मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १३:o२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बारा र पर्साका एक दर्जन पालिका निमित्त अधिकृतको भरमा सञ्चालित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

पर्सा र बाराका जिल्लाका एक दर्जन पालिकाहरू हाल ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको पाइएको छ। १४ पालिका रहेको पर्सामा सात पालिका अहिले निमित प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको पाइएको हो । यस्तै, १६ पालिका रहेको बारामा पाँच पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेका छन् ।  

स्थानीय तहमा निमित्तको भरमा प्रशासन सञ्चालन गर्दा ऐन–कानुन मिचिनुका साथै विभिन्नखाले विकृति आएको, चेन अफ कमान्ड टुट्ने गरेको, सन्तुलन नमिलेको अवस्था छ । यस्तै, काम लगाउने र गर्ने दुवैले हचुवामा काम गर्दा परिणाम आउन नसकी सेवाप्रवाह प्रभावकारी हुन नसकेको कर्मचारीहरूले जनाएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाकै कर्मचारी राख्नुपर्छ र कुनै कर्मचारीलाई लामो समयसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउन नमिले उल्लेख छ । कतिपय स्थानीय तहले निमित्त राख्दा भेटेरेनरी, शिक्षा, कृषि, स्वास्थ्यका कर्मचारीसमेत राख्दै आएका छन् । 

पर्सामा सातजना निमित्त प्रशासकीय अधिकृत
जिल्लाअन्तर्गत १४ स्थानीय तहमध्ये सात पालिकामा तहगतअनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षासेवा र अन्यतर्फका अधिकृतहरूलाई अस्थायी रूपमा जिम्मेवारी दिँदै आएको छ । वीरगन्ज महानगरपालिकालगायत पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, ठोरी गाउँपालिका र बिन्दवासिनी गाउँपालिका अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालनमा छन् ।

वीरगन्ज महानगरपालिकामा हाल शिक्षा सेवाअन्तर्गतका कर्मचारी अरविन्दलाल कर्ण निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्। उनी यसअघि वीरगन्ज महानगरकै शैक्षिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । त्यसैगरी, पोखरिया नगरपालिकामा रामविनय सिंह, बहुदरमाई नगरपालिकामा वृजकिशोर प्रसाद, धोबिनी गाउँपालिकामा अशोक रौनियार, छिपहरमाईमा कदिर बाबु देवान, ठोरीमा धर्मराज थापा र बिन्दवासिनीमा श्यामबाबु साह कानु निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।

यीमध्ये अधिकांश कर्मचारीहरू शिक्षा क्षेत्र वा अन्य गैरप्रशासनिक सेवा पृष्ठभूमिबाट आएका हुन्। उनीहरूलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि तत्कालको लागि जिम्मेवारी दिएको हो। तर, केही पालिकाहरू लामो समयसम्म निमित्तको भरमै सञ्चालन हुँदै आए पनि मन्त्रालयको ध्यान पुग्न सकेको छैन ।
यद्यपि, उनीहरू सबैले आधिकारिक रूपमा ‘निमित्त’ उल्लेख नगरी ‘प्रमुख प्रशासकीय अधिकृत’कै पद नाम प्रयोग गर्ने गरेको देखिएको छ । यसले प्रशासनिक स्पष्टता र उत्तरदायित्वको सवालमा प्रश्न उठाइरहेको छ ।

बाराका पाँच स्थानीय तह निमित्तको भरमा सञ्चालित
बारामा पाँच स्थानीय तहहरू हालसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । कुल १६ वटा पालिकामध्ये पाँच पालिकाले स्थायी प्रशासकीय प्रमुख नपाउँदा कार्यसम्पादन प्रभावित भएको छ भने स्थानीय तहमा सुशासन र पारदर्शिता अभाव देखिन थालेको छ । बाराका प्रसौनी गाउँपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका र सिम्रौनगढ नगरपालिका हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सञ्चालन भइरहेका छन् ।

हाल प्रसौनीमा श्यामकिशोर प्रसाद, सुवर्णमा सुजितकुमार यादव, करैयामाईमा वीरेन्द्र महतो, महागढीमाईमा लक्ष्मण साह र सिम्रौनगढमा मदनकुमार थापा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । अधिकांश निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू शिक्षा क्षेत्रकै कर्मचारी हुन्। यद्यपि सबैजना निमित्तका रूपमा कार्यरत भए पनि, महागढीमाईका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहबाहेक अरू कसैले पत्राचारको साथै नेम प्लेटमा समेत ‘निमित्त’ उल्लेख नगर्ने गरेको गुनासो आएको छ ।

स्थानीय तहमा दरबन्दीअनुसारको पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको छानबिन, बजेट कार्यान्वयन, अनुगमन, जनगुनासो व्यवस्थापनजस्ता विषयमा प्रभाव परेको छ । साथै, अनियमितता बढ्ने सम्भावनासमेत देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी अन्तिम सूची तयार
लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आइरहेका स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी अन्तिम सूची तयार भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ऐन, नियम र कानुनको पालना सबै पक्षले गर्नुपर्ने र सोहीअनुसार सबै स्थानीय तहमा निमित्त हटाएर दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाइने गृहकार्य अन्तिम चरणमा पुर्‍याइएको मन्त्रालयका एक अधिकृतले जानकारी दिए ।

मन्त्रालयका अधिकारीहरूका अनुसार शक्ति, पहुँच र कहीँकहीँ पैसासमेत प्रयोग गरी लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदै आएकाहरू अब जिम्मेवारीमुक्त हुन लागेका छन् । देशभरका ७५३ वटै स्थानीय तहमा दरबन्दीअनुसारकै प्रमुुख प्रशासकीय अधिकृत राख्ने र निमित्त प्रथा सदाका लागि अन्त्य गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिबद्धता जनाएकी छिन् । 

उनले विभिन्न महत्त्वपूर्ण नीतिगत सुधारका कार्यहरू थाल्दै झन्डै दुई सय कर्मचारीलाई जम्मेवारीबाट मुक्त गरी नियमअनुसारका अधिकारप्राप्त प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी मन्त्रालयले उक्त सूची तयार गरेको सुनाइन्।अब कानुनअनुसार महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव, नगरपालिकाहरूमा उपसचिव र गाउँपालिकाहरूमा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाइनेछ । 

यसअघि कतिपय उपमहानगरपालिकाहरूमा सहसचिव राख्नुपर्नेमा उपसचिवलाई निमित्त दिइँदै आइएको थियो भने नगरपालिकामा अधिकृतलाई निमित्तको जिम्मेवारी दिँदै आइएको थियो ।