फल्चा र सत्तल नगर सभ्यताको परिचायक

वसन्त महर्जन वसन्त महर्जन
शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण

नेवार बाहुल्य नगरपालिकाहरू आफ्नो वार्षिक बजेटमा सम्पदा र संस्कृतिलाई विशेष महत्व दिन छुटाउँदैनन् । यसबाट सम्पदा र संस्कृति आफ्नो पहिचानसँग सम्बन्धित भएको मान्यता राखेर यसको संरक्षण र संवद्र्धनमा ध्यान दिएको भनेर बुझ्न गाह्रो छैन । सम्पदा र संस्कृतिमाथिको यो दृष्टिकोणको प्रशंसा अन्य क्षेत्रले पनि गर्नैपर्छ, किनभने ती सम्पदा तथा संस्कृतिलाई समुदाय विशेषका निधिका रूपमा मात्रै नभएर मानव समुदायकै निधिका रूपमा लिनुपर्छ । 


ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले सहरीकरणको चपेटा, नवआगन्तुकको बढ्दो प्रवाह र अतीतका गौरव बिर्सिने प्रवृत्ति निकट भविष्यका लागि एक खालको चुनौती भइरहेको छ । सम्पदाका अनेकौँ पक्षमध्ये नगरभरि छरिएर रहेका फल्चा र सत्तल पनि हुन् । तर, यसको प्रयोजन के रहेछ भन्ने कुरा बुझ्नु र बुझाउनु अत्यन्तै जरुरी हुन पुगेको छ । यससम्बन्धी सही ज्ञानको अभावमा अनर्थकारी निर्णय हुने गरेको पनि पाइन्छ । सम्पदा भनेर बाटोछेउ ठिङ्ग उभ्याइएका यी संरचना कला प्रदर्शनी वा ‘सो पिस’ मात्रै होइनन् । यी कुराको संरक्षण र जीर्णोद्धार गर्नुअघि यससँग जोडिएका सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्वबारे बुझ्ने हो भने काम गर्नमा अझ सहज हुने हुन्छ । 


फल्चा र सत्तलहरू वास्तु संरचना त हुन् नै, तर यसले यति मात्रै दर्शन बोकेको हुँदैन । यो सभ्यतासँग पनि सम्बन्धित कुरा हो । यसकारण यी स्वतः ऐतिहासिक तथा सांस्कृतिक महत्वको कुरा भयो । उच्च मानवीय मूल्य र मान्यतासँग यसको घनिष्ट सम्बन्ध भएका कारण यसलाई सभ्यताको भौतिक अवशेष पनि भन्न सकिन्छ । यसर्थ यसलाई आधुनिकताको नाममा नजरअन्दाज गर्न सकिन्न । 


फल्चा र सत्तल मूलतः पाटीपौवा हुन् । यी दुवैको प्रयोजनमा उस्तैउस्तै भए पनि त्यसमा केही फरकपना पाइन्छ । पहिले फल्चाको प्रयोजनका सम्बन्धमा चर्चा गरौँ । एकान्तमा बाटोछेउ वा सहरबस्तीको बीच भागमा नै पनि फल्चाको निर्माण गरिएको पाइन्छ । अथवा बस्ती प्रवेश गर्ने ठाउँमा नै पनि फल्चा बनाइएको पाइन्छ । जमिनभन्दा तीन–चार फिट उचाइमा उठाएर तीनतिर वा एकतिर मात्रै खुला राखी छाना हालेर बनाएको वास्तु नै फल्चा हो । सत्तलभन्दा तुलनात्मक रूपमा यो सानो हुन्छ र थोरै खर्चमा बनाइन्छ ।

बाटोमा हिँड्ने बटुवाहरू यहाँ सुस्ताउन मिल्छ । त्यस्तै पर्यो भने रात बिताउन पनि पाइन्छ । यसको प्रयोजन यही हो । बाहिरबाट काम विशेषले सहरबस्तीमा आएकाहरू फल्चामा बस्ने र आराम गर्ने गर्छन् । कसैकहाँ पाहुना बनेर बास पाउने सम्भव नभएकाहरू फल्चामा बास बस्न सक्छन् । यसरी नै दिनभर यताउता काम गरेर पनि स्थायी बासको व्यवस्था गर्न नसक्नेहरू राति–राति फल्चामा नै सुत्न पाउँछन् । यसको प्रयोजन बाहिरबाट आउनेका लागि मात्रै नभएर सहरबस्तीकै बासिन्दाले पनि प्रयोगमा ल्याएको हुन्छ । टोलछिमेकका दाजुभाइसँग बसिबियाँलो गर्ने तथा भजनकीर्तन गर्ने काम पनि गर्न सकिन्छ । 


फल्चाहरू एकै समयका नभएर विभिन्न समयमा विभिन्न व्यक्तिद्वारा निर्दिष्ट उद्देश्य राखेर निर्माण गरिएको हुन्छ । कतिपय फल्चाको निर्माणका सम्बन्धमा अभिलेख पनि राखिएको हुन्छ । यी अभिलेख ऐतिहासिक महत्वका हुने हुनाले कतिपय सन्दर्भमा यी महत्वपूर्ण ऐतिहासिक स्रोत पनि बन्न सक्छन्, साथै तात्कालिक सामाजिक परिवेशबारे यसबाट यथेष्ट मात्रामा जानकारी पनि पाउन सकिन्छ । प्रायः फल्चामा कुनै न कुनै देवताको मूर्ति पनि स्थापना गरिने भएका कारण यो धार्मिक स्थल पनि हो । 

फल्चा र सत्तलहरू वास्तु संरचना त हुन् नै, यिनले यति मात्रै दर्शन बोकेका भने हुँदैनन् । यो सभ्यतासँग पनि सम्बन्धित कुरा हो । यसकारण यी स्वतः ऐतिहासिक तथा सांस्कृतिक महत्वका कुरा भए  । 


सतः वा सत्तल (पौवा) धेरैजसो धार्मिक क्षेत्रको वरिपरि अलि ठूलो आकारमा विशेष महत्व दिएर निर्माण गरिएको हुन्छ । यो फल्चाभन्दा उपल्लो दर्जाको हुन्छ । एक्लैदुक्लै आउने तीर्थयात्री होऊन् वा समूहमा आएका, सबैलाई सत्तलले हार्दिक स्वागत गर्छ । मन्दिर दर्शनका लागि आएका तीर्थयात्रीहरू बस्ने तथा खानपानको व्यवस्था यही ठाउँमा हुन्छ । यहाँ रात बिताउने बन्दोबस्त पनि हुन्छ । सत्तल सञ्चालनका लागि गुठी वा त्यस्तै कुनै संस्था बनाइएको हुन्छ र त्यसको बन्दोबस्तका लागि आर्थिक स्रोत पनि निर्दिष्ट गरिएको हुन्छ । सत्तलको सेवा लिने कतिपयले आफूखुसी चन्दा हालेर जाने पनि गर्छन् । अथवा, बस्न आउनेहरूलाई सेवा गर्नका लागि दाता आफैँले पनि केही बन्दोबस्त गरेको हुन्छ । यसरी नै कतिपय गुठी तथा संस्थाको आफ्नो नियमित कार्यक्रम सत्तलमा गर्ने गरेको पनि पाइन्छ । तर, फल्चा र सत्तल व्यक्ति वा संस्थाले बनाउने भए पनि यी नितान्त रूपमा सार्वजनिक हुन्छन् । 


फल्चाभन्दा सत्तल अलि कलात्मक हुने गर्छ । कलाको पारखी समाज भएका कारण भवनको अवयवलाई यत्तिकै छाड्नुभन्दा कलाका बान्कीहरू कुँद्न लगाएर कला प्रदर्शन गरेको बुझ्न सकिन्छ । नेपालको मौलिक वास्तुकलाको चिनारी गर्न पनि आजभोलि फल्चा र सत्तलहरूको मर्मत तथा पुनर्निर्माण एउटा अवसर भइरहेको देखिन्छ । 


फल्चा र सत्तलको निर्माण सम्बन्धित पक्षले आफ्नो लागि नभएर अरूका लागि ध्यानमा राखेर नितान्त रूपमा समाजसेवाको भावनाबाट अभिप्रेरित भई गरेको हुन्छ । आफ्नो हितका लागि त जसले पनि ध्यान दिन्छ, तर अरूका लागि केही गर्नुपर्छ भन्ने उत्कृष्ट जीवनदर्शन बोक्ने समाजको प्रतिबिम्ब फल्चा र सत्तलको निर्माण हो । आफू बस्नका लागि आफ्नै घर भएकाहरू पुण्य कमाउने मनसायले यसकोे निर्माणतिर लाग्छन् । कामविशेषले सहरबस्तीमा पसेकाहरू आफन्त भए आफन्तकै घरमा पाहुना लाग्न जान्छन्, तर त्यस्तो केही नातासम्बन्ध नभएकाहरू विचल्लीमा नपरून् भनेर यसको निर्माण गर्ने हुन् । आफूले निर्माण गरेको फल्चा र सत्तलमा कोही आएर बसिदियो भने ती निर्माताहरू आफूलाई धन्यभागी ठान्छन् । यसरी आउने आगन्तुकलाई समस्या नहोस् भनेर टाढाको मूलबाटै भए पनि पानी ल्याएर चौबीसै घन्टा खानेपानीको बन्दोबस्त गरिदिएको हुन्छ । बाहिर वा परदेशबाट आफ्नो सहरबस्तीमा आउनेको हितमा यतिसम्म ध्यान दिनुले समाज कुन स्तरसम्मको सभ्यतामा पुगिसकेको भनेर जनाउ दिन्छ । 


नेवार बस्तीको व्यवस्थापन विगतमा जस्तो रूपमा भए पनि सभ्यताको उत्कृष्ट नमुना हो र यही भएर सबैबाट प्रशंसा पनि पाउने गरेको हो । त्यो बिरासत वर्तमानमा महँगो भइरहेको छ । उहिले व्यक्तिविशेषको आफ्नै खर्चले निर्माण गरेका संरचनाहरूको संरक्षण अहिले नगरपालिकालगायत विभिन्न स्थानीय सरकारी निकायको काँधमा आएको छ । यिनीहरूलाई आधुनिक दुनियाँमा टिक्नु मात्रै होइन, अरूसँग प्रतिस्पर्धा पनि गरेर अगाडि बढ्नु छ । भौतिक उन्नति जसले जति गरे पनि त्यो उसको पहिचान नहुन पनि सक्छ । पहिचानको निर्माण भौतिक उन्नतिले मात्रै नगर्ने सन्दर्भमा नेवार बस्तीका कलात्मक मठमन्दिर तथा पाटीपौवाहरू जबर्जस्त रूपमा सहायक भएका छन् । आजभोलि बाहिरबाट आउनेलाई खान बस्नका लागि होटेल र लजको व्यवस्था भए पनि विगतमा यही प्रयोजनका लागि फल्चा र सत्तलको निर्माण गरिथ्यो र निःशुल्क उपलब्ध हुन्थ्यो । 


नगरपालिकाहरूले आआफ्नो क्षेत्रको सम्पदा र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि भनेर आफ्नो बजेटमा विशेष महत्व दिँदा कतिपयले अनेकौँ टिप्पणी गर्ने गरेको नपाइने पनि होइन । कतिपयले यसलाई अनावश्यक भनेर कटौती हुनुपर्ने धारणा पनि व्यक्त गर्ने गरेको पाइन्छ । तर, यसलाई स्थानीय मूल्य–मान्यता वा जीवन दर्शनलाई आत्मसात् गर्न नसकेको अर्थमा लिनुपर्छ । मठमन्दिर, दरबार तथा अन्य सांस्कृतिक अवयवका साथै पाटीपौवा (फल्चा र सतः)हरू पनि सम्बन्धित नगरपालिकाहरूको इतिहास र सभ्यताको परिचायक हुन् । आजभोलिको जमानामा यी पाटीपौवाको के जरुरत छ भन्ने प्रश्न असान्दर्भिक छ, किनभने ती अझै पनि प्रयोगमा छन् र त्यसको उपभोग गर्नेलाई कम्ती ठान्नु हुँदैन । यी अनुत्पादक तथा सजावटका कुरा पनि होइनन्, बाहिरबाट आउने आगन्तुकका लागि सम्मान गर्दै केही व्यवस्था गरिदिनु पनि हो । र, यो यहाँको परम्परा पनि हो । 

सम्पादकको रोजाइ

सुझावित समाचार