यो हप्ता मात्र बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वयस्क बाघ मृत भेटिए । टोकेको तथा पञ्जाले चिथरिएको घाउ हेर्दा आन्तरिक द्वन्द्वका कारण त्यहाँ बाघ मारिइरहेको र विस्थापित पनि भइरहेको अनुमान लगाउन गाह्रो छैन । विस्थापित बाघहरू मानव बस्तीमा प्रवेश गर्दा निम्तिएको बाघ–मानव द्वन्द्वकै कारण यसै वर्ष मात्र दर्जनबढी सर्वसाधारण मारिएको तीतो यथार्थ हामीमाझ छँदै छ ।
यद्यपि, २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने पिटरसवर्ग सम्मेलनको महत्वाकांक्षी लक्ष्यका अघिल्तिर आन्तरिक द्वन्द्वका कारण मारिने बाघ, विस्थापित बाघका कारण मारिने सर्वसाधारण तथा अत्यधिक घनत्वका कारण निकुञ्जभित्रै उकुसमुकुस भएर थुनिइरहेका बाघको नियतिबारे भने त्यति ध्यान जान सकेको छैन ।
२०१० को पाटे बाघ पाइने १३ मुलुकको पिटर्सवर्ग सम्मेलनले २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको थियो । विश्व बैंक र डब्लु–डब्लु–एफका अध्यक्षसमेत सहभागी सम्मेलनले बाघ संरक्षणका लागि यी मुलुकलाई पाँच वर्षसम्मका लागि ३३० मिलियन अमेरिकी डलरको सहयोग पनि जुटाउन सफल भएको थियो । सम्मेलनमा नेपालले पनि बाघ दोब्बर पुर्याउने प्रतिबद्धता मात्र जनाएन, त्यसपछि ५५० वर्गकिलोमिटर क्षेत्रफल भएको बाँके राष्ट्रिय निकुञ्जको घोषणा पनि गर्यो ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग बाँके जोडिँदा १५१८ क्षेत्रफलको नयाँ बाघ क्षेत्रको निर्माण भयो । २०१८ को सर्वेक्षणअनुसार बाँके (२१) र बर्दिया (८७) गरी कुल १०८ बाघ यस क्षेत्रभित्र छन् । बाँकेलाई नयाँ निकुञ्ज बनाइएपछि त्यहाँ बाघको संख्या चार वर्षमा पाँच गुणाले बढेको थियो । २०१३ मा त्यहाँ (३–७) बाघ थिए । त्यसैगरी बर्दियामा २०१३ मा जम्मा ५० बाघ मात्र थिए, झन्डै दुई गुणा वृद्धि हुँदै २०१८ मै बाघको संख्या ८७ पुगिसकेको थियो । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा २०१८ मा बाघको संख्या १९ प्रतिशत वृद्धि हुँदा बाँके र बर्दियामा मात्र सतप्रतिशतले वृद्धि भएको थियो ।
निर्णयस्तरमा चालिएको एउटा सानो सकारात्मक कदमले कति ठूलो परिणाम निस्कन्छ भन्ने उदारण हो, त्यतिवेला नयाँ थपिएको बाँके राष्ट्रिय निकुञ्ज । खासमा त्यहाँ जंगल थपिएको थिएन, राष्ट्रिय निकुञ्ज बनेपछि त्यहाँ मानवीय व्यवधानमा कमी आयो, फलस्वरूप बाघको संख्या मात्र चार वर्षमा पाँच गुणाले वृद्धि भयो ।त्यसैगरी पर्सा वन्यजन्तु आरक्षमा पनि बाघको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । ६ (४–७) को संख्या बढेर २०१८ मा १८ (१६–२४) सम्म पुग्यो । शुक्लाफाँटामा बाघको संख्या २०१४कै यथास्थिति (१६–१७) रहेको थियो । यति हुँदाहुँदै पनि सबैभन्दा अप्रत्यासित ढंगबाट चितवनमा बाघको संख्या घटेको थियो । २०१४ मा १२० संख्या रहेकोमा २०१८ मा ९३ मा आइपुगेको थियो । चितवनमा बाघको संख्या गिरावटको वार्षिक ट्रेन्ड यस्तै नै हो भनेर यकिन गर्न सकिएको छैन । यद्यपि २०१८ को बाघ गणनाको प्रतिवेदनले त्यहाँ बाघको संख्यामा कमी आउनुका यथेष्ट कारण उल्लेख गरेको थियो ।
पहिलो महत्वपूर्ण कुरा त चितवन राष्ट्रिय निकुञ्ज दक्षिणमा भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको छ । पर्सा, वाल्मीकि र चितवनको संयोजन ‘तराई आर्क ल्यान्डस्केप’ (ताल) को सबैभन्दा पूर्वमा अवस्थित बाघ संरक्षणको महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रभित्र प्रायः बाघ ओहोर–दोहोर पनि गर्ने गर्छन् । २०१८ को प्रतिवेदनलाई मान्ने हो भने त्यतिवेला चितवन राष्ट्रिय निकुञ्ज सरेर जाने बाघहरूको स्रोत क्षेत्रजस्तो भएको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ घट्नुमा यहाँका केही बाघहरू पर्सा र वाल्मीकितिर सरेको हुन सक्ने आशंका गरिएको थियो । पर्सा र वाल्मीकिमा बाघको संख्यामा उल्लेख्य वृद्धि हुनुले पनि यो दाबीको पुष्टि गर्छ ।
के बाघ नबढून् त ? होइन, बाघ बढ्नुपर्छ, बढाउनुपर्छ । चोरी सिकार नियन्त्रणले मात्र बाघ बढ्दैनन् । त्यसो हो भने चितवनमा यसरी बाघ घट्ने थिएनन् । पछिल्लो नेपाल र भारतको बाघ वृद्धिको अनुभवले भन्छ, बाघ बढाउन तिनलाई फैलन दिनुपर्छ । फैलनका लागि अनुकूल वातावरणसहितको क्षेत्र चाहिन्छ ।
उदाहरणका लागि २००९ देखि २०१३ सम्ममा पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापमा देखिएका कुल ३१ बाघमध्ये १० बाघहरू पहिला नै चितवनको ट्र्यापिङमा पनि देखिएका थिए भने अरू १२ बाघहरू पनि पर्सामा जन्मिएर हुर्किएका थिएनन् । बरु अन्तबाट त्यहाँ सरेका थिए । त्यसैगरी वाल्मीकि टाइगर्स रिजर्भमा २००९ मा कुल १० बाघ थिए भने २०१८ मा त्यहाँ बाघको संख्या ३१ पुगिसकेको थियो । यसबाट प्रस्ट हुन्छ, बसाइसराइ २०१८मा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा गिरावट आउनुको प्रमुख कारण थियो ।
चितवनका बाघको बसाइसराइको अर्को प्रमुख कारण भनेको बाघहरूको आन्तरिक प्रतिस्पर्धा नै हो । २०१४ देखि २०१८ सम्मको चार वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा आठवटा बाघ एक–आपसमा जुधेर मरेका थिए । बाघहरूबीचको आन्तरिक द्वन्द्व मुख्यतः बाघ र यसको सिकारको घनत्वले निर्धारण गर्छ । चितवनबाट बाघ विस्थापन हुनुको कारण आन्तरिक प्रतिस्पर्धालाई नै लिइएको थियो ।
प्रतिवेदनले चितवनमा बाघको संख्यामा आएको गिरावटको अर्को प्रमुख कारण २०१७ को बाढीलाई पनि लिएको थियो । उक्त बाढीले असंख्य बाघका अहारा प्रजातिका जीवहरू बाढीले बगाउँदा चितवनका बाघका आन्तरिक सिकार क्षेत्रहरू हेरफर भएको र कतिपय बाघ विस्थापित हुनुपरेको तर्क पनि सान्दर्भिक देखिन्छ । त्यसो त बाढीका कारण सन् २०१४ को तुलनामा सिकार घनत्व पनि खुम्चिएको देखिन्थ्यो ।
स्थिति यस्तो थियो कि बाघको आन्तरिक द्वन्द्व बढ्दै जाने र विस्थापन नरोकिने हो भने चितवनमा बाघको संख्या घट्ने मात्र नभई आसपासका मध्यवर्ती क्षेत्रमा विस्थापित घाइते बाघ र मानव द्वन्द्व बढ्ने प्रायः निश्चित थियो । र, नभन्दै बर्दियामा जत्तिको आततायी नभए पनि चितवनका मध्यवर्ती क्षेत्रमा समेत पछिल्ला वर्ष पनि बाघ–मानव द्वन्द्व यथावत् रहिरह्यो ।
