मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार १६:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकको पर्खाइमा धागेछरा झरना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १६:४२:oo

आवश्यक प्रचारप्रसारको अभावमा सल्यान कालीमाटी गाउँपालिका– ३, जुगेनामा रहेको धागेछरा झरना ओझेलमा परेको छ। एक सय मिटर अग्लो झरना लामो समयदेखि गुमनामकै अवस्थामा छ।

बाह्रै महिना झरिरहने झरनाको प्रचारप्रसार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको स्थानीय एकला गिरीेले बताइन्। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने भए पनि प्रदेश र स्थानीय सरकारले त्यसलाई ध्यान नदिँदा गुमनामजस्तै भएको उनको भनाइ छ। ‘खलंगा, कालीमाटी कोहलपुर सडकखