चितवन राष्ट्रिय निकुञ्जवरपरका क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै चितवनमा पर्यटकीय गतिविधि सञ्चालन भइरहेको छ ।
सौराहानजिकैको बाघमारा सामुदायिक वन हात्ती सफारी र डुंगा सफारीका लागि प्रख्यात छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङका अनुसार झन्डै दुई दशकदेखि हात्ती सयर सुविधा सञ्चालन भइरहेको छ ।
पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनमा यिनै गतिविधिबाट तीन करोड रुपैयाँभन्दा बढी वार्षिक आम्दानी हुने गथ्र्यो । तर, कोभिडका कारण आम्दानी घट्दो छ । आन्तरिक पर्यटकको आगमनले पछिल्लो समय उत्साह भने थपिएको तामाङ बताउँछन् ।

सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकले हात्तीमार्फत सो सामुदायिक वनमा दुर्लभ एकसिंगे गैँडालगायत वन्यजन्तुको अवलोकन गर्ने गर्छन् । घडियाल गोही र चराचुरुंगीको अवलोकनका लागि डुंगा सयर हुने गरेको छ । सो सामुदायिक वन भएर बग्ने बूढीराप्ती नदीमा पर्यटकका लागि १८ वटा डुंगा सञ्चालन गरिएका छन् ।

वनबाट आम्दानी भएको अधिकांश हिस्सा संरक्षण, सामुदायिक विकास, गरिबी निवारण र शिक्षामा खर्च हुँदै आएको उनी बताउँछन् । वन व्यवस्थापनमा ३५ प्रतिशत, सामुदायिक विकासमा २० प्रतिशत, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा १५ प्रतिशत, पर्यटन पूर्वाधार निर्माणमा नौ प्रतिशत, गरिबी निवारणमा पाँच प्रतिशत, प्रशासनिक खर्चमा १० प्रतिशत र अन्यमा ६ प्रतिशत रकम खर्च हुँदै आएको उनको भनाइ छ ।

हात्तीविनाको सौराहा कल्पना पनि गर्न नसकिने बताउँछन्, सौराहाका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारी । पछिल्लो समय हात्ती व्यवसायी झनै उत्साहित भएको उनी बताउँछन् । ‘लामो समयको निषेधाज्ञाले यहाँको १६–१७ वटा हात्तीहरू भारत पठाइए । अहिले ३४ वटा हात्ती हामीसँग छन्,’ उनी भन्छन्, ‘मासिक ८० देखि एक लाख रुपैयाँ हात्ती पाल्न खर्च लाग्छ । अहिले पर्यटकको संख्या बढ्दै जाँदा हात्ती पाल्न सजिलो हुँदै गएको छ । अहिले हामी उत्साहित छौँ ।’
