मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
२o८२ भदौ २५ बुधबार १४:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा जिल्ला अदालतको सेवा अनिश्चितकालका लागि बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १४:५o:oo

जिल्ला सदरमुकामस्थित सिराहा जिल्ला अदालतमा मंगलबार अपराह्न आगजनीको कारण सम्पूर्ण सेवा स्थगित भएको छ।

अदालतका स्रेस्तेदार उपसचिव भेषराज भट्टराईले बुधबार बिहान सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको उल्लेख गरेका छन्। उनका अनुसार मंगलबार भएको आगजनीमा अदालतको आंशिक भाग जलेको छ।

सूचनाअनुसार प्रदर्शनकारीको समूहले लगाएको आगोबाट  अदालतको अभिलेख फाँट, तहसिल शाखा, मुद्दा फाँटका केही मिसिलहरू, सर्भर, इजलास च्याम्बर, दसीका सवारीसाधनहरू, जिल्ला न्यायाधीशको सवारीसाधन जलेर नष्ट भएको उल्लेख छ।

थप क्षति हुन नदिन युवाहरू परिचालित
जिल्ला सदरमुकामस्थित शिक्षा विकास तथा समन्वय इकाइ, सरकारी वकिल कार्यालय, सिराहा नगर कार्यपालिकाको भवनमा आगजनी तथा नापी कार्यालयमा तोडफोड भएपछि बुधबार बिहानदेखि नै स्थानीय युवाहरू सरकारी संरचनाको थप क्षति हुन नदिन परिचालित भएका छन्। पत्रकारसमेत रहेका स्थानीय बद्रीनारायण यादवका अनुसार युवाहरूको समूह थप आगजनी तोडफोड हुनु नदिन र त्रासरहित वातावरण बनाउन सुरक्षा निकायसँग समन्वयमा रहने गरी परिचालित भएका हुन्।

जिल्लाको दोस्रो मुख्य ठाउँ लहानमा मंगलबार दिउँसोदेखि कर्फ्यु घोषणा भए लगत्तैदेखि लहान क्षत्रमा रहेका विभिन्न १० कार्यालयमा तोडफोड र आगजनी भएको छ। प्रदर्शनकारीहरूले लहान– १० ग्रामीणस्थित नगर कार्यपालिका कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र सवारीसाधनमा आगजनी गरेका थिए। इलाकामा नागरिकताको अभिलेख शाखा, राष्ट्रिय परिचयपत्र र राहदानी शाखामा आगजनी गर्नुका साथै सेवाग्राहीहरूका लागि बस्न बनाइएको प्रतीक्षा कक्षको फर्निचर, खानेपानीको ट्यांकी, कार्यालयको स्कर्पियो तोडफोड भएको छ।

प्रदर्शनकारीले लहान नगरको ४, ६, ७ र ८ नम्बर वार्डको कार्यालय रहेको नगरको स्वामित्वमा रहेको भवनमा तोडफोड गरी सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर तोडफोड गर्नुका साथै राजस्व कार्यालयदेखि करिब एक सय मिटरको दूरीमा रहेको नगरप्रमुखको घरमा पनि तोडफोड गरेका छन्। आन्तरिक राजस्व कार्यालय आगजनी गरेर ध्वस्त बनाएका छन्। लहानस्थित नापी कार्यालय, यातायात व्यवस्था कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। 
 
सरकारी कार्यालयहरूको आगजनीपछि अपराह्न करिब ४ बजेतिर पूर्व–पश्चिम सडकसँगै जोडिएको लहान– १ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा राखिएको चिनी चामल लुटपाट भएको छ। ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि नजिकै रहेको खाद्यको गोदाममा रहेको सात हजार क्विन्टल जिरा चामल, पाँच सय क्विन्टल सोना चामल, तीन हजार पाँच सय क्विन्टल चिनी लुटपाट भएको एक कर्मचारीले बताए। उनका अनुसार चामल, चिनी लुटपाटसँगै कार्यालयको चारपांग्रे सवारीसाधन र कार्यालयमा आगजनी भएको छ।

आन्दोलनको क्रममा मंगलबार दिउँसो सिराहाको लहानसहित सिराहा, धनगढीमाई, गोलबजार, मिर्चैया नगरपालिका तथा भगवानपुर, नरहा, औरही, विष्णुपुर गाउँपालिकामा आगजनी भएको छ भने नवराजपुर र अर्नमा गाउँपालिकामा तोडफोड भएको पालिकाका कर्मचारीले बताए।