बाढी र डुबान : उत्ताउलो विकासको परिणति

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण

हाम्रो भूराजनीति र भौगर्भिक परिस्थितिमा हामीले खोजेको विकास कस्तो हो ?

‘जान्नेलाई यो कुरा गहिरो छ,
नजान्नेलाई घरछेउमै पहिरो छ ।’

पहाडतिर चलनचल्तीको यो भनाइले हाम्रा लागि पहिरोको मर्म के हो भन्ने कुरा बताउँछ । अहिले पानी परेसँगै यो पहिरो हाम्रो जीवनको घरछेउमै आएको छ । पानी नपरे हाम्रो जीवन नै चल्दैन । अहिले पानी परेर रमाउँदै गरेका समुदायको जीवनमा यही पानी परेकै कारण गएको पहिरो, बाढी, कटान र डुबानले ठूलो वज्रपात भएको छ । 

त्यसो त अहिले आएको पहिरो, बाढीे, नदी कटान र डुबान यो कुनै आकस्मिक घटना होइन । गएका केही दशकदेखि यस्तो प्रकोप बढ्दै गएको भने अवश्य हो । आममानिसले कर्मको फल, दुर्भाग्य, दशा र प्राकृतिक प्रकोप भनेर बुझ्ने यो विपत्को मुख्य कारण भने आधुनिक विकास अर्थात् समृद्धि ल्याउन भन्दै जथाभावी गरिने प्रकृतिको दोहन हो । यसले पर्यावरणीय सन्तुलन बिगार्ने मात्र नभई पृथ्वीको सतहको गतिविधिलाई उत्ताउलो बनाउँछ । यसका साथै अनुपयुक्त ठाउँमा अव्यवस्थित संरचनाको निर्माणले यसलाई अझ भयानक बनाउँदै लगेको छ । गण्डकी नदीका तटीय क्षेत्रमा रहेका मनाङ, म्याग्दी, लमजुङ, भोटेकोसीको तटीय क्षेत्र मेलम्ची र अन्य धेरै तटीय बस्तीमा भएको तहसनहस यसैका केही उदाहरण मात्र हुन् । 

यो समस्या प्रकृतिको दोहन गरेर सभ्य र सुखी हुने उपनिवेशी अर्तीलाई जस्ताको तस्तै नक्कल गरेर विकास भिœयाउने बाँदरे प्रवृत्तिको प्रतिफल हो । हाम्रो आफ्नै विशेषता र प्रकृतिलाई बेवास्ता गरेर विकास भिœयाउँदा भएको विनाशलीलाको एउटा सानो उदाहरण मात्र हो । अरू घोडा चढे भनेर आफू धुरी चढ्ने नीति–निर्माता र नेतृत्वले गाउँसहरका किसान र अन्य समुदायलाई दिएको विकासे दानको परिणाम हो यो । अर्को अर्थमा यो विकासे छेडछाडविरुद्ध प्रकृतिले गरेको विद्रोह हो । तर, विडम्बना, प्रकृतिले गरेको सांकेतिक प्रतिरोधमा गाउँ–सहरका कमजोर समुदाय परेका छन् । 

वर्षा, हावाहुरी, जाडो, गर्मीजस्ता कुरा प्रकृतिको मौसमी चक्रका सामान्य र नियमित प्रक्रिया हुन् । सँगै वेला–वेला भूकम्प, ज्वालामुखी र यिनका कारण समुद्री आँधी र ज्वारभाटा आउने गर्छन् । यिनको सतहमा पर्ने चक्रीय प्रभाव प्रकृतिका सामान्य व्यवहार हुन् । यिनले गर्दा वेला–वेलामा हुने अप्रत्यासित मानिससँगै हुने अन्य जीवनको क्षति स्वाभाविक नै हो, तर प्रकृतिको अति दोहन गर्दै विकास भिœयाउन भन्दै बनाएका पूर्वाधार र अन्य संरचनाले मच्चिएको यो वितण्डा प्रकृति दोहनको मानवीय दण्ड हो । जसले गर्दा कतिपय अवस्थामा मानिसकै कारण अन्य प्राकृतिक जीवनको समेत अनाहकमा क्षति हुने गरेको छ । 

त्यसो त प्रकृतिको सतहमा हुने यी सबै हलचलले हाम्रो जीवनमा निम्त्याउने दुर्दशा भूगोल, आर्थिक सामाजिक वर्ग, जातजाति, लिंग र बसोवासका क्षेत्रअनुसार फरक–फरकसमेत छन् । जेसुकै भए पनि यसबाट उत्पीडित हुने भने समाजका कमजोर वर्ग र समुदाय नै हुन् ।

हाम्रो सन्दर्भमा, हिमाली तथा पहाडी भेगमा हिउँभन्दा पानी धेरै पर्न थालेसँगै यो भेगले सयौँ वर्ष लगाएर जगेर्ना गरेको उर्वर माटो सधँैका लागि गुमाएको छ । पानीका स्रोत र मुहान गुमाउँदै गएको छ । उपत्यका र तराई मधेसले मरुभूमीकरण, र डुबानसँगै तटीय बस्ती र खेतीपातीका उर्वर फाँट गुमाएको छ । जथाभावी बनेको संरचना, नदीजन्य खनिजको दोहनले यी क्षेत्रमा काल निम्त्याएको छ । 

डुबानका कारण जमिनको पानी सोस्ने क्षमता निरन्तर घटेको छ । अनुपयुक्त र सहरी क्षेत्रका अव्यवस्थित ढलनिकास र प्लास्टिक जथाभावी फाल्नाले सतहको पानी जमिनमुनि जान छाडेको छ । यससँगै अहिले सबैतिर सहरीकरणले कुरूप पारिएका खेतीयोग्य जमिनको पुनः उपयोग गर्ने र आवश्यकताअनुरूप खेतीका लागि योग्य भएको वनक्षेत्रको उर्वरशील भूमिलाई कृषिभूमिमा र अव्यवस्थित खेती र अन्य भोगचलनका कारण मरुभूमीकरण हुँदै गइरहेको छ । 

यी सबै उत्ताउला दोहनकारी कर्मले हिमालदेखि सीमासम्म नै हरेक वर्ष बाढी–पहिरो नदीकटान डुबानले मात्र अर्बाैं रुपैयाँको बालीनाली र वस्तुभाउको क्षति हुन्छ । यसले सीमान्त र वञ्चितिमा परेका समुदाय सबैभन्दा पीडित छन् । यसरी हेर्दा, कतिपय अर्थमा यो विपत् आमसमुदायका लागि नखाएको विष लागेको अवस्थासमेत छ । यो विपत् नै हाम्रोे चरम गरिबीको दुश्चक्रको एउटा महत्वपूर्ण कारक बनेको छ । यसबाट विचल्लीमा परेका लाखौँ मानिसको दिनचर्या बर्सेनि असामान्य हुँदै गइरहेको छ । 

यी सुन्दा सामान्य लाग्ने कारणहरूले गर्दा यस्तो भयानक परिणाम आएको हो भन्ने सामान्य ज्ञानसमेत यसका मुख्य जवाफदेही सरोकारवालाले गुमाएको अवस्था छ । जसरी नै यो वितण्डा मच्चाउने विपत्ति आयो, त्यसरी नै यसलाई बुझ्ने र व्यवहार गर्ने अनुपयुक्त सोच, विधि, तरिका र सीपसमेत यससँगै ल्याएका छौँ । यो कुराको प्रचार र बचाउ गर्न बाह्य ज्ञानमा मात्र भर पर्ने विवेकहीन साइबर विज्ञको जत्था नै खटाएका छौँ । जसले विपत् व्यवस्थापनका नाममा उतैबाट भिœयाएको ज्ञानमा मात्र भर परेर यी सबै समाधानको अचुक हतियार भन्दै समृद्धि सपना बाँड्ने दस्ताबेज बनाउने गर्छन् । यो कुरा धेरैजसो अध्ययन प्रतिवेदनमा गरिएका प्रस्ताव, सुझाब र योजना आयोग र सरकारका दस्ताबेजमा प्रस्ट देखिन्छ । 

वनविनाश, खनिज ऊर्जाको अति दोहन, उनुपयुक्त खेतीपाती प्रणाली, वातावरणीय ह्रासले निम्त्याएको जलवायु परिवर्तन यसका मूल कारक हुन् । यी सबैमा प्रकृति दोहनबाट मात्र मानिसको समृद्धि देख्ने सबै विकासे जिम्मेवार छन् । यसको जिम्मेवारी नलिने र यसलाई सच्याउने हठ नत्याग्ने हो भने हामीले यस्तो त्रासदी सधँै भोग्ने निश्चित छ । यो बाढीपहिरो, कटान र डुबान त उदाहरण मात्रै हुन् । थप व्यहोर्न त बाँकी नै छ । 

यसर्थ प्रकृतिलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने फराकिलो दृष्टिकोणविना दिगो विकास र समृद्ध नेपाल सम्भव छैन । मुख्य त खाना र अन्य व्यवहार चलाउन भन्दै भित्र्याएको विकासे सोचमा आधारित खेतीपाती र प्रकृति दोहनका अन्य उत्ताउला क्रियाकलापले प्रकृतिको सतहको निरन्तर विघटन भएको हो भन्ने कुरा आत्मसात् गरी यस्तो गतिविधि रोक्न र यसको पुनर्जीवनका लागि यसैका नियमबाट सिकेर सच्याउन ढिला भएसकेको छ । यो निश्चय नै हामी सबैका लागि निकै पेचिलो प्रश्न हो ।

वर्षा र बाढीसँगै आउने विपत् मुख्यतः हाम्रो पर्यावरणीय विशेषताअनुरूपका भूउपयोगको ढाँचा, पूर्वाधार र विकास संरचना बनाउने सोच नपुग्नुको परिणाम हो । अहिले बाँडेको विकास, आधुनिक हुने भन्दै बनाएका संरचना र अपनाएको प्रकृति दोहनमा आधारित प्रणाली नै यस्ता विपत्को मुख्य कारक हो । यसरी हेर्दा, भूबनोट र भौगोलिक विशेषताका आधारमा कस्तो खेतीपातीको पद्धति र यसैका आधारमा दिगो खाद्य प्रणाली, भौतिक संरचना, पूर्वाधार, घरबार, बस्ती र कस्ता जीविकाका आधार निर्माण भन्ने कुरामा व्यापक बहस र सुझबुझ चाहिएको छ । 

सदाझैँ यसपटक आएको बाढीले हाम्रो मानवीय र जीवनका आधार भत्काउँदै जाँदा एउटा आधारभूत प्रश्न उठेको छ । हाम्रो भूराजनीति र भौगर्भिक परिस्थितिमा हामीले खोजेको विकास कस्तो हो ? यो संयोगजस्तो देखिए पनि यिनमा एक खालको समानता छ । जसरी हामी भूगर्भीय हिसाबले दुई ठूला प्लेटको चपेटामा छौँ, त्यसरी नै यी मुलुकको अर्थराजनीति र सामरिक रणनीतिको चेपमा परेको छौँ । यो यथार्थ आत्मसात् गरेर हाम्रै विशेषताको समाज विकासको दृष्टिकोण र अभ्यासको विकल्प छैन । 

यस अर्थमा हामीले अपनाएको परम्परागत उपनिवेशी ढाँचाको विकास र यसको एकाकी दृष्टिकोण र योजनामा पुनर्विचार गर्नैपर्छ । जहिलेसम्म यो कुरा आत्मसात् गर्न सक्दैनौँ, तहिलेसम्म हरेक वर्ष बाढी र डुबानको विपत् हामी निम्त्याइरहनेछौँ । सँगै उत्पन्न संकटले प्रकृतिको सतहलाई उत्ताउलो बनाउँदै जीविकाको आधार क्षत्–विक्षत् बनाइरहनेछौँ । 

त्यसो त हाम्रै समाजमा पनि यस्तो उल्टो सोच, गन्तव्य र यात्रा सच्याउन आवाज र आन्दोलन नउठेका होइनन्, यो क्रम अहिले पनि जारी छ । यसले सबैतिर प्रकृतिलाई उत्ताउलो बनाउने खनिजस्रोतमा आधारित विकासको बाटो फेर्न दबाब बढिरहेको छ । तर, वातावरणवादी र स्थानीय समुदायका मधुरा आवाजले मात्र शासकको चेत खुलेन । 

सँगै यस्तो विपत् निम्याउन र दोहनकारी योजना बनाउन हामीले साथ दिएका शासक नै सुखी नेपालीका बाधक हुन् । दीर्घकालमा यस्ता शासक र तिनका दलाललाई सत्ताच्युत नगरेसम्म नेपाल र नेपालीका सुदिन फर्किंदैनन् । तसर्थ आउनुहोस् यो विपत्का कारण र परिणामलाई सँगै फर्केर हेर्न र सच्याउन प्रतिबद्ध बनौँ । तर, अहिले भने यसैका कारण बाँकी जीवन अभाव, भय र असुरक्षामा बिताउन विवश हुने सबैको उद्धार र मलमपट्टीमा एकजुट भएर लागौँ । यो नै यस विपत्मा अनाहकमा ज्यान गुमाउनेप्रति सच्चा श्रद्धाञ्जली र समुदायप्रति समवेदना हुनेछ । 

अन्त्यमा, विपत्का वेला राहतका झारा टार्न र गोहीका आँसु झार्न छाडेर विवेकशील भई यसलाई फर्केर हेर्न र सच्याउन ढिला नगरौँ । अन्यथा अमेरिकी लेखक तथा चर्चित अर्थशास्त्री रोबर्ट हेलब्रोनरले भनेझँै मानिसले मनभित्रैबाट लिएर आफ्नो व्यवहार नफेर्ने हो भने सचेत प्रयासबाट होइन, बाह्य शक्ति र घटनाले, हिसाब गरेर होइन, बर्बाद गरेर प्रकृतिले आफैँ सच्याउँछ । सबैलाई चेतना भया । 

सम्पादकको रोजाइ

सुझावित समाचार