । १०० हेक्टरमा फैलिएको यो सेन्चुरी अघिल्ला दुई सेन्चुरीभन्दा धेरै ठूलो थियो । र, यहाँ आउने पर्यटकको संख्या पनि निकै धेरै रहेछ । हात्तीकै दिनचर्या हेर्न यति धेरै पर्यटक आएको देख्दा गरे जे पनि सम्भव हुनेरहेछ भन्ने प्रस्ट भयो । हात्तीलाई इलेक्ट्री फेन्स लगाएर खुला छोडिएको थियो । अर्थात् उनीहरू चेनमुक्त छन् । अंगे्रजीमा एउटा भनाइ छ, ‘चेन फ्री इज पेन फ्री’ । एउटै सिमानाभित्र हात्तीका फरक–फरक गतिविधिहरू भइरहेका । कुनै हात्ती खोलामा नुहाउँदै, कुनै खाना खाँदै, कुनैलाई नुहाउन तयारी गरिँदै । वास्तवमा यो हात्तीको संसार देखेर यहाँ आउने सबै पर्यटक रमाएको देखिन्थ्यो । 


हामी यहाँबाट बिदाई भइरहँदा हात्ती पाल्ने र सफारी गराउनेहरूलाई सफारी नगराईकन पनि हात्तीबाट आम्दानी गर्न सकिनेरहेछ भन्ने कुराको ज्ञान भइसकेको थियो । नेपाल फर्केर हामीले यो कुराको जानकारी हाम्रा अन्य साथीहरूलार्ई पनि गराउनु छ । यो भ्रमणमा सिकेको कुरा हात्तीहरूको सेन्चुरी मोडलले हात्तीहरूलाई ‘ब्याक टु ह्याबिटाट’ ल्याउने कार्यक्रम हो । बिस्तारै हात्तीमाथि चढेर सयर गर्ने गतिविधि बन्द गर्नु हो । तथापि, पशु अधिकारकर्मीले हात्ती सफारी गर्नुहुन्न भनेर जुन कुरा नेपालमा उठाएका छन्, त्यो कुरा चित्त बुझेन । चियाङमाईको एलिफेन्ट नेचर पार्क पुग्दा हामीले छेवैको पार्कमा हात्ती सफारी भएको पायौँ । 


हामीले सोधेका थियौँ, सेन्चुरीको छेवैमा सफारी ? उनीहरूले जवाफ दिएका थिए, जसलाई जे मन लाग्छ, त्यो गर्न पाउनुपर्छ । एकातिर हामी हात्तीको दिनचर्या हेरिरहेका थियौँ, अर्कोतर्फ हात्ती चढेर जंगल घुमिरहेका थिए । यो सेन्चुरी नितान्त हात्तीकै माया लागेर खोलिएको होजस्तो लागेन । यो त उनीहरूको व्यवसाय हो । यदी साँच्चै हात्तीको माया हुन्थ्यो भने ती हात्तीहरूलाई जंगलमा छोडिनुपथ्र्यो । यो यात्राले नेपालका हात्तीहरू धेरै सुखी रहेको महसुस भयो ।

हिन्दू धर्मावलम्बीहरूका लागि हात्ती पवित्र जनावर हो । हात्तीलाई गणेशको प्रतीकमा लिएर पूजा पनि गरिन्छ । तर, धार्मिक आस्थालाई छाडेर नेपालमा हात्ती सफारी गरिरहेको कुरा मनमा खेलिरह्यो । सुवर्णभूमि एयरपोर्ट फर्कँदै गर्दा बाटोमा ठूलो बिलबोर्डमा लेखिएको थियो, बुद्धको व्यापार नगरौँ । मलाई झस्कायो, यो बोर्डले कतै मलाई हात्तीको व्यापार नगरौँ भनेको त होइन !


(घिमिरे, क्षेत्रीय होटेल संघ चितवनका पूर्वअध्यक्ष हुन् ।)

सम्पादकको रोजाइ

सुझावित समाचार