जसलाई प्रकृतिको चिन्ता छ

शंकर थारूले बगरमा मिल्किएको जरामा कला मिसाए, त्यसपछि पर्यटक ओइरिन थाले

विवेक पोख्रेल विवेक पोख्रेल
शनिबार, २९ माघ, २०७८
डिजिटल संस्करण

बर्खामा राप्तीले बगाएर ल्याएका रुखका जराहरू बगरमा त्यसै मिल्किएका थिए । सामुदायिक वनमा पनि त्यस्ता जरा थुप्रै देखिन्थे । भरतपुर १३, गंगानगरका शंकर महतो थारूलाई त्यो मिल्किएको जरालाई कसरी आकर्षक बनाउन सकिएला भन्ने खुल्दुली लागिरह्यो । कोभिड–१९ का कारण निषेधाज्ञा जारी भयो । शंकरले त्यो समयलाई अवसरका रूपमा लिए । दैनिक १८ घन्टासम्म खटेर रूखका जरामा रंगरोगन गरे । शंकरले दर्जनभन्दा बढी रूखका जरामा कला मिसाएर चिटिक्क बनाए । त्यसपछि कुनै वेला बगरमा त्यसै मिल्किएका जरा हेर्ने पर्यटकको भिड बढ्न थाल्यो । कोही टिकटक बनाउन पुगे, कोही सेल्फी खिच्न पुगे । 


विदेशीको सिको गर्दै अम्रेला स्ट्रिट बनाउने प्रतिस्पर्धा चलेको वेलामा भरतपुर–१३ को छितामाईमा पुग्दा साँच्चै गाउँले परिवेशको झल्को मिल्छ । उनले जराको सदुपयोग मात्रै गरेनन् । उनकै सक्रियतामा छितामाई छत्री पुल, छितामाई काठेपुल पनि सम्पन्न भयो । उनकै अगुवाइ र सक्रियतामा थारू सांस्कृतिक संग्रहालय पनि चितवनमै बन्दै छ । 


एउटा जरालाई सिंगार्न उनलाई दुई हप्ता लाग्यो । बिहान चिया पिएर निस्किन्थे । आँखाले काम गर्न सकिन्जेल काम गर्थे । उनी खुसी हुँदै भन्छन्, ‘सुरुमा त के गर्न लाग्यो भन्नेहरू पनि अहिले प्रशंसा गर्छन् । दुई वर्षको लगातार कामको रिजल्ट देखिँदै छ । कामलाई निरन्तरता दियो भने हुने रहेछ ।’ छितामाई छत्री पुल बनाउन भरतपुर महानगरपालिकाले पनि सहयोग गरेको उनको भनाइ छ । अन्य संरचनाका लागि राष्ट्रिय निकुञ्ज र तराई भूपरिधि कार्यक्रमबाट पनि आर्थिक सहयोग मिल्यो । यो क्षेत्र नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यभित्रको क्षेत्र पनि हो । 

शंकरले दैनिक १८ घन्टासम्म खटेर रूखका जरामा रंगरोगन गरे । दर्जनभन्दा बढी रूखका जरामा कला मिसाएर चिटिक्क बनाए । त्यसपछि कुनै वेला बगरमा त्यसै मिल्किएका जरा हेर्ने पर्यटकको भिड बढ्न थाल्यो । कोही टिकटक बनाउन पुगे, कोही सेल्फी खिच्न पुगे ।


उनी आफ्नै गाउँको वन र वातावरण संरक्षणमा रमाएको १६ वर्ष भयो । उनी पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । समितिअन्तर्गत बेलसहर र वीरेन्द्रनगर सामुदायिक वन उपभोक्ता समूह छ । ‘उसिनेको फर्सी मात्रै खाएर पनि दिन काटियो’ शंकर भन्छन्, ‘दुःख गरेर आइएस्सीसम्म पढेँ ।’ कक्षा तीन पढेपछि उनका बुबाले चिठीपत्र पढ्न नसक्ने भइस् अब नपढ्नू भनेका थिए । तर, उनले मामाघर गएर पढे । पढाइ रोकिएपछि २०३४ देखि ०४८ सालसम्म विभिन्न विद्यालयमा अंग्रेजी र गणित विषय पढाए । उनी राजनीतिमा पनि लागे । तत्कालीन एकता केन्द्रको कार्यालय सचिव थिए उनी । उनी भन्छन्, ‘एक दिन मन्त्री बन्छु भन्ने सपना पनि देखेको थिएँ । तर, कहिल्यै पनि कसैको चाकरी गरेर अगाडि बढ्न खोजिनँ ।’ 

उनी सुकुमबासी हुन् । बेलसहर सामुदायिक वनछेउकै ऐलानी जमिनमा दुई छोरा र दुई छोरीसँगै बस्छन् । उनकी श्रीमती लामो समय बिरामी भएर २०६७ सालमा संसारबाट बिदा भइन् । उनको बहान साइकल हो । उनी प्रायः साइकलमै भेटिन्छन् । प्रकृति संरक्षणमा उनी दिनरात नभनी खटिरहन्छन् । तर, उनी आफ्नो कामप्रति अझै सन्तुष्ट छैनन् । ‘जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकिएन,’ उनी भन्छन्, ‘कहिले बजेट हुँदैन, कहिले टिम मिल्दैन ।’


शंकर लगातार तेस्रोपटक पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भए । पहिलो कार्यकालमा बजेट नै नआएपछि निकुञ्जमा आन्दोलन गर्न गए । दोस्रो कार्यकालदेखि केही बजेट आउन थाल्यो । भन्छन्, ‘अहिले बजेट त आयो तर कोभिडले कामै गर्न सकिएन ।’ उनले संरक्षणसँगै स्थानीयको आयआर्जनको लागि विभिन्न काम पनि गरेका छन् । मानव र जनावरको द्वन्द्व न्यूनीकरण गर्न वाल निर्माण भएका छन् । सामुदायिक वनलाई आकर्षक र पर्यटकीय स्थल बनाएका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार