मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
अजित अधिकारी काठमाडाैं
२o८२ भदौ ३० सोमबार o८:१२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामै ७०%सम्म महँगियो तरकारी

बेमौसमी उत्पादन र भारतीय आलु, प्याज, गोलभेँडाको भाउ बढ्न थालेको व्यवसायीको भनाइ, स्वदेशी उत्पादनको भने भाउ घट्यो

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार o८:१२:oo

हरियो तरकारीको भाउ बढ्न थालेको छ । पछिल्लो एक सातामा करिब दुई दर्जन तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सबैभन्दा बढी चिचिन्डो सातामा प्रतिकिलो १७ रुपैयाँबाट २९ रुपैयाँ पुगेर १२ रुपैयाँ महँगिएको हो ।

चिचिन्डोको भाउ ७०.५९ प्रतिशत बढेको हो । त्यस्तै, साताअघि ४५ रुपैयाँ औसत मूल्य रहेको भिन्डीको कालीमाटी बजारमा आइतबार ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ । भिन्डीमा प्रतिकिलो ३० रुपैयाँ (६६.६७ प्रतिशत) भाउ बढेको हो । व्यवसायीका अनुसार बेमौसमी उत्पादन र भारतबाट आयात हुने सीमित तरकारीमा मूल्य बढ्न थालेको हो । आन्तरिक उत्पादन पर्याप्त भएका केही तरकारीको भाउ भने घटेको छ । 

भारतबाट आयात भएको गोलभेँडा, रातो आलु र सुकेको प्याजको भाउ पनि सामान्य वृद्धि भएको कालीमाटी बजारले जनाएको छ । २२ भदौमा ७४.७५ रुपैयाँ प्रतिकिलो रहेको भारतीय गोलभेँडाको शुक्रबार औसत मूल्य ७७ रुपैयाँ निर्धाण भएको थियो । त्यस्तै, २६.४० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलुको ३७ रुपैयाँ मूल्य निर्धारण भएको थियो । भारतीय गोलभेँडा र आलुको औसत भाउ क्रमशः २.२५ रुपैयाँ र १०.६ रुपैयाँ प्रतिकिलो बढेको हो । त्यस्तै, सुकेको प्याजको भाउ एक रुपैयाँ बढेर प्रतिकिलो ३८ निर्धारण भएको छ । मुडेको रातो आलु पनि पाँच रुपैयाँ बढेको छ ।

कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतबाट आयातमा केही समस्या भएकाले मूल्यमा सामान्य अन्तर आएको जानकारी दिए । ‘भन्सारमा भएको समस्याले भारतबाट आउने आलु र गोलभेँडामा केही कमी छ, त्यसैले भाउमा असर परेको हो,’ उनले भने, ‘अहिले आलुको भाउ बढ्ने सिजन पनि हो । आउँदा दिनमा अब आलुको भाउ उकालो लाग्छ ।’

उनले कालीमाटी बजारमा सामान्य अवस्थाकै परिमाणमा तरकारी भित्रिन थालेको जानकारी दिए । ‘शनिबार कालीमाटी बजारमा आठ सय ५० टन तरकारी भित्रिएको थियो । आइतबार दिउँसोसम्म चार सय ५० टन आइसकेको थियो । रातिसम्म करिब नौ सय टनसम्म आइपुग्ने व्यापारीले जानकारी दिएका छन्,’ उनले भने, ‘मागअनुसार नै तरकारी आइरहेको छ । अधिकांशको भाउ पनि स्थिर नै छ ।’

कालीमाटी बजारका अनुसार बोडीको भाउ तुलनात्मक रूपले बढेको छ । एक सातामा तुनेबोडी १८ रुपैयाँ र मकैबोडी ३५ रुपैयाँ बढेको छ । त्यस्तै, परवल पनि प्रतिकिलो २३ रुपैयाँ महँगिएको छ । हरियो प्याज १५.५, न्युरो १०, सजीवन १५, कागती २०, अदुवा आठ र अकबरे खुर्सानी २४ रुपैयाँ प्रतिकिलो बढेको कालीमाटी बजारले जनाएको छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले बेमौसमी तरकारीको भाउमा सामान्य वृद्धि भएको, तर अन्य तरकारीको भाउ घटेको जानकारी दिए । भारतीय आलु र गोलभेँडासमेत गत वर्षको दाँजोमा कम रहेको उनले बताए । ‘केही सीमित हरियो तरकारीको भाउ बढेको छ । यद्यपि, ठुलो अन्तरले बढेको छैन,’ उनले भने, ‘अन्य तरकारीको भाउ भने स्थिर वा घट्दो क्रममा छ ।’ 

उनले दसैँ–तिहारसम्म तरकारीको भाउमा खासै असर नपर्ने पनि बताए । ‘आन्तरिक उत्पादन राम्रो छ, त्यसैले चाडपर्वका वेला मूल्यमा अन्तर पर्दैन,’ उनले भने, ‘आलुको भाउ भने केही बढ्छ ।’ उनले तरकारी आपूर्तिमा पनि कुनै समस्या नरहेको बताए ।

स्वदेशी आलु, गोलभेँडा र सागको भाउ घट्यो
मुलुकभित्रै उत्पादित आलु, प्याज, सागलगायतको भाउ भने घटेको छ । कालीमाटी बजारका अनुसार ठुलो गोलभेँडा ९.६ रुपैयाँ घटेर औसत मूल्य ५६ रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, एक साताअघिको तुलनामा सानो गोलभेँडा १५ र टनेलको गोलभेँडाको २० रुपैयाँ प्रतिकिलोसम्म घटेको छ । कालीमाटीमा आइतबार सानो गोलभेँडा ७७ रुपैयाँ र टनेल गोलभेँडा ३८ रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको थियो ।

त्यस्तै, गाजर, बन्दा, काउली, रातो मुला, घिउ सिमी, टाटे सिमी, करेला, हरियो फर्सी, सलगम, पिँडालु, सबै प्रकारका साग, च्याउ, कुरिलो, ब्रोकाउली, तामा, काँक्रो, हरियो खुर्सानी, भेडे खुर्सानी, हरियो धनियाँलगायतको भाउ घटेको कालीमाटी बजारले जनाएको छ ।

विनय श्रेष्ठ, सूचना अधिकारी
कालीमाटी बजार

तरकारी आपूर्तिमा कुनै समस्या छैन । शनिबार कालीमाटी बजारमा आठ सय ५० टन तरकारी भित्रिएको थियो । आइतबार दिउँसोसम्म चार सय ५० टन आइसकेको थियो । रातिसम्म करिब नौ सय टनसम्म आइपुग्ने व्यापारीले जानकारी दिएका छन् । मागअनुसार नै तरकारी आइरहेको छ । अधिकांशको भाउ पनि स्थिर नै छ । भन्सारमा भएको समस्याले भारतबाट आउने आलु, गोलभेँडालगायतमा केही कमी छ, त्यसैले भाउमा असर परेको हो । अहिले आलुको भाउ बढ्ने सिजन पनि हो । आउँदो दिनमा अब आलुको भाउ उकालो लाग्छ ।

खोमप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष, तरकारी तथा फलफूल व्यवसायी महासंघ
बेमौसमी तरकारीको भाउमा सामान्य वृद्धि भएको छ । भारतीय आलु र गोलभेँडासमेतको भाउ गत वर्षको दाँजोमा कम छ । केही सीमित हरियो तरकारीको भाउ बढेको छ । यद्यपि, ठुलो अन्तरले बढेको छैन । अन्य तरकारीको भाउ भने स्थिर वा घट्दो क्रममा छ । दसैँ–तिहारसम्म तरकारीको भाउमा खासै असर पर्दैन । आन्तरिक उत्पादन राम्रो छ, त्यसैले चाडपर्वका वेला मूल्यमा अन्तर पर्दैन । आलुको भाउ भने केही बढ्छ ।