मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
खगेन्द्र पन्त काठमाडाैं
२o८२ भदौ २८ शनिबार o८:o१:oo
Read Time : > 12 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सुशीला कार्कीको बानी र स्वभावबारे पति दुर्गा सुवेदीलाई १०१ प्रश्न

Read Time : > 12 मिनेट
खगेन्द्र पन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o८:o१:oo

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको ४६औँ प्रधानमन्त्रीका रूपमा शुक्रबार शपथ लिएकी छिन् । यससँगै उनले देशको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । पहिलो महिला प्रधानन्यायाधीश खिताब पनि उनकै नाममा छ । ०७३ असारदेखि ०७४ जेठसम्म कार्कीले सर्वोच्च न्यायालयको नेतृत्व गरेकी थिइन् । त्यसको आठ वर्षपछि देशको कार्यकारी प्रमुखको जिम्मेवारी उनको काँधमा आएको छ । गत २३–२४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको म्यान्डेटअनुसार गठित कार्की नेतृत्वको नागरिक सरकारलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । हक्की स्वभावकी कार्कीले सर्वोच्चको न्यायाधीश हुँदा तत्कालीन मन्त्री जेपी गुप्तालाई भ्रष्टाचारको अभियोगमा जेल पठाउने फैसला गरेपछि चर्चा चुलिएको थियो । प्रधानमन्त्रीका रूपमा पनि उनलाई विगतका भ्रष्टाचारको छानबिन गर्ने म्यान्डेट छ । नवनियुक्त प्रधानमन्त्री कार्कीका बानी र स्वभावबारे उनका पति दुर्गा सुवेदीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका थिए । ८ साउन ०७३ मा प्रकाशित अन्तर्वार्ता नयाँ पत्रिका अर्काइभबाट...

बिहे गरौँ भन्दा मौन समर्थन

१. तपाईंहरूको बिहे कहिले भएको ?
०४५ सालमा हो । 

२. कुन महिना, कति गते ?
अँ...(सोच्दै) धेरै चर्को गर्मी पनि थिएन, पानी पनि परेको थिएन । कुन महिना त ठ्याक्कै याद भएन । गते पनि थाहा भएन ।

३. प्रेम विवाह कि मागी विवाह ?
प्रेम विवाह ।

४. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ?
पहाडमा उहाँ र मेरो परिवार नजिकै हो । विराटनगरमा उहाँ सम्पन्न परिवारकी हुनुहुन्थ्यो । म विराटनगर झरेपछि उहाँकै घरमा बसेँ केही समय । म जनता हाईस्कुलमा पढाउँथेँ, उहाँ त्यही स्कुलमा ६ कक्षामा पढ्नुहुन्थ्यो । स्वाभाविक रूपमा ‘सर’ भन्नुहुन्थ्यो । पढाइमा अब्बल हुनुहुन्थ्यो ।

५. कसरी आत्मीयता  बढ्न थाल्यो ?
उहाँको बुबा पुरानो कांग्रेस कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ क्याम्पस भर्ना भएपछि रामचन्द्र पौडेलहरू नेपाल विद्यार्थी संघको संगठन गर्न आउनुभयो । उहाँ पनि त्यसमा रहनुभयो । रामचन्द्रजीले मलाई ‘उहाँलाई सक्रिय बनाउनुपर्छ’ है भन्नुभयो । त्यसपछि सम्पर्क बढ्दै गयो । त्यही वेला म प्लेन हाइज्याकिङमा गएँ । पछि लुकेर बनारसमा बसेँ । उहाँ  पनि पढ्न बनारस आउनुभयो । बिपीसँग नजिक भएकाले त्यहाँ पनि वेला–वेला भेट हुन थाल्यो । बनारसमै हुँदा बिपीले उहाँको कोठामा हतियार लुकाउने कुरा गर्नुभयो । यो मलाई मनै परेन । किन हो किन मलाई चिन्ता लागेर आयो । पढाइमा राम्रो भएको मान्छेको कोठामा हतियार राखेपछि फस्न पनि सक्छ, पढाइ बिग्रिन्छ भन्ने मलाई लाग्यो । 

६. एक–अर्कालाई कसरी मन पराउन थाल्नुभयो ?
त्यतिवेला त्यस्तो मन पराउने त कुरै भएको थिएन, कुनै संकेत पनि पाइएको थिएन । मलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो, बिहारको पुर्णिया जेलमा राख्यो । उहाँ र दुर्गा पोखरेल बनारसबाट फर्किंंदा मलाई भेट्न जेलमा आउनुभयो । ‘किन यहाँ आउनुभएको ? तपाईंहरूलाई नराम्रो हुन सक्छ’ भनेँ । उहाँले ‘घर फर्किंदै थियौँ, भेट्न मन लागेर यता आयौँ’ भन्नुभयो । दुई वर्षपछि म जेलबाट छुटेर विराटनगर आएँ, तर कसैले पनि घरमा बस्न दिनका लागि आनाकानी गरे । उहाँकै घरमा पनि बस्न दिएनन् । लजमा गएर बसेँ, बेखर्ची थिएँ । दुई–चार दिनपछि उहाँ भेट्न आउनुभयो र पाँच सय दिनुभयो । कोही त छ मेरो नियति बुझिदिने भन्ने लाग्यो । एक दिन मैले उहाँलाई जिस्क्याउँदै सोधँे–‘पढाइ पनि सक्काउनुभयो, अब घरजम गर्नुपर्दैन ?’ उहाँ केही नबोली हिँड्नुभयो । उहाँले वकालत सुरु गरिसक्नुभएको थियो, धरानमा हुनुहुन्थ्यो । त्यहाँ आफ्नै कमाइले घर पनि बनाउनुभएको थियो । म विराटनगरमै बसेको थिएँ । एक दिन भेट्न आउनुभयो र ‘धरानमा मैले घर बनाएकी छु, आएर त्यहीँ बस्दा पनि हुन्छ’ भन्नुभयो । मलाई उहाँको प्रस्ताव असहज लाग्यो । के भनेर उहाँको घरमा बस्ने ? समाजले के भन्ला भन्ने भयो । त्यहीबीचमा म एकपटक धरान जाँदा उहाँलाई भेटेर पैसा मागेँ, उहाँले खुरुक्क दिनुभयो । 

७. एक–अर्कालाई मन पराउने कुरा व्यक्त नै गर्नुभएन ?
म सामान्य परिवारको थिएँ, उहाँ सम्पन्न परिवारको । म बाहुन थिएँ, उहाँ क्षत्री । उहाँको घरबाट मान्नुहुन्छ भन्ने मलाई विश्वास थिएन । अर्को कुरा, म केही नभएको मान्छेलाई उहाँले मन पराउनुहुन्छ भन्ने पनि मलाई थिएन । शैलजा आचार्यसँग मेरो अन्तरंग कुरा हुन्थ्यो । उनले एकपटक ‘मलाई चाहिँ अर्ती दिने, आफूले चाहिँ बिहे नगर्ने ?’ भनिन् । मैले ‘कसले गर्छ मसँग बिहे’ भनेँ । उनले ‘सुशीलालाई प्रस्ताव गर, राम्रो छ, मान्छिन्’ भनिन् । 

८. अनि, प्रस्ताव गर्नुभयो त ?
एकपल्ट धनकुटाबाट फर्किंदा उहाँको घर धरान गएँ । केही त भन्नुहुन्छ कि भनेर आस गरेर ‘अब स्थायी ढंगले बस्नुपर्‍यो, यत्तिकै कति बस्नु’ भनेँ । तर, उहाँले केही भन्नुभएन । ठूलो आस गरेको थिएँ, निराश भएँ । विराटनगरमा टीकाजी भन्ने हुनुहुन्थ्यो । उहाँलाई ‘सानो जग्गा दिनुस्, बस्ने टहरो बनाउँछु’ भनेँ । उहाँले दिनुभयो र टिनको छानो बनाएँ । उहाँलाई भेट्ने, आउने–जाने गर्न थालेपछि उहाँको घरमा थाहा पाए, रिसाएछन् । 

९. अनि, के भयो त ?
घरमै कुरा चलिसकेपछि त केही बोल्नुहुन्छ भन्ने लाग्यो । भेटेर ‘काम थाल्नुभएको छ, घर बनाउनुभयो, के यो घरमा एक्लै बस्ने हो त ?’ भनेर सोधँे । उहाँले ‘पछि कुरा गरौँला’ भन्नुभयो । त्यसले चाहिँ आत्मविश्वास बढ्यो । केही दिनपछि फेरि ‘अब त बिहे गर्नुपर्छ, तपाईंको के छ विचार ? तपाईंको परिवारले मान्दैन’ भनेर सोधेँ । उहाँले ‘परिवारले हो र बिहे गर्ने’ भन्नुभयो । त्यति भएपछि त पुगेन ? उहाँ मसँग बिहे गर्न तयार हुनुहुन्छ भन्ने भयो । 

१०. बिहे कसरी छिनियो त ?
एक दिन मैले ‘अब त बिहे गरौँ’ भनेर प्रस्ताव गरेँ । उहाँले त्यसमा मौन सहमति जनाउनुभयो । विराटनगरकै एक रेस्टुरेन्टमा बिहे गर्ने तय भयो । मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, नोना कोइरालालगायत आउनुभयो । उहाँहरूले सुखमय दाम्पत्यजीवनका लागि शुभकामना दिनुभयो । मैले त्यहाँ केही पनि लिएर गएको थिइनँ । उहाँ (सुशीला)ले नै एउटा मंगलसूत्र र सिन्दूर लिएर आउनुभएको थियो । मैले त्यही लगाइदिएँ । बिहेपछि दुई–तीन मेरो घरमा बस्यौँ । बिहेको भोलिपल्ट शैलजा आचार्यले एक बोरा भाँडाकुँडा ल्याइदिनुभयो । पछि उहाँ धरान काममै फर्किनुभयो । 

सधैँ पूजापाठ गर्नुहुन्छ

पूजा गर्दै कार्की

११. बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान पाँच बजे नै उठ्नुहुन्छ । कहिलेकाहीँ मुद्दाको पेसीको सूची बनाउनुपर्दा चार बजे नै पनि उठ्नुहुन्छ ।

१२. चिया–कफी के रुचाउनुहुन्छ ?
ग्रिन टी खानुहुन्छ ।

१३. पूजापाठ कत्तिको गर्नुहुन्छ ?
सधैँ १५–२० मिनेट गर्नुहुन्छ । प्रधानन्यायाधीश भएपछि पशुपति मन्दिरको भित्रै पूजा गर्नुभयो । सबैले सुन्ने गरी नै ‘मैले राम्रो काम गर्न सक्ने गरी सद्बुद्धि दिनुस्’ भनेर आशीर्वाद माग्नुभयो ।

१४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? 
निवासकै ग्राउन्डमा २०–२५ मिनेट मर्निङवाक गर्नुहुन्छ । 

१५. योगा पनि गर्नुहुन्छ ? 
योगा त १०–१२ वर्षदेखि नियमित गर्नुहुन्छ । उहिल्यै वकिल हुँदै उहाँले विपश्यना सिक्नुभएको हो ।

१६. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
कार्यालयबाट फर्केपछि काम गर्ने सहयोगीसँग ब्याटमिन्टन खेल्नुहुन्छ ।

१७. राति कतिखेर सुत्नुहुन्छ ?
दश–साढे दश बजेतिर सुत्नुहुन्छ । सुत्दा संगीत सुन्नुहुन्छ । दिनभरिको थकान, टेन्सनलाई संगीतले मुक्त बनाउँछ होला । घुर्नुहुन्छ, म त सँगै सुत्दिनँ । 

“वेट” बढेको छ, भात खानुहुन्न

१८. बिहानको खाजामा के लिनुहुन्छ ?
फलफूल खानुहुन्छ ।

१९. खानामा के मन पराउनुहुन्छ ?
भात खानुहुन्न, हल्का खानुहुन्छ । तरकारीको झोल बढी खानुहुन्छ ।

२०. भात किन नि नखाने ?
वेट बढेको छ । एभरेजभन्दा बढी भएर गाह्रो भएको छ । 

२१. रातिको खानामा के रुचाउनुहुन्छ ?
दुईवटा रोटी र तरकारीको झोल खानुहुन्छ । 

२२. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
त्यस्तो नराम्रो कमेन्ट गर्ने बानी छैन । बरु, चिल्लो, नुन बढी लाग्यो भने ‘यस्तो रहेछ म खान्नँ’ भन्नुहुन्छ ।

२३. किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
पस्नुहुन्छ, के पाक्दै छ भनेर हेर्नुहुन्छ । 

२४. आफैँ पकाउन कत्तिको रुचि देखाउनुहुन्छ ?
पकाउनुहुन्छ । प्रधानन्यायाधीश भइसकेपछि सहयोगी पनि छन् । नत्र न्यायाधीश हुन्जेलसम्म बिहानको खाना मैले र साँझमा उहाँले नै पकाउनुहुन्थ्यो । अहिले पनि शनिबार करेला र भिन्डी पकाउनुहुन्छ ।

२५. के–के पकाउन आउँछ उहाँलाई ?
सबै परिकार पकाउन आउँछ । 

२६. सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
तिलको छोप हालेको आलुको अचार मीठो पकाउनुहुन्छ । 

२७. घरमा कसले पकाउँछ ?
अहिले त सहयोगी छन् । उनीहरूले मेरै निगरानीमा पकाउँछन्, म पनि सघाउँछु ।

२८. कसले पकाएको धेरै मीठो मान्नुहुन्छ ?
मैले नै पकाएको मीठो मान्नुहुन्छ होला, किनभने अहिलेसम्म गुनासो गर्नुभएको छैन । बरु, अचेल सहयोगीलाई पनि ‘खाना पकाउन उहाँबाट सिक’ भन्नुहुन्छ ।

२९. तपाईंलाई के–के पकाउन आउँछ ?
मलाई पनि सबै परिकार पकाउन आउँछ । इन्डियन खाना पनि मीठो पकाउँछु ।

३०. तपाईंले पकाएको कुन परिकार उहाँले धेरै मीठो मान्नुहुन्छ ?
‘तपाईंले तरकारी साह्रै मीठो पकाउनुहुन्छ’ भन्नुहुन्छ ।

३१. भान्सामा आवश्यक सामान कसले किनमेल गर्छ ?
म नै गर्छु । धेरै परिमाणमा चाहिने सामानहरू उहाँले पनि ल्याउनुहुन्छ । हामी पहिलेदेखि नै सीमित आयमा बाँचेका छौँ । खर्चको विवरण उहाँले डायरीमा नोट गर्नुहुन्छ । मलाई पनि गर्नुस् भन्नुभएको छ । अहिले बस्नका लागि सरकारी निवास छ । तर, यहाँ सुविधा छ, सुख छैन ।

३२. किन नि सुख नभएको ?
यहाँ फर्मल लाइफ छ । हामी इनफर्मल लाइफ बाँच्न चाहन्छौँ । त्यस्तो जीवनमा मान्छे खुसी र सुखी हुन्छ ।  

गीत मीठो गाउनुहुन्छ

३३. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?
पहिला त हेर्नुहुन्थ्यो । अचेल कम भएको छ ।

३४. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
लभ, ट्रयाजिडी भएका सिनेमा मन पराउनुहुन्छ ।

३५. बूढाबूढी हलमै गएर सिनेमा कत्तिको हेर्नुभएको छ ?
एउटा सिनेमा मात्रै हामीले सँगै हलमा गएर हेरेका छौँ । १०–१२ वर्षअघि दिल्ली गएका वेला हेरेका थियौँ ।

३६. कुन सिनेमा हेर्नुभएको थियो ?
‘आँधी’ भन्ने । इन्दिरा गान्धीको जीवनमा आधारित थियो । 

३७. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
शनिबार हेर्नुहुन्छ । 

३८. कुन सिरियल हेर्नुहुन्छ ?
नाम त थाहा छैन । सिरियलहरू घरेलु झगडा, गहना, डेकोरेसन, लुगालाई केन्द्रमा राखेर बनाइएका हुन्छन् । 

३९. गीत कत्तिको सुन्नुहुन्छ ?
संगीतको त उहाँ पारखी नै हो । एकदम सुन्नुहुन्छ ।

४०. कस्ता गीत रुचाउनुहुन्छ ?
लभ, ट्रयाजिडी भएका पुराना गीत–गजल सुन्नुहुन्छ ।

४१. गीत कत्तिको गाउने गर्नुहुन्छ ?
मीठो गाउनुहुन्छ । वेला–वेलामा एउटा हिन्दी गजल खुब गुनगुनाउनुहुन्छ । 

४२. कुन गजल ?
‘न उम्र कि सीमा हो, जनमका हो बन्धन, जब प्यार करेगी दुनियाँ, केवल देखो मन’ टेलिभिजनमा गजल कार्यक्रम आउँदा पनि ‘यहाँनेर यसले गल्ती गर्‍यो, यस्तो हो त्यो गजल’ भन्नुहुन्छ । कलेज पढ्दा उहाँ गजल प्रतियोगितामा समेत सहभागी हुनुभएको थियो ।

समय व्यवस्थापन राम्रो छैन

४३. परिवारलाई समय कति दिनुहुन्छ ?
उहाँले छोरालाई पनि समय दिन सक्नुभएको छैन ।

४४. समय व्यवस्थापन गर्न भन्नुहुन्न ?
कहिलेकाहीँ त्यसो भन्दा झर्किनुहुन्छ । ‘कहाँबाट समय निकालूँ’ भन्नुहुन्छ । ‘जीवन भनेकै संघर्ष हो, त्यसको मूल प्रवाह दु:ख हो, सुख त क्षणिक हो, त्यसमै रमाउनुपर्छ’ भन्ने उहाँको बुझाइ छ । म पनि त्यसमा सहमत छु ।

४५. छोराले पनि गुनासो गर्दैन ?
ऊ बढी मसँगै भयो । अहिले धुलिखेलमा पढ्दै छ । शनिबार आउँछ । ‘आमाको समय हुँदैन, होस् छाडिदिऊँ’ भन्छ उसले पनि । 

४६. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
राजनीतिक कुराहरू सोध्नुहुन्छ, अब कसरी अगाडि बढ्छ ? भन्नुहुन्छ । 

४७. न्यायालयका गफ कत्तिको हुन्छन् ?
उहाँ आफैँले केही भने मात्रै कुरा हुन्छ । नत्र मैले चासो व्यक्त गर्दिनँ । कहिलेकाहीँ धनी र धनका मुद्दा मात्रैमा बहस हुने भयो, गरिबका मुद्दा थन्किएरै बस्ने भए भन्नुहुन्छ ।

४८. तपाईंसँग सल्लाह कत्तिको माग्नुहुन्छ ?
उहाँको कार्यालयको काममा मेरो कुनै सल्लाह हुन्न । उहाँले केही सोधेमा मात्रै मैले मलाई लागेका कुरा भन्छु ।

४९. भनसुनका लागि तपाईंकहाँ मान्छेहरू कत्तिको आउँछन् ?
विराटनगर भएका वेला ठुल्ठूला नेताहरूले पनि फोन गरेर ‘यसो गर्नुपर्‍यो’ भनेका थिए । मैले ‘रातो मुख किन पार्नुहुन्छ, उहाँ (पत्नी सुशीला)ले मलाई पाल्नुभएको छ, इमानदारीको कमाइ खाइरहेको छु, मलाई भ्रष्ट नबनाउनुहोस्’ भनेँ ।

विदेश जाऔँ भन्नुहुन्छ, म जान्नँ

श्रीमान् र छोराका साथ कार्की

५०. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
मन त पराउनुहुन्छ, जाऔँ पनि भन्नुहुन्छ, तर म आफैँ जाँदिनँ ।

५१. किन नि ?
उहाँको कार्यक्रम हुन्छ, त्यही किसमको परिवेश हुन्छ । म जोकर हुन किन जाने भन्ने लाग्छ । फलानाको पति भन्छन्, त्यसमा पनि अड लाग्छ । मेरा लगाउने लुगा पनि त्यस्तै हुन्छन्, सत्ताको बोली र लुगा मलाई लगाउन आउँदैन । राष्ट्रपतिको शपथ कार्यक्रममा पनि म कुर्ता–पाइजामामै गएँ । त्यहाँ कसैले भन्यो मलाई ‘यस्तो कार्यक्रममा त अलि फर्मल लुगा लगाए हुन्थ्यो’ भनेर । सुट–पाइन्टभन्दा त कुर्ता–पाइजामा हाम्रो आफ्नो मौलिक पोसाक हो ।

५२. त्यसो भए अहिलेसम्म सँगै विदेश जानुभएको छैन ?
उहाँले धेरै कर गरेपछि एकपटक चीन सँगै गएको छु । ‘अरूका पत्नीहरू कोही लुरुलुरु पछि लागेर त कोही जिद्दी गरेर पनि जान्छन्, तपाईंचाहिँ नजाने ? पति भएकाले मात्रै नजाने ?’ भन्नुभयो, अनि गएँ । अस्ति अमेरिका पनि जाऔँ भन्दै हुनुहुन्थ्यो, तर गइनँ ।

५३. विदेश जाँदा घुमघाममा कत्तिको रमाइलो गर्नुहुन्छ ?
बाहिर जाँदा नयाँ, ऐतिहासिक, सांस्कृतिक ठाउँहरू घुम्न निकै चाख मान्नुहुन्छ । फर्केपछि यहाँ यस्तो–यस्तो थियो भनेर सुनाउनुहुन्छ ।

लुगामा आइरन गर्नुहुन्न

५४. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
लुगामा त्यति सचेत हुनुहुन्न । ‘फाटेको छ, यसको रङ उडिसकेको छ’ भनिदिनुपर्छ ।

५५. के लगाउन रुचाउनुहुन्छ ?
कटनको साडी, ब्लाउज लगाउन मन पराउनुहुन्छ ।

५६. तपाईंले उहाँलाई कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?
साडी–ब्लाउजमै राम्रो देखिनुहुन्छ । उहाँको हाउभाउ, अनुहारको हाँसो हेरेर पनि धेरै कुरा बुझिन्छ । जस्तो लुगा लगाउँदा पनि ऐना हेर्नुहुन्छ, मुस्कुराउनुहुन्छ । मैले ‘राम्रो देखिएको छ’ भन्छु । फेरि एकपल्ट हिँड्दाखेरि ऐना हेर्नुहुन्छ ।

५७. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
लुगामा आइरन नै लगाउनुहुन्न ।

५८. आइरन नगरेकै लुगा लगाउनुहुन्छ ?
भोलि लगाउने साडी, ब्लाउज पट्याएर अघिल्लो दिन सिरानीमुनि राख्नुहुन्छ, अनि लगाउनुहुन्छ ।

५९. कुर्ता–सलवारमा नि ?
ती पनि सिरानीमुनि नै राखेर लगाउने हो ।

६०. ब्युटिपार्लर जानुहुन्छ कि हुन्न ?
जानुहुन्न, गएको मलाई थाहा नै छैन । यस्ता कस्मेटिक कुराहरूमा उहाँको रुचि नै छैन । गाजल, नेलपोलिस, लिपस्टिक, क्रिम–पाउडर केही लगाउनुहुन्न । बिहे गर्दा मात्रै उहाँले गाजल, क्रिम–पाउडर, सिन्दूर लगाएको मलाई थाहा छ । उहाँको कपाल लथालिंग छ । मैले ‘कपाल त मिलाउनु न’ भनेँ एकपल्ट । उहाँले ‘किन मिलाउनु, जस्तो छ त्यही नै ठीक छ’ भन्नुभयो ।

६१. सिन्दूर पनि लगाउनुहुन्न ?
लगाउनुहुन्न । उहाँ हाम्रो परिवारको मूली हो, उहाँकै आयआर्जनमा हाम्रो परिवार चलेको छ । जे कुरा उहाँलाई मन पर्दैन वा रुचि छैन, मैले त्यही लगाउनुस् भनेर कर गर्ने, सल्लाह दिने वा प्रोत्साहन किन गर्ने ? ‘यस्तो गर्नुस्, यो लगाउनुस्’ भन्नका लागि आफूले कमाएर वा ल्याएर दिनुपर्‍यो, त्यो हैसियत मेरो छैन ।

६२. गरगहनामा कत्तिको सौखिन हुनुहुन्छ ?
त्यसमा पनि उहाँको रुचि छैन । बिहेमा उहाँले नै मंगलसूत्र बनाएर ल्याउनुभएको थियो, मैले त्यही लगाइदिएको थिएँ । त्यो पनि लगाउनुहुन्न । उहाँले धेरै लगाएको भनेको कानमा टप हो । एकपटक मलाई  सुनको सिक्री बनाएर ल्याउन भन्नुभएको थियो, न्युरोडबाट बनाएर ल्याएको थिएँ, केही समय लगाउनुभयो, त्यसपछि त्यो पनि खासै लगाउनुभएको छैन ।

६३. उहाँसँग गहना के–के छन् ?
लगाएको देख्दिनँ । के–के छन् भनेर मैले सोधेको छैन ।

६४. आफ्नो लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
आफैँ किन्नुहुन्छ । केही उहाँलाई गिफ्ट पनि आउँछन् ।

घर चलाउन १० हजार दिनुहुन्छ

६५. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
घरखर्चका आवश्यक रकम मलाई दिनुहुन्छ, बाँकी आफैँ राख्नुहुन्छ । 

६६. कति दिनुहुन्छ तपाईंलाई ?
न्यायाधीश हुँदा म र छोरा विराटनगरमै थियौँ, त्यतिवेला आठ हजार दिनुहुन्थ्यो । अहिले १० हजार दिनुहुन्छ ।

६७. तपाईं र छोरा विराटनगर अनि उहाँ यता किन नि ?
छोरो स्कुल पढिरहेको थियो, उसलाई पनि हेर्नु थियो । उहाँले जेपीको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला दिएपछि ‘तपाईंलाई यो धर्तीमा हिँड्नु छैन’ भन्नेसम्मका धेरै धम्की आए । उहाँ एक्लै बस्ने, कुरा गर्ने मान्छे पनि नहुँदा आत्तिनुभयो पनि होला । मलाई फोन गरेर ‘फूलमाला चढाउन मात्रै आउने हो, के त्यस्तै इच्छा राख्नुभएको हो’ भनेर हुकुमकै शैलीमा आउन भन्नुभयो । अनि, यतै आइयो ।

६८. त्यति पैसाले घर चलाउन सक्नुहुन्छ त ?
यस्तो महँगी छ, कसरी पुग्नु ? घरमा अलि ठूलो परिणाममा ल्याउनुपर्ने सरसामान उहाँले पनि ल्याउनुहुन्छ । कहिले नपुग्ने हुन्छ । 

६९. उहाँको नाममा बैंक ब्यालेन्स कति छ ?
मैले सोधेको छैन, उहाँले बताउनुभएको पनि छैन ।

७०. तपाईंको नाममा बैंक ब्यालेन्स छ कि छैन ?
पहिला त थिएन । हामीले विराटनगरको एक ठाउँको जग्गा बेचेर यता किन्यौँ । त्यो पैसाचाहिँ मेरै नाममा थियो । अहिले घर बनाउँदै छौँ ।

७१. पैसाको बारेमा बूढाबूढीबीच कहिल्यै किचलो भएको छ कि छैन ?
ठुलै किचलो त भएको छैन, तर उहाँलाई नसोधी मैले खर्च गर्दा रिसाउनुहुन्छ । तैपनि, मलाई के लाग्छ भने यो संसारमा महिलालाई फूलजत्तिकै सुन्दर बनाइएको छ । हाम्रो समाज पितृसत्तात्मक छ, त्यही सोचअनुसार पुरुषले महिलालाई ‘डोमिनेट’ गरेको हुन्छ । तर, हाम्रा धर्मग्रन्थमा त्यस्तो छैन, महिलालाई सम्मान दिएको छ । जस्तो भगवान् राम र सीताको नाम लिँदा ‘सीताराम’ भनिन्छ, कृष्ण र राधाको नाम लिँदा ‘राधाकृष्ण’ भनिन्छ । हाम्रो घरमा पनि त्यस्तै हो, ‘सीताराम’ हुन्छ ।

कहिलेकाहीँ अस्वाभाविक रिसाउनुहुन्छ

७२. रिसाउने बानी कति छ ?
जोसँग माया हुन्छ, उहीसँग रिसाउने मानिसको स्वभाव हुन्छ । त्यसमाथि बूढाबूढीबीच त त्यस्तो भइहाल्छ । महात्मा गान्धीजस्तो नरिसाउने मान्छेलाई एकपटक पत्रकारले सोधेछ– ‘तपाईं त कसैले गालामा हाने, अर्कोमा पनि हान भनेर गाला थाप्ने मान्छे, श्रीमतीसँग त झगडा हुँदैन होला ?’ गान्धीले ‘यो कुरा त मेरी पत्नीलाई सोध्नुपर्छ’ भन्नुभएछ । पत्रकारले गान्धीकी पत्नी कस्तुवालाई सोधेछ, उनले ‘हामीबीच पाँच दिनदेखि बोलचाल बन्द छ’ भनेर जवाफ दिइछिन् । यस्तो हुन्छ । उहाँ पनि कहिलेकाहीँ अस्वाभाविक ढंगले रिसाउनुहुन्छ । 

७३. अस्वाभाविक रिसाउने भनेको कस्तो ?
हैन, कहिलेकाहीँ उहाँलाई आफ्नो प्रगतिमा मैले ईष्र्या गरेको छु कि भन्ने लाग्छ कि जस्तो मलाई लाग्छ ।

७४. कस्ता कुरामा रिसाउनुहुन्छ ?
घरखर्च उहाँले दिएको भन्दा बढी भएमा रिसाउनुहुन्छ । कहिलेकाहीँ चन्दा माग्ने पनि आउँछन्, कहिले बाहिर पनि सामान्य खर्च हुन्छ । स्कुललाई सरस्वती पूजाको चन्दा दिँदा पनि उहाँलाई सोध्नुपर्छ । हाम्रो कमाइ नै धेरै छैन,  त्यहीअनुसार सामान्य दिऊँ भन्नुहुन्छ उहाँले । ‘हैन अलि बढी दिऊँ’ भन्यो भने ‘तपाईंको हैसियत के छ र दिनलाई ? आफैँ कमाएर दिनुस्, त्यसपछि थाहा हुन्छ’ भन्नुहुन्छ । त्यस्तै छोराका कुरालाई लिएर पनि रिसाउनुहुन्छ । ‘तपाईंले छोराको बानी बिगार्दै हुनुहुन्छ, धेरै जान्ने नहुनुस्’ भन्नुहुन्छ । चर्काचर्की नै पर्छ कहिलेकाहीँँ । 

७५. रिसाएपछि के गर्नुहुन्छ ?
नबोलेर पनि बस्नुहुन्छ ।

७६. रिसाएपछि कसले पहिला फकाउँछ ?
धेरैजसो मैले र कहिलेकाहीँ उहाँले फकाउनुहुन्छ । कहिलेकाहीँ छोरो सँगै भएका वेला रिसाउने भयो भने उसले ‘के गरेको यस्तो’ भनेर कराउँछ । अनि, दुवै ‘कुलडाउन’ भइहाल्छौँ ।

७७. के भनेर फकाउनुहुन्छ ?
उहाँ रिसाएका वेला मैले चिया लगेर ‘चिया ल्याइदिएको छु, खानुस्’ भनेर दिन्छु । म रिसाएर कहिलेकाहीँ खाना खान नगएर बसेको हुन्छु । त्यस्तो वेला उहाँ आएर ‘किन रिसाएको ? म हिँड्ने वेला भइसक्यो, आउनुस् खाना खानुस्’ भनेर बोलाउनुहुन्छ । धेरै किन रिसाउनु ? एक सेकेन्ड रिसाउँदा एक घन्टा आयु कम हुन्छ । उहाँलाई पिन्च हुने, इगो हुने कुराहरू गर्दिनँ म । म कमजोर पनि छु, यथार्थको धरातलमा बस्नुपर्छ । उहाँले घरबाट निकालिदिनुभयो भने मैले के गर्ने ? श्रीमतीले घरबाट निकालिन् भनेर बेइज्जती हुन्छ । भलै उहाँको पनि ‘पतिलाई घरबाट निकालिन्’ भनेर बेइज्जती होला (हाँसो...) ।

७८. परिवारका सदस्यलाई गाली कत्तिको गर्नुहुन्छ ? 
वेला–वेलामा गर्नुहुन्छ । छोरालाई बढी गर्नुहुन्छ ।

७९. तपाईंले उहाँलाई कहिल्यै पिट्नुभएको छ ?
छैन ।

८०. उहाँले तपाईंलाई नि ?
छैन ।

८१. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
‘बुबा’ भन्नुहुन्छ ।

८२. तपाईंले नि ?
‘सुशीला’ भन्छु । मैले भनेको सुनेर छोराले पनि एसएलसी गर्दासम्म ‘सुशीला’ नै भन्थ्यो । 

उहाँले भनेपछि रक्सी छाडिदिएँ

८३. उहाँले चुरोट–खैनी केही खानुहुन्छ ?
कहिल्यै खानुभएन ।

८४. रक्सी ?
त्यो पनि खानुहुन्न । उहाँका पिताजी रक्सीकै कारण चाँडै बित्नुभयो । त्यसको प्रभाव पनि होला, उहाँ छुदै छुनुहुन्न ।

८५. तपाईंले कत्तिको खानुुहुन्छ रक्सी ?
पहिला खान्थेँ । अचेल खादिनँ ।

८६. पहिला कत्तिको खाइन्थ्यो ?
खाइन्थ्यो । किसुनजीदेखि, शेरबहादुर देउवासम्मले वेला–वेलामा बोलाउनुहुन्थ्यो । किसुनजीले धेरै माया गर्नुहुन्थ्यो । घरेलु ‘ऐला’देखि ब्रान्डेड, उच्चस्तरका रक्सीसम्म खाइयो ।

८७. उहाँले नखानु भन्नुहुन्थेन ?
भन्नुहुन्छ नि । धेरै टाइट गर्नुभयो । ‘कि रक्सी छाड्नुस्, कि मलाई छाड्नुस्’ भन्नुभयो । त्यसपछि छाडिदिएँ । बिरामी पनि थिएँ, डाक्टरले पनि नखानु भन्यो ।

८८. रक्सीले मातेर कहिलेकाहीँ ठाकठुक कत्तिको पर्थ्यो ?
रक्सी खाएको दिन सकभर उहाँको अगाडि नै पर्दैनथेँ । बाबुसँग सुत्थेँ । बाहिरबाट आउँदा उहाँले मुख सुँघ्ने गर्नुहुन्थ्यो । खाएको छ भने ‘मुख गनाइरहेको छ, यहाँ बस्ने होइन’ भन्नुहुन्थ्यो । खाएको छु भने बाबुलाई पनि उचालिदिने, उसले पनि गाली गर्ने । 

साथीहरूले जिस्क्याउँछन्

८९. तपाईं राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, किन छाड्नुभयो ?
एक किसिमले म विरक्त भएँ । राजनीति ‘फेयर’ भएन । ‘मनी’, ‘मसल’ सबै चाहिने, नैतिकताको कुनै अर्थ छैन । मेरो स्वभाव नै नमिल्ने भयो अनि छाडिदिएँ ।

९०. उहाँ न्याय क्षेत्रमा सक्रिय हुँदा तपाईंको राजनीतिले प्रभावित गर्छ भनेर त होइन ?
यसमा हामी दुवै अत्यन्त सचेत छौँ । उहाँले ‘राजनीतिक मान्छे नभेट्नुस्’ भन्नुहुन्छ । तर, मैले भेट्छु । भेटेर बिग्रिने होइन, उनीहरूको स्वार्थअनुसार काम पो नगर्ने हो ।

९१. पत्नी देशको प्रधानन्यायाधीश हुँदा तपाईंले घर सम्हालेर बस्नुपर्दा कहिलेकाहीँ खल्लो लाग्दैन ?
कहिलेकाहीँ मेरो उपस्थिति चाहन्छु । अहिले परतन्त्र छ । तर बाहिरको, नेताको परतन्त्रभन्दा घरकै परतन्त्र ठीक लाग्छ ।

९२. यस्ता कुरामा साथीभाइले कत्तिको जिस्क्याउँछन् ?
केहीले जिस्क्याउँछन्, खास गरेर प्रदीप गिरिले । उहाँ मेरो अत्यन्त मिल्ने साथी पनि हो । उहाँले ‘श्रीमतीको चाकरी गरेर बसेको छ, श्रीमतीले थुनेर राखेको छ’ भनेर जिस्क्याउनुहुन्छ ।

गिफ्ट लिने–दिने चलन छैन

९३. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
रोमान्टिक नै हुनुहुन्छ ।

९४. कतिवेला रोमान्टिक मुडमा देखिनुहुन्छ ?
बिदाको दिन बढी रमाइलो गर्नुहुन्छ । त्यो दिन अलि बढी गफगाफ, हँसिमजाक हुन्छ ।

९५. जोकहरू सुन्ने–सुनाउने कत्तिको गर्नुहुन्छ ?
कहिलेकाहीँ अरूले उहाँलाई सुनाएका जोकहरू सुनाउनुहुन्छ । म पनि सुनाउँछु ।

९६. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
हाम्रोमा गिफ्ट लिने–दिने चलन नै छैन ।

९७. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
‘के ल्याइदिऊँ’ भनेर सोध्नुहुन्छ । तर, मैले केही भन्दिनँ । मैले लगाउने खालका लुगाहरू विदेशमा पाइँदैन । बाबुका लागि ल्याइदिनुहुन्छ ।

९८. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
हामीलाई याद नै हुँदैन । बरु, अचेल छोराले याद गरेर भन्छ हामीलाई ।

९९. खाजा–खाना खान कहिलेकाहीँ रेस्टुरेन्ट जाऔँ कत्तिको भन्नुहुन्छ ?
त्यस्तो चाहिँ हाम्रो हुँदैन । हामीले अहिलेसम्म रेस्टुरेन्ट गएर खाएका छैनौँ भन्दा पनि हुन्छ । उहाँलाई रुचि पनि छैन ।

१००. किन नि ?
बानी नै नभएर होला । भारतमा पढ्दा होस्टेल बस्नुभयो, जान पाइँदैनथ्यो । विराटनगर आए पनि त्यस्तो माहोल नै भएन । पछि वकालत गर्न थालेपछि फुर्सद पाउनुभएन होला ।

१०१. तपाईंले पनि जाऔँ भन्नुहुन्न ?
मलाई पनि त्यस्तो रुचि छैन ।