२०१८ मा पनि शुक्लाफाँटा आरक्षण क्षेत्रमा बाघको संख्या बढ्न सकेको थिएन । चितवनमा जस्तै यहाँ पनि भारततिर बाघहरू विस्थापित हुने गर्छन् । त्यसो त त्यहाँ बघिनीको तुलनामा बाघको संख्या अधिक थियो । त्यहाँ कमै मात्र डमरुहरू जन्मिन्छन्, तिनीहरू हुर्कने सम्भावना पनि न्यून हुन्छ । त्यहाँ डमरुहरू वयस्क बाघले मारिदिने ‘इन्फ्यान्टिसाइड’को सम्भावना पनि बढी देखिन्छ ।
हामीलाई अहिले भइरहेकै बाघको संख्या यथावत् राख्नु छ भने पनि आवश्यक करिडरहरूको पहिचान गर्दै आन्तरिक द्वन्द्वबाट विस्थापित बाघहरूलाई सुरक्षितसँग नयाँ अनुकूल वातावरणमा पुनस्र्थापित हुन सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।
चितवन र शुक्लाफाँटालाई छोड्ने हो भने अन्य तीन पर्सा, बाँके र बर्दियामा उल्लेख्य मात्रामा बाघ बढेका थिए । जसरी चितवनमा बाघको संख्या घट्नुका विविध कारणहरू प्रतिवेदनमा खुलाइएको थियो । अन्य राष्ट्रिय निकुञ्जको बाघ वृद्धिका विस्तृत कारणको भने अध्ययन गरिएको देखिएन ।चितवनबाट सरेकै भए पनि पर्सामा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । २०१५ मा पर्साको मुख्य क्षेत्र (कोर एरिया) लाई १२८ वर्गकिलोमिटरबाट बढाएर ६२७ वर्गकिलोमिटर बनाइयो । त्यहीअनुसार आवश्यक सुरक्षा पोस्टहरू निर्माण गर्दै ‘एन्थ्रोपोजेनिक’ व्यवधानमा कमी ल्याइयो । यसैले पनि पर्सामा बाघको आकर्षण बढ्यो । तसर्थ चितवनको आन्तरिक द्वन्द्वबाट विस्थापित बाघको सहज गन्तव्य पर्सा भयो ।
बाँके र बर्दियामा बाघको संख्या उल्लेख्य वृद्धि हुनुमा नयाँ बाँके क्षेत्र निर्माण हुनु नै प्रमुख कारण हो । त्यसैगरी आवश्यक सुरक्षा पोस्टहरूको निर्माण, कोरिडरहरूको उचित व्यववस्थापन, सीमावर्ती क्षेत्रका स्थानीयवासीको सहकार्य जस्ता कुराहरूले यस क्षेत्रमा बाघ बृद्धि सम्भव भएको थियो । त्यसो त त्यहाँ नयाँ बाघहरू जन्मिएर हुर्केको पनि देखिन्छ ।
बाघको संख्या निर्धारणको सबैभन्दा महत्वपूर्ण कुरा यसको आहारा प्रजातिको अवस्था पनि हो । २०१४ को तुलनामा २०१८मा नेपालका पाँचै निकुञ्जमा आहारा प्रजातिको घनत्वमा नगण्य ह्रास आएको थियो । २०१७ को बाढीले चितवन र २०१५ को बाढीले बर्दियामा वन्यजन्तुहरूको ठूलो क्षति पुर्याएको थियो । सर्वेक्षण प्रतिवेदनले यही प्राकृतिक विपत्तिलाई आहारा प्रजातिको ह्रासको एउटा कारण मानेको थियो भने जाडो मौसममा कैद गरिएका तस्बिरमा ‘पोर–भिजिविलिटी’का कारण साना आहारा प्रजाति नदेखिएको तर्क पनि सारेको थियो ।
क्षेत्रगत हिसाबले हेर्दा बर्दिया, चितवन र शुक्लाफाँटामा आहारा प्रजातिको घनत्व पनि उच्च थियो भने पर्सामा केही कम र बाँकेमा एकदमै पातलो देखिन्थ्यो । बाघको घनत्व पनि बर्दिया र चितवनमा उच्च तथा पर्सा, बाँके र शुक्लाफाँटामा न्यून देखिएको थियो ।बर्दियामा प्रत्येक सय वर्गकिलोमिटरभित्र चारदेखि पाँच बाघ अटाएका थिए भने चितवनमा तीनदेखि चार अटाएका थिए । अन्य तीन निकुञ्जमा भने एउटै बाघलाई सय वर्गकिमिभन्दा बढी क्षेत्र भागमा पर्छ । त्यसैगरी बर्दियामा प्रत्येक एक वर्गकिलोमिटरभित्र ७७ र चितवनमा ७० अहारा प्रजाति छन् । पर्सामा यो संख्या २५ शुक्लाफाँटमा ६८ र बाँकेमा आठ छ । एउटा वयस्क बाघलाई वर्षमा ३० देखि ५० किलोसम्मका कम्तीमा ६० आहारा प्रजाति चाहिन्छ । डमरुका आमाहरूलाई अझ बढी चाहिन्छ । यसरी हेर्दा आहारा प्रजाति र बाघको संख्या दुवै सापेक्ष नै देखिन्थ्यो ।
अघिल्लो सर्वेक्षणअनुसार, चितवन र बर्दियामा प्रत्येक सय वर्गकिलोमिटरमा तीनदेखि पाँचवटासम्म बाघ देखिन्छन् । यी निकुञ्जको बाघको भारवहन क्षमता कति हुन सक्ला ? यो पनि अर्को विशेष विषय हो । चितवन र बर्दियामा बाघको आन्तरिक प्रतिस्पर्धा कति धेरै छ भन्ने कुरा त त्यहाँ जुधेर मर्ने तथा विस्थापित हुने बाघको संख्याबाट प्रस्ट देखिन्छ । नेपालमा बाघको आन्तरिक प्रतिस्पर्धा आजको सबैभन्दा ठूलो चुनौती हो ।
त्यस्तै, सर्वेक्षणअनुसार पर्सामा पाँच भाले, १० पोथी, चितवनमा ३० भाले, ५० पोथी, बाँकेमा ६ भाले, १० पोथी, बर्दियामा २८ भाले, ४२ पोथी र शुक्लाफाँटामा नौ भाले, ६ पोथी देखिन्छन् । क्यामेरा ट्र्यापिङमा २०९ वटा फरक—फरक बाघहरूको फोटो खिचिएको थियो । शुक्लाफाँटा छाडेर अन्य सबै निकुञ्जभित्र पोथीको संख्या तुलनात्मक रूपमा उच्च छ । समग्रमा ११८ बघिनी छन् र २८ वटा डमरु छन् (फोटो खिचिएका) यसको अर्थ उल्लेख्य मात्रामा डमरु जन्मिएर अहिलेको नयाँ सर्वेक्षणमा बाघको संख्या अझै बढ्ने सम्भावना देखिएको छ । यसले गर्दा सबै निकुञ्जमा बाघको घनत्व र आन्तरिक प्रतिस्पर्धा आगामी वर्षमा झनै उच्च हुने सम्भावना छ र त्यत्तिकै रूपमा बाघ—मानव द्वन्द्वको सिर्जना हुने डर पनि छँदै छ ।
के बाघ नबढून् त ? होइन, बाघ बढ्नुपर्छ, बढाउनुपर्छ । चोरी सिकार नियन्त्रणले मात्र बाघ बढ्दैनन् । त्यसो हो भने चितवनमा यसरी बाघ घट्ने थिएनन् । पछिल्लो नेपाल र भारतको बाघ वृद्धिको अनुभवले भन्छ, बाघ बढाउन तिनलाई फैलन दिनुपर्छ । फैलनका लागि अनुकूल वातावरणसहितको क्षेत्र चाहिन्छ । एउटा क्षेत्रबाट अर्कोतिर सर्न सक्ने आवश्यक करिडरहरू चाहिन्छन् । भारतले मुख्यतः क्षेत्र विस्तार गरेर चार वर्षमा ३३ प्रतिशतको वृद्धि ल्याएको थियो । नेपालको १९ प्रतिशतको वृद्धि पनि पर्सामा कोर क्षेत्रको वृद्धि र बाँकेको नयाँ क्षेत्र विस्तार प्रमुख कारण हुन् । यही संख्यालाई निरन्तरता दिन पनि बाघ फैलन पाउने वातावरण सिर्जना गर्नुपर्छ । थप क्षेत्रहरू निर्माण गर्नुपर्छ ।
त्यसो त सर्वेक्षण प्रतिवेदनले नेपालका बाघ संरक्षण र बाघ वृद्धिका सम्भावित चुनौती पहिल्याएको छ । जसअनुसार, चितवनबाट बाघ विस्थापनले मध्यवर्ती क्षेत्रमा निम्तिन सक्ने मानव–बाघ द्वन्द्वलाई सम्बोधन गर्नु पर्नेछ । बर्दियाको बाघको घनत्व र त्यसबाट निम्तिन सक्ने आन्तरिक द्वन्द्व र परिणामलाई सम्बोधन गर्नु पर्नेछ । पर्सा र बाँकेको आहारा प्रजातिको अभावलाई सुधार गर्नु पर्नेछ । शुक्लाफाँटाको प्रतिकूल भाले÷पोथी रेसियोमा सुधार ल्याउनु छ ।
यी पाँच निकुञ्जबाहेक नेपालमा अरू सम्भावित बाघक्षेत्र कुन–कुन हुन सक्छन् ? यो विषयमा खासै चासो दिएर अनुसन्धान गरेको पाइन्न । तर, हामीलाई अहिले भइरहेकै बाघको संख्या यथावत् राख्नु छ भने पनि आवश्यक करिडरको पहिचान गर्दै आन्तरिक द्वन्द्वबाट विस्थापित बाघहरूलाई सुरक्षितसँग नयाँ अनुकूल वातावरणमा पुनस्र्थापित हुन सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।
(लेखक ‘मध्यपहाडी क्षेत्रबाट कसरी बाघ विस्थापित भए’ भन्ने विषयमा अनुसन्धानरत छन् ।)