
साफ यू–१७ च्याम्पियनसिप श्रीलंकाको कोलम्बोमा सोमबारदेखि सुरु हुँदै छ । च्याम्पियनसिपमा नेपालसँगै श्रीलंका, भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तानले सहभागिता जनाइरहेका छन् । समूह ‘ए’मा रहेको नेपालले आयोजक श्रीलंकासँग पहिलो दिन प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’मा भारत माल्दिभ्स, पाकिस्तान र भुटान छन् । हेरक समूहमा एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
दक्षिण एसियाली फुटबल संघले अहिलेसम्म विभिन्न उमेर समूह गरी नौपटक च्याम्पियनसिप आयोजना गरिसकेको छ । जसमा नेपाल चारपटक उपविजेता बनेको छ । सहभागी सबै राष्ट्रका उपाधि जित्ने लक्ष्य भए पनि नेपालको प्रारम्भिक योजना सेमिफाइनलमा स्थान बनाउने र त्यसपछि मात्र उपाधितर्फ केन्द्रित हुने प्रशिक्षक सञ्जित सिंहले बताएका छन् । साफ यू–१७ च्याम्पियनसिपको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सिंहले प्रतियोगितामा बिस्तारै अगाडि बढ्ने बताए ।
‘हाम्रो पहिलो लक्ष्य उपाधि होइन । सुरुमा सेमिफाइनलमा स्थान बनाउने हो । त्यसपछि मात्र उपाधिको दाबेदारी प्रस्तुत गर्ने हो,’ सिंहले भने, ‘च्याम्पियनसिपका लागि नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको छ ।’ च्याम्पियनसिपका लागि भनेर नेपाली युवा खेलाडीले प्रशिक्षणको अवसर कम पाएको उनको भनाइ छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोरङमा डेढ महिनाजति खेलाडीलाई प्रशिक्षणमा राखेको थियो । सोही प्रशिक्षणबाट यू–१७ राष्ट्रिय टोली बनेको हो ।
छोटो अवधिको प्रशिक्षण भए पनि खेलाडीले क्लोज क्याम्पमा उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक सिंहले बताए । ‘प्रतियोगिताका लागि प्रशिक्षणको समय कम पायौँ । जति प्रशिक्षण समय रह्यो त्यसमा युवा खेलाडीले राम्रो गरे,’ उनले भने, ‘हामी शारीरिक र मानसिक रूपमा तयार छौँ ।’ एन्फाले जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटबाट अन्तिम २३ सदस्यीय टोली तयार पारेको हो । एन्फाले सुरुमा सयजनाबाट दोस्रो चरणमा ४५ जनालाई बन्द प्रशिक्षणमा राखेको थियो । त्यसपछि खेलाडीको प्रदर्शनका आधारमा दुई चरणमा गरी २३ सदस्यीय टोली बनाएको प्रशिक्षक सिंहले भने ।
विपक्षी सबै बलियो
नेपालका प्रशिक्षक सिंहले आफ्नो समूहका प्रतिद्वन्द्वी श्रीलंका र बंगलादेश बलियो भएको बताए । पछिल्लो केही समय उमेर समूहमा दुवै राष्ट्रले राम्रो प्रगति गरेको उनको भनाइ छ । ‘समूहमा दुवै टोली राम्रा छन् । उनीहरूलाई कमजोर मानेका छैनौँ,’ सिंहले भने, ‘राम्रो नतिजा ल्याउन प्रतिस्पर्धा गर्छौँ ।’ समूह चरणका प्रतिद्वन्द्वी नै बलियो भएकाले सुरुमा उपाधितर्फ केन्द्रित नभएको उनले प्रस्ट पारेका छन् । ‘पहिले समूह चरण पार गर्नुपर्छ । त्यसपछि सेमिफाइनल खेल्ने हो । अहिले फाइनलबारे सोचेकै छैनौँ,’ उनले भने, ‘सुरुमा हाम्रो ध्यान नै सेमिफाइनल पुग्ने हो । त्यसपछि मात्र अर्को योजना बन्छ ।’
अनुभवी युवा खेलाडी
च्याम्पियनसिपमा नेपालको कप्तानी प्रशान्त मोक्तानले गर्नेछन् । डिफेन्स पोसेसनबाट खेल्ने मोक्तानसँग उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको अनुभव छ । उनी पहिलोपटक यू–१७ टोलीका कप्तान बनेका हुन् । अहिलेको यू–१७ टोलीमा छनोट भएका खेलाडीमध्ये मोक्तान सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०२५ मा भारतमा सम्पन्न साफ यू–१९ च्याम्पियनसिप खेलेका थिए । यसैगरी उनले साफ यू–१६ च्याम्पियनसिप, २०२३ र साफ यू–१७ च्याम्पियनसिप, २०२४ खेलेका थिए । दुवै प्रतियोगिता भारतमा भएको थियो ।
कोलम्बोमा आइतबार आयोजित प्रिपोस्ट म्याचमा कप्तान मोक्तानले राम्रो प्रदर्शन गर्ने बताए । ‘राम्रो तयारी गरेका छौँ । प्रत्येक खेलमा प्रशिक्षकको रणनीतिअनुसार खेल्छौँ,’ उनले भने, ‘अझ राम्रो पक्ष भनेको यो टोलीका खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन् ।’ गत वर्ष नेपाल पुलिस क्लबले ललित स्मृति यू–१८ लिग उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।