
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट गएराति २६० जना कैदीबन्दी फरार भएका छन् । मध्यराति करिब १२ बजे ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले तीनवटा गेट फुटाउने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेका थिए ।
हवाई फायरपछि पनि कैदीबन्दीहरूले कारागारको पश्चिमपट्टि रहेको पर्खाल भत्काएर बाहिरिने क्रममा ठुलो संख्यामा भागेका हुन् । सो ब्लकमा पाँच सयभन्दा बढी कैदीबन्दी रहेकोमा करिब आधा भागेका र बाँकीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कारागार प्रशासनले जनाएको छ ।
सुरक्षाकर्मी र कैदीबन्दीबिच लगातार चार घण्टासम्म झडप भएको बुझिएको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको थियो । सेनाले चलाएको गोली लागेर दुई कैदी घाइते भएका छन् । घाइतेहरूको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
कारागारबाट भाग्ने क्रममा कैदीहरूले एउटा सवारीसाधनसमेत कब्जा गर्न खोज्दा सुरक्षाकर्मीले टायरतर्फ गोली चलाएको र सोही क्रममा कैदी घाइते भएको बताइएको छ ।
घटनाक्रममा कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनीसमेत गरेका थिए। तर ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रशासनले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले करिब दुई सय राउन्डभन्दा बढी हवाई फायर गरेको बताइएको छ । फरार कैदीहरूको खोजीकार्य तीव्र पारिएको मकवानपुर प्रहरीले जनाएको छ ।