मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जेन–जी आन्दोलनमा गृहमन्त्री लेखकको यो तहको असंवेदनशीलता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेन–जी पुस्ताका युवा देशभर सडकमा उत्रने दिनमा समेत गृहमन्त्री रमेश लेखकले परिस्थिति निगरानी र सम्भावित परिस्थितिमा ध्यानै दिएका थिएनन् । आन्दोलनको दिन राजधानीसहितका प्रमुख सहरमा तनाव बढ्दासमेत लेखक गृहमन्त्री गृह प्रशासनको नेतृत्व लिनुभन्दा एक संसदीय समिति बैठकमा व्यस्त थिए । आन्दोलन सडकमा चर्किँदै गर्दासमेत लेखकले तत्कालै सुरक्षा स्थितिमा प्रत्यक्ष कमान्ड सम्हाल्न आवश्यक ठानेनन् ।

बिहान ९ बजेदेखि नै माइतीघरमा जेन–जी युवा प्रदर्शनरत रहँदा गृहमन्त्री लेखक राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सहभागी थिए । यो समयमा समितिमा राष्ट्रिय सदाचार नीतिबारेको छलफलमा सहभागी भइरहेका थिए । साढे ११ बजेपछि सुरु भएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि उनी लामो समयसम्म बसिरहे । बैठकमा रक्षामन्त्री मानवीर राई पनि सहभागी थिए । समितिले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल गर्न बिहान ११ बजे बैठक बोलाएको थियो ।

समितिमा छलफल सुरु भयो । एमालेका अच्युत मैनाली, कांग्रेसका मैना कार्की र प्रतिमा गौतम र रास्वपाका अशोक चौधरीले आफ्नो संशोधन प्रस्ताव राखे । रक्षामन्त्री राई अगाडि नै निस्किसकेका थिए । सांसद गौतम बोलिरहँदा गृहमन्त्री लेखकलाई फोन आयो र बाहिरिए । एकैछिनमा भित्र प्रवेश गरे । केहीबेर बसेर फेरि बाहिरिए । बैठकका क्रममा गृहमन्त्री बारम्बार बाहिर–भित्र गरे पनि आन्दोलनबारे समितिमा एक शब्द बोलेनन् । समितिमा उपस्थित गृहसचिव गोकर्णमणि दुवाडीलगायत पनि बाहिरिए । यतिखेरसम्म सांसद चौधरीले आफ्नो संशोधन प्रस्ताव राखिसकेका थिए ।

त्यसपछि सभापति ईश्वरीदेवी न्यौपानेले अर्काे संशोधनकर्तालाई समय दिन खोजिन् । राप्रपाका बुद्धिमान तामाङले बिचमै रोकेर मन्त्री र सचिव बाहिरिएकाले छलफल चलाउन नसकिने धारणा राखे । ज्ञानबहादुर शाहीले युवाहरू संसद् भवन प्रवेश गरेको भन्दै बैठक रोक्न माग गरे । अमरेश सिंहले कफ्र्यु लागेको भन्दै स्थगित गर्न भने । रामहरि खतिवडाले पनि परिस्थिति राम्रो नरहेको भन्दै स्थगित गर्नु नै उपयुक्त हुने भनेपछि बैठक स्थगित भयो ।

सभापति न्यौपानेले गृहमन्त्री लेखकले एकछिन १०/१५ मिनेटलाई एउटा बैठक बसेर आउँछु भनी अनुमति लिएर गएको बताइन् । ‘गृहमन्त्री केही क्षणमा आउँछु भनेर जानुभयो । तर, मन्त्री नभएपछि बैठक चलाउने अभ्यास छैन । बैठक हुँदाहुँदै जटिल परिस्थिति सिर्जना भयो भने बैठक समाप्त हुन्छ,’ उनले भनिन् । गृहमन्त्री केही नबोली बिदा भएका थिए ।

जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनमा भएको बर्बर दमन र मानवीय क्षतिको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले राजीनामापत्र पेस गरेका हुन् । मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामापत्र पेस गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । पदबाट राजीनामा दिए पनि गृह मन्त्रालयको वेबसाटइबाट उनको फोटो हटाइएको छैन । कांग्रेस बैठकमा उनलाई नेताहरूले राजीनामा गर्न सुझाएका थिए । मन्त्रिपरिषद् बैठकले सोमबारको आन्दोलनका क्रममा उत्पन्न परिस्थिति छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । कसको नेतृत्वमा समिति गठन भन्ने खुलेको छैन ।