
एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले बंगलादेशमाथि ६ विकेटको सानदार जित निकालेको छ । अबुधाबीमा बंगलादेशले समूह ‘बी’को खेलमा पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १३९ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंकाले १४.४ ओभरमा चार विकेटको नोक्सानीमा १४० रन जोड्यो । श्रीलंकाले निर्धारित ओभरभन्दा ३२ बलअघि नै जित निकालेको हो ।
श्रीलंकाको जितमा ओपनर पथुम निसांकाले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५० रनको योगदान दिए । तेस्रो क्रममा ब्याटिङ गरेका कमिल मिस्रराले नटआउट रहँदै ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । बंगलादेशी बलरले २१ अतिरिक्त रन दिए । यसअघि ब्याटिङ गरेको बंगलादेशको इनिङ्समा जाकेर अली र समिम हुसेनले नटआउट योगदान गरे ।
अलीले ३४ बलमा दुई चौकाको सहयोगमा ४१ रन जोडे । हुसेनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ४२ रन बटुले । बंगलादेशले दुवै ओपनर शून्यमा गुमाएको थियो । कप्तान लिटन दासले २८ रन बनाए ।