मध्य पहाडी क्षेत्रको फेरिँदो वन पर्यावरण

वन क्षेत्र विस्तार भएको छ । तर, वनभित्र वन्यजन्तुलाई चाहिने खानेकुरा छैन ।

युवराज भट्टराई युवराज भट्टराई
शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण

सन् १९५० देखि १९८० भित्र नेपालको आधा जंगल मासियो । पहाडी क्षेत्रमा तराईमाझैँ जंगल मासिएको नदेखिए पनि ९० को दशकमा आइपुग्दा नेपाली जंगल कुल क्षेत्रफलको ३० प्रतिशतमा सीमित भइसकेको थियो । एफएओ (फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन)का अनुसार सन् १९९० देखि २०१० सम्ममा मात्रै प्रत्येक वर्ष ५९,०५० हेक्टर (१.२३ प्रतिशत) का दरले वनविनाश हुँदा २४.५ प्रतिशत अर्थात् १,१८१,००० हेक्टर वन नासिएको देखिन्छ । तर, पछिल्लो समय सामुदायिक वनको अवधारणा सफल बनिसकेपछि नेपालको वनक्षेत्र विस्तारमा उल्लेखनीय सुधार भएको पाइन्छ ।

 पछिल्लो डिपार्टमेन्ट अफ फरेस्ट रिसर्च एन्ड सर्भे र नेसनल फरेस्ट प्रोडक्स सर्भे प्रोजेक्टको संयुक्त अध्ययनअनुसार कुल भूभागको ४४.७४ प्रतिशत अर्थात् ५,९६२,४३८ हेक्टर वनक्षेत्रले ढाकेको छ । त्यस्तै, पहाडी क्षेत्रमा उल्लेख्य ३७.८, उच्च पहाडीमा ३२.२८ चुरेमा २३.०४ र तराइमा ६.९० प्रतिशत भूमि वनले ढाकेको छ । 


वन विस्तार हुनु सकारात्मक छ र झट्ट हेर्दा मध्य तथा उच्च पहाडी क्षेत्रको पर्यावरणमा उल्लेख्य सुधार भएको भान हुनु स्वाभाविक हो । तर, पछिल्ला केही परिणामले स्थिति सकारात्मक छ भन्दैन । बढ्दो मानव र वन्यजन्तु द्वन्द्व यसको ज्वलन्त उदाहरण हो । बँदेल, भालुलगायतका वन्यजन्तु मानव बस्तीमा छिरेर अन्नबाली खाइदिने त प्रायः उच्च र मध्य पहाडी क्षेत्रको साझा समस्या हो । यसको खासै समचार पनि बनिरहँदैन । यद्यपि, फरक–फरक ठाउँमा चितुवा र बाँदर आतंकका समाचारले भने केही वर्षयता उल्लेख्य स्थान पाइरहेका छन् । 

उदाहरणका लागि तनहुँतिर लागौँ । तनहुँमा मात्रै २०१८ मार्चदेखि जनवरी २०२० सम्ममा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाइसकेका छन् भने अरू चार घाइते भएका छन् । भानु नगरपालिकामा मात्र ६ जना मारिएका थिए भने शुक्लागण्डकी र खैरेनीमा अरू एक–एकजना मारिएका थिए । सामान्यतया, बाघ र चितुवाले शारीरिक रूपमा अशक्त हुँदा मात्र जंगलको प्राकृतिक आहारको सिकार गर्न नसकेर मानिसलाई आक्रमण गर्ने गर्छन् । चितुवाको हकमा अलिकति फरक छ । यिनले पल्केर पनि सजिलोका लागि बालबालिका ओसार्छन् । तर, तनहुँको केस केही फरक छ ।

दुई–दुई चितुवा पासोमा परिसक्दा पनि चितुवा आतंक रोकिएन । न त त्यहाँ नरभक्षंी चितुवा एउटा मात्र थियो न घाइते नै । भानु नगरपालिकाका स्थानीयका अनुसार जंगलमा आहारको अभावमा चितुवा गाउँ पस्ने गर्छन् र बालबालिकालाई निशानामा पार्छन् । आसपासको जंगल त घना छ, तर त्यहाँ सिकार जीवजन्तु छैनन् । स्थानीयका अनुसार, त्यहाँको जंगलमा बाँदरको झुन्ड पनि आक्कल–झुक्कल मात्र आउँछ । फलस्वरूप सिकारकै अभावका कारण तनहँु र कास्कीलगायतका क्षेत्रमा मानव–चितुवा द्वन्द्व अकासिएको छ । भलै वनक्षेत्रको उल्लेख्य वृद्धि भएको किन नहोस् ।

मानव–चितुवा द्वन्द्वभन्दा अर्को विनाशक द्वन्द्व छ बाँदर र मानवबीचको । लगभग अधिकांश ग्रामीण पहाडी परिवेश यसबाट गुज्रिरहेको छ । डेढ वर्ष पहिला सम्भवतः पहिलोपटक धनकुटा नगरपालिकाले बाँदर समातेर स्थानान्तरण गर्न भारतदेखि स्थानीयहरू भाडामा ल्याएर खटायो । पछि अन्य धेरै पहाडी क्षेत्रका स्थानीय निकायले पनि यो विधि अपनाए । धेरै स्थानीय निकायले अहिले पनि ठूलो राशी बाँदर नियन्त्रणका लागि छुट्याएका छन् । धेरैतिर बाँदर तर्साउने यन्त्र बन्दै छ । यसले पनि बाँदर आतंकको पछिल्लो अवस्था उजागर गर्छ ।

बाँदर आतंकको वृद्धिको पछाडि बाँदरको संख्यामा आएको उल्लेख्य वृद्धि पनि एउटा कारण हुन सक्छ । २००८ को केही खास स्थानमा गरिएको सर्भेले पनि यो देखाएको छ । त्यसो त बाँदरविज्ञ मुकेश चालिसेका अनुसार पनि सन् २०१३ मा गरिएको देशव्यापी मोटामोटी सर्वेक्षणमा २५ प्रतिशतले बाँदरको संख्यामा वृद्धि आएको छ । स्थानीय पनि यस कुरामा सहमत छन् ।

दुई वर्षपहिला, भोजपुर देउरालीकी एक कृषकले भनेकी थिइन्, ‘मैले यति ठूलो बाँदरको झुन्ड पहिला कहिल्यै देखेकी थिइनँ । २५ रोपनी बारीमा लगाएको मकै सक्न तिनलाई जम्मा अढाई घन्टा लाग्यो । एक्लैले धपाउन/हर्काउन सक्ने कुरै भएन ।’ किन बढ्दो छ त बादर आतंक ? ती स्थानीय महिला र बाँदरविज्ञ चालिसेको मुख्य तर्क एउटै छ । पहिला जंगल छेवैसम्म छेउ–कुना सबैतिर अन्नपात लगाइन्थ्यो, बाँदर त्यतैतिर अल्मलिन्थे । तर, आजकाल ग्रामीण परिवेशको कामदार शक्ति बाहिरिएको छ र अधिकांश जमिन बाँझो छ । मान्छेले लगाउने अनाज खान पल्किएका बाँदरहरू आजकाल माझ गाउँमै पस्ने गरेका छन् । 


यी दुवै आतंकमा केही समानता छन् । एकातिर चितुवाको र अर्कोतिर बाँदरको संख्यामा र चहल–पहलमा वृद्धि भएको छ । दुवैतिर वनक्षेत्र पनि विस्तार भएको छ । यद्यपि, यी दुवै वन्यजन्तुलाई वनक्षेत्रभित्र खानेकुराको भने अभाव छ र मानिसमा निर्भर हुनुपर्ने अवस्था आएको छ । ‘पहिला डाँडैपिच्छे झ्याम्म परेको वरका रूख थिए । सिजनमा बाँदर त्यतै झुम्मिन्थे र भुल्थे,’ एक स्थानीय शिक्षकको तर्क थियो । अधिकांश पुराना वरपीपल र चौतारा मासिइसकेका छन् । कतिपय बाटो विस्तारले त कतिपय घाँसका लागि जथाभावी काटिनाले ।

नयाँ चौतारा बनाउने परिपाटी पनि हराइसकेको छ । यसले पनि बाँदरलगायत कतिपय चराचुरुंगीको खाद्य स्रोत मासिएको छ । कुरो ग्रामीण क्षेत्रका वर–पीपल मासिनुमा मात्र सीमित छैन, स्वयं वनक्षेत्रमा पनि फलफूल  तथा खाद्यजन्य वनस्पतिको अभाव छ । साल, सिसौ, सल्ला, खयरजस्ता टिम्बरप्रधान रूख संरक्षितको सूचीमा छन् भने असारे जामुनो, क्यामुनो, अंगेरी, ऐसेलुजस्ता फलफूल जन्य र टुसा–मुना र पात खान मिल्ने, काठको उपयोगको हिसाबले अनुपयोगी वनस्पतिलाई बेवास्था गरिने गरिएको छ । 

यस्ता वन पैदावर घाँस–दाउराका लागि विनारोकतोक उपयोग गरिन्छन् भने जंगल गोडमेलको नाममा व्यापारिक हिसाबले नाफामूलक रूख मात्र राखिन्छन् । डा. चालिसेको पनि यही नै निचोड छ कि हाम्रा जंगल आमवन्यजन्तुलाई हितकर हुने नभईकन मानवीय स्वार्थअनुकूलका रूपमा विकसित भइरहेका छन् । यिनीहरू प्राकृतिक नभई ‘मनोकल्चरल’ बन्दै छन् र त्यहाँबाट दिनानुदिन वन्यजन्तु विस्थापित भइरहेका छन् । जसका कारण पर्यावरणीय सन्तुलन खलबलिँदै छ । 

‘मनोकल्चरल प्लान्टेसन’को सबैभन्दा चुस्त उदाहरण हो सल्लाघारी । सल्लाघारीले पर्यावरणीय क्षेत्रमा पुर्याएको विकराल असरको सम्बन्धमा ‘काठमान्डौ पोष्ट’ले गत पुसमा लामो फिचर नै प्रकाशित गरेको थियो । छिरिङ न्यागदुप लामाको सिन्धुपाल्चोकको अन्तली गाउँको रिपोर्ट थियो । लामाका अनुसार, तीस वर्षपहिलासम्म बन्जर रहेको पहाडमा सल्ला रोपियो । सल्लाको जंगल हुर्किएर घना जंगल त भयो, तर त्यस इलाकाका कुल दश कुवा–धाराको पानी बिस्तारै घट्दै गयो । २०१० सम्मको २० वर्षको अवधिमा कुल आठ मूल ठ्याप्पै सुक्यो भने बाँकी दुई मूल पनि भूकम्पपछि सुक्न पुग्यो । गाउँमा खानेपानीकै हाहाकार हुने अवस्था आयो । 

अत्यधिक पानीको शोषण गर्ने सल्लाले पानी सुकाउँदै जमिन बन्जर र रुखो मात्र बनाउँदैन, अन्य सिरु–दुबोजस्ता घाँस र चुत्रो, ऐसेलु, तितेपातीजस्ता ससाना बोटविरुवालाई पनि उम्रन र हुर्कन दिदैँन । यस्तो जंगलमा बाँदर, चराचुरुंगी र अन्य ससाना सिकार प्राणीले आफ्नो खानेकुरा भेट्दैनन् र विस्थापित हुन्छन् भने चितुवा र वनबिरालोजस्ता सिकारी प्राणीलाई पनि न त्यहाँ आहारा मिल्छ न सुरक्षित वासस्थान नै । यस्ता एकल प्रजातीय ‘मनोकल्चरल’ वृक्षरोपणका कारण पनि कतिपय पहाडी वन पर्यावरणीय चक्रमा खलल पुगेको छ र मानव वन्यजन्तु द्वन्द्व निम्त्याएको छ ।

८० को दशकमा सरकारले सुरु गरेको वृक्षरोपण कार्यक्रमले पर्यावरणीय पक्षलाई नजरअन्दाज गर्दै जंगललाई आर्थिक उपार्जनको साधनका रूपमा मात्र लिँदै सल्लो रोपणलाई मुख्य प्रथामिकता दिनुको परिणाम हो यो ।दक्षिण एसियामा यस्तो ‘मनोकल्चरल प्लान्टेसन’का जरा सीधै इस्ट इन्डिया कम्पनीसँग गएर जोडिन्छ । पर्यावरणीय पक्षलाई लत्याउँदै आर्थिक पक्षलाई मात्र ध्यानमा राखेर तिनले विभिन्न ठाउँमा लगाएको ‘टिक प्लान्टेसन’लाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ । केरलाको वायनाद वन्यजन्तु आरक्षण यसको दृष्तान्त हो ।

वायनाद संरक्षण क्षेत्रको ठूलो हिस्सा ‘टिक प्लान्टेसन’ले ढाकेको छ । ‘टिक’ यहाँको रैथाने वनस्पति होइन, हलुका र बलियो टिकको काठ पानीजहाज र फर्निचरका लागि महत्वपूर्ण मानिन्छ । उच्च आर्थिक महत्व बोकेको ‘टिक प्लान्टेसन’लाई ब्रिटिस इस्ट इन्डिया कम्पनीले अभियानकै रूपमा अघि सारेको थियो । टिक प्लान्टेसनले त्यहाँ अन्य स्थानीय वनस्पतिलाई उम्रन र हुर्कन दिएन, जंगलमा एकाधिकार जमायो । हात्तीले टिकको पात खाँदैन, यसले यसको आसपास अन्य वनस्पति र घाँस उम्रन दिँदैन । फलस्वरूप आहाराका लागि सयौँ हात्ती यो जंगलबाट विस्थापित हुनुपर्यो । त्यति मात्र होइन, हिउँदमा टिकका सुकेको पातले भुइँ भरिन्छ– आक्कल–झुक्कल लाग्ने डढेलोले जंगल ढाक्छ र कमिला–गड्यौलालगायतका जमिनमा आश्रित ससाना प्राणीहरूको पनि विनाश निम्त्याउँछ । (रिथिङ्किङ ह्युमन इलिफेन्ट कन्फ्लिक्ट इन साउथ एसिया) 

सल्ला र टिकको वन त काठका लागि मानिसद्वारा निर्मित एकल स्वरूपीय वन हो । दुवै प्रजाति आयातीत हुन् । आयातीत वनस्पति मात्र होइन, स्वतःस्फूर्त रूपमा मुख्यतया अमेरिका, मेक्सिको र वेस्ट–इन्डिजबाट भित्रिएका मिचाहा वनस्पतिले पनि नेपालको प्राकृतिक वन र पर्यावरणमा इतिहासदेखि नै विषम परिस्थिति सिर्जना गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय वनस्पति केन्द्रीय विभागका अनुसार, दुई सय १९ यस्ता वनस्पतिहरू नेपाल भित्रिएका छन्, जसमध्ये सेता बनमारा (क्रोमोलाइना ओडोराटा) माइल अ मिनेट (मिकानिया मिक्रान्था), जलकुम्भी (इचोर्निया क्रासिपस) र गन्धे फूल  (लान्टाना कामरा) नेपालमा (विशेषत : पूर्वी र मध्य)मा अत्यधिक मौलाएको छ । बनमारा भित्रिएको त झन्डै दुई सय वर्ष हुन लागिसकेको छ । 

उदाहरणका लागि, पूर्वी पहाडको अरुण उपत्यकाआसपासमा ४५–५० वर्षअघि वनमारा यसरी फैलिएको थिएन । तर, विगतको आधा शताब्दीमा यो यसरी फैलियो कि खेतीजन्य जमिनबाहेक कुनै कुना–कन्दरा यसले बाँकी राखेन । फलस्वरूप बस्तुभाउ र जंगली जन्तुको चरन क्षेत्र नासिँदै गयो । दुई–चार वर्षयता बनमाराले बिस्तारै आफ्नो साख गुमाउँदै छ भने त्यसको क्षेत्र अब माइल अ मिनेट (मिकानिया मिक्रान्था)ले लिँदै छ ।

यसको रफ्तार वनमाराको भन्दा कैयौँ गुणा तीव्र छ र यसले जस्तोसुकै वनस्पतिलाई पनि ढाकेर मार्ने हैसियत राख्छ । त्यसैगरी, अहिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाहिरी क्षेत्रमा गन्धे पूmल (लान्टाना कामरा)ले ढाक्दै गरेको पाउन सकिन्छ । गन्धे पूmल (लान्टाना कामरा) नै भारतमा बाघको वासस्थान विनाशको एउटा कारण भएको निचोड भर्खरै ‘मोङ्वे डटकम’मा प्रकाशित भएको थियो ।


तसर्थ, चाहे त्यो विचार नपुर्याई गरिएको ‘मनोकल्चरल प्लान्टेसन’ होस् या आगान्तुक वनस्पतिको मिचाहा प्रवृतिको परिणाम, शिवालिक तथा मध्य पहाडी शृंखलाका वनहरू सही मानेमा वन्यजन्तुको उचित आश्रयस्थल बन्न सकेका छैनन् । यसकै कारण वनक्षेत्रमा क्रमिक विस्तार आउँदा–आउँदै पनि बाँदर र चितुवालगायतका केही निश्चत प्राणी र मानवबीचको द्वन्द्वको अवस्था सिर्जना भएको अनुमान लगाउन सकिन्छ । 


तर, यो पर्यावरणीय सन्तुलनको जटिलता यतिमा मात्र सीमित छैन । हाम्रा वनहरू कत्तिको वन्यजन्तुमैत्री छन् भन्ने बारेमा अझै प्रचुर अनुसन्धानको खाँचो छ । वन्यजन्तुमैत्री नभए कसरी बाँदर र चितुवाको संख्यामा वृद्धि भइरकेको छ भन्ने अर्को प्रश्न पनि तेर्सिन्छ । ठाउँअनुसार कुनै निश्चित प्रजातिको संख्यामा घटबड हुनुमा विविध कारण हुन सक्छन् ।

यद्यपि पूर्णतः जमिनको घाँसमा आश्रित हुने खरायो, हरिण र मृगका प्रजातिमा ठूलो गिरावट आएको देखिन्छ । जहाँसम्म चितुवा र बाँदरको संख्या वृद्धि छ केही अनुभवका आधारमा कतै पहाडी क्षेत्रबाट पाटेबाघको विस्थापन पनि एउटा प्रमुख कारणका रूपमा अन्दाज गर्न सकिन्छ । भलै अनुसन्धानविना प्रमुख कारण हाबी गर्नुचाहिँ एउटा मूर्खता मात्रै हो । 


जब सन् २००५ मा राजस्थानको सारिस्का टाइगर रिजर्भमा सबै बाघको चोरी–सिकारी भएर संख्या शून्यमा झरेको थियो, रिजर्भको सबैतिर चितुवाको बिगबिगी बढेको थियो । तिनको संख्या पनि जहीँकहीँ देखिन्थ्यो । हाइना र स्याल पनि बढेका थिए । बाघ लोप हुँदा के–कसरी चितुवाको गतिविधिमा वृद्धि हुने गर्छ भन्ने वैज्ञानिक अध्ययनको अभाव छ । उल्लेखित उदाहरण बाघविद्द्वय फत्ते सिंह राठौर र बाल्मिक थापरको अनुभव हो ।

बाल्मिक थापर आफ्नो पुस्तक ‘टाइगर फायर’मा लेख्छन् ‘चितुवा बाघको स्वाभाविक आहारा होइन, तर दुवै एउटै वर्गको सिकार समूहमा आश्रित हुने हुँदा बाघले चितुवाको सिकार खोस्ने र सके तिनलाई मार्ने र लखेट्ने गर्छ ।’ उनका अनुसार, रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि हुर्कँदै गरेका केही चितुवा बाघद्वारा मारिन्छन् । तर, पछिल्लो रिपोर्टअनुसार, नेपालमा चाहिँ निकुञ्जभित्र एकै ठाउँमा बाघ र चितुवाको संख्या सँगसँगै वृद्धि भएको छ । यो हास्यास्पद मात्र छैन, बाघको वृद्धिको दाबी पनि शंकाको घेरामा परेको छ । किनकि अनुभवले भन्छ, अन्य परिस्थिति यथावत् रहे बाघको संख्या घट्दा चितुवाको बढ्ने गर्छ । 


गण्डकी नदीका करिडोर तथा तनहँुका क्षेत्र पनि हिजोका सम्भावित बाघ क्षेत्र हुन् भलै एक–दुई बाघ आक्कल–झुक्कल मात्र किन नदेखिऊन् । कहिलेसम्म त्यतातिर बाघ लाग्ने गथ्र्याे र कत्तिको फ्रिक्वेन्ट्ली लाग्ने गथ्र्यो त्यसको विगतलाई अनुसन्धान गरेर चितुवाको संख्या वृद्धिको अर्को सम्भावित कारणको अध्ययन गर्न सकिन्छ । 


पहाडी रिभर करिडोरबाट पाटेबाघ कसरी विस्थापित भए सम्बन्धमा अरुण उपत्यका क्षेत्रको अनुभव पनि केही हदसम्म प्रभावकारी बन्न सक्छ । ३०–४० वर्ष पहिलासम्म तुम्लिङटारआसपासका अरुण नदी करिडोरका सालघारीमा नियमितजस्तो बाघ पाइन्थ्यो । कतिपय बाघविद् पहाडमा चितुवालाई बाघ भन्छन् भनेर यो तथ्यलाई नकार्छन् भने कतिपय भने ती त्यहाँ टोरेटोरियल बाघ नभई अन्तबाट विस्थापित भएर यदाकदा आक्कल–झुक्कल पुग्ने गरेको तर्क अघि सार्छन् । तर, त्यहाँका अधिकांश पटक–पटक बाघको सम्पर्कमा आएका स्थानीय अझै पनि ‘थेक्ले’ र ‘पाटे’ भनेर प्रस्टसँग चितुवा र बाघ छुट्याउँछन् । के ती बाघ अन्तबाट विस्थापित भई वर्षमा एकाधपल्ट झुल्कने गर्थे वा ती त्यहाँ ‘इलाका’ नै ओगटेर बस्ने रैथाने बाघहरू थिए ? 


४०–५० वर्षअघिसम्म अरुण नदीआसपासको एक–डेढ सय वर्ग किलोमिटर क्षेत्रभित्र हप्ता–दश दिनको अन्तरालमा कहीँ कतै बस्तुभाउ मारिइरहेका हुन्थे । नियमितजसो कसै न कसैको घाँस–दाउरा र गोठालो जाँदा बाघसँग देखादेख हुन्थ्यो ४०–४१ सालतिर हज्जारे भन्ने ठाउँको आसपासमा एउटी बघिनीले दुई डमरुहरू हुर्काएकी थिई । यस अर्थमा मध्य पहाडी क्षेत्रका ठूला नदी करिडोरआसपासमा त्यसबखत आफ्नो इलाका आगटेरै बसेका बाघहरू पाइन्थे । जिम कुर्बेले मारेका उत्तराखण्डका अधिकांश बाघहरू पनि मध्य पहाडी क्षेत्रका निश्चित इलाकामा कब्जा जमाएर बसेका बाघ थिए । यस अर्थमा ५० वर्ष पहिला निर्जन पहाडी वनहरू र रिभर करिडोरसमेत बाघहरूको क्षेत्र रहेको आकलन गर्न सकिन्छ ।

बाघलाई बाँच्नलाई ठुल्ठूला समूहमा रहेन साम्बार, हरिण, चित्तल बाह्रसिंगाजस्ता वन्यजन्तु भएको स्थान चाहिन्छ ताकि तिनलाई आहाराको अभाव नहोस् । पहाडी इलाकामा जंगलमा यो सम्भव छैन । त्यसैले, इलाका नै लिएर बाघहरू पहाडमा रहँदैनन् भन्ने धेरैको तर्क छ । तर, विगतमा बाघ पाइने नदीआसपासका बेँसी क्षेत्रमा व्यापक गाईबस्तुको बथान हुने गथ्र्यो । तिनको चरन क्षेत्र पनि वन र सालघारी नै हुन्थ्यो । सय वर्ग किलोमिटर क्षेत्रभित्र हजारौँको संख्यामा बस्तुभाउ जंगल चर्थे जो त्यतिवेला बाघको स्वाभाविक आहारामा पर्थे ।


आजकाल पशुपालनको यो शैली हराइसकेको छ भने मुख्य नदी करिडोर क्षेत्र पनि बिस्तारै व्यापारिक केन्द्र बन्न र सहरीकरणतिर अग्रसर छ । राजमार्गको विस्तार पनि यिनै करिडोरका आधारमा गरिएको छ । यसले स्वाभाविक रूपमा मध्य पहाडी क्षेत्र र नदी करिडोरबाट बाघलाई विस्थापित पारेको छ । तराईका जंगलसँगको कनेक्सन पनि टुटेको छ । बाघको अभावमा चुरे तथा पहाडी क्षेत्रमा चितुवा र बाँदरको जैविक नियन्त्रण संयन्त्र पनि भत्किएको छ र संख्या बढ्दो भएको आकलन गर्न त्यति गाह्रो हुँदैन । यद्यपि, यसको विस्तृत अध्ययनविना ठ्याक्कै यही नै प्रमुख कारण हो भनी निष्कर्ष निकाल्न हतारो हुनेछ । 

(भट्टराई ‘रिभर करिडोर क्षेत्रबाट कसरी बाघ हराए’ भन्ने विषयमा अनुसन्धानरत छन् ।)

सम्पादकको रोजाइ

सुझावित समाचार