Skip This
विशेष सम्पादकीय : रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार o६:o४:oo
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विशेष सम्पादकीय : रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o६:o४:oo

२३ भदौको मध्याह्नदेखि रातिसम्मै काठमाडौंको बानेश्वर क्षेत्र र इटहरीलगायत देशका विभिन्न सहरमा राज्यले जे ताण्डव मच्चायो र जुन तहको मानवीय क्षति भयो, त्यो अब भयानक कालो दिनका रूपमा नेपालको इतिहास भएको छ । राज्य कतिसम्म क्रूर, कतिसम्म विवेकहीन, कतिसम्म अमानवीय र कतिसम्म निकृष्ट हुन सक्छ, प्रधानमन्त्री केपी ओली र सत्तारूढ गठबन्धनका सहचालक शेरबहादुर देउवा नयाँ मानक रच्न सफल भएका छन् । सोमबारको राज्य नियन्त्रित अपराध यति नांगो छ कि ओली र देउवालाई दोषी होइन, अपराधी करार गर्न न कुनै छानबिन समिति जरुरी छ, न न्यायिक समिति ।

जेन–जीले भ्रष्टाचार र कुशासनमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? जेन–जीले शासक र बिचौलियाको अपवित्र र अनुचित सम्बन्धमाथि प्रश्न उठाए । के गलत प्रश्न उठाए ? जेन–जीले नेताका परिवारको शाही ठाँट र जनताका छोराछोरीको दयनीय जीवनस्तरमाथि प्रश्न उठाए । के अनुचित प्रश्न उठाए ? सिंगो देशले स्वीकार गरिसकेका यी प्रश्नको जवाफ सरकारले केले दियो ? गोलीले । यो शासन होइन, अपराध हो र अपराधीहरू अब सिंहासनमा बस्न हुँदैन, बस्न सक्दैनन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई कुनै सिँगारपटार गर्न जरुरी छैन । गृहमन्त्रीका रूपमा लेखकको नैतिकताले भुटानी शरणार्थी काण्डको अनुसन्धान गरिरहेका अधिकृतहरूको सरुवा गरेकै दिन सगरमाथा छोएको हो । त्यसपछि उनी कहिल्यै शिखरबाट ओर्लिएनन् । भिजिट भिसाको सेटिङदेखि जेन–जी पुस्ताको हत्यासम्म उनले निरन्तर देवरवाला ‘नैतिक चरित्र’ देखाइरहे । उनको राजीनामा यी सबै अपराधको सानो स्वीकारोक्ति हो, नैतिकता हुँदै होइन । ओली र देउवाले रमेश लेखकको मूल्यहीन राजीनामा देखाएर मुक्ति पाउन सक्दैनन् । 

खासमा ओली र देउवालाई आफू उभिएको जमिनमा कति ठुलो सुनामी आउँदै छ भन्ने नै थाहा छैन । ओली–देउवाजी मात्र होइन, समग्र कांग्रेस–एमालेजीहरू, तपाईंहरूसँग अब शासनको कुनै अधिकार छैन । अबोधहरूको रगतले पोतिएको तपाईंहरूको अनुहार अब इतिहासका लागि शिक्षा होइन, कलंक हो । आफूलाई जनताको अदालतमा समर्पण गर्नुहोस् र नागरिक सरकारको बाटो खोल्नोस् । यो देशले ०८४ कुर्न सक्दैन, कुर्न हुँदैन । यो देश अरू थप छोराछोरीको बलिका लागि तयार छैन ।

जेन–जी तपार्ईंहरूसँग माग्दै छ ०४६ सालयताका ३६ वर्षका कुशासनको हिसाब । भ्रष्टाचारको हिसाब । नागरिकमाथिको अत्याचारको हिसाब । नेतातन्त्रको हिसाब । खेर गएका ती वर्षहरूको हिसाब । हिसाब मागे भन्दैमा स्कुले केटाकेटीहरूलाई गोली हान्ने ? के यो देश तपाईंहरूको बिर्ता हो ? तपाईंहरू जति दिन सत्तामा टाँसिन ढिपी गर्नुहुन्छ, तपाईंहरूको अन्त्य त्यति नै क्रूर र अपमानजनक हुनेछ ।