मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १८ बुधबार o६:o१:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अरूको दु:खमा साथ दिनुहोस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o६:o१:oo

कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्र्रयोगशालामा काम गर्नका लागि एकजना सहायकको आवश्यकता पर्‍यो । त्यसैले, उनले नोकरी गर्न इ्रच्छुक कैयौँ उम्मेदवार बोलाए र उनीहरूको परीक्षा लिए । परीक्षापछि अन्तत: उनले दुई उम्मेदवारलाई सम्भावित सहायकका रूपमा छाने । दुवै उम्मेदवार बुद्धिमान र अत्यन्त मेधावी थिए । त्यसैले, ती दुईमध्ये कसलाई सहायकको पदमा राख्ने, यो एउटा गम्भीर प्रश्न बनेर उनको दिमागमा उब्जियो । अन्तत: निकै सोचविचार गरिसकेपछि आचार्यले दुवै युवकलाई एउटा पदार्थ दिएर रसायन तयार गरेर ल्याउन अह्राए ।

दुई दिनपछि ती दुवै आचार्यसामु उपस्थित भए । आचार्यले उनीहरूलाई देख्नेबित्तिकै रसायनबारे सोधे । उनको प्रश्न सुन्नेबित्तिकै पहिलो युवकले फुर्तीसाथ जवाफ दियो, ‘गुरुजी, मैले रसायन तयार गरेँ । यद्यपि, मेरो अगाडि अनेकौँ बाधा अड्चन थिए । मेरी आमालाई निकै ज्वरो आएको थियो । बाबुको खुट्टा दुखेको थियो । भाइको हात भाँचिएको थियो । मैले उहाँहरूको सेवा सुश्रूषा पनि गर्नु र काम पनि निकै गर्नु थियो । तैपनि, म लगातार हजुरले दिएको काममा लागिरहेँ र अन्तत: सफलता प्राप्त गरेरै छाडेँ ।’

उनको जवाफ सुनिसकेपछि आचार्यले अनुहार केही निन्याउरो पारेर टाउको निहुराए र अर्को युवकलाई पनि सोही रसायनबारे सोधे । तब उसले नम्रतापूर्वक जवाफ दियो, ‘आचार्य, मैले हजुरले दिएको काम गर्नै सकिनँ, किनकि मेरो छिमेकमा बस्ने एक वृद्धा अत्यन्न बिरामी थिइन्, उनी निकै कमजोर थिइन् । उनको हेरचाह गर्ने कोही थिएन । त्यसैले म उनको सेवामा लागिरहेँ । जसले गर्दा मैले रसायन तयार गर्ने समयै पाइनँ ।’

उसको जवाफ सुनेपछि आचार्यको अनुहारमा चमक आयो । उनले उसको ढाड थुमथुम्याउँदै भने, ‘तिमी नै यो नोकरीका लागि सही उम्मेदवार हौ । रसायन जीवनको रक्षाका लागि हुन्छ । यसलाई त्यही मानिसले बनाउन सक्छ, जसले अरूको दु:खपीडा बुझ्न सक्छ । यदि त्यो बनाउने मानिस अरूको दु:खदर्दबाट विमुख हुन्छ भने ऊ कसरी योग्य हुन सक्छ ?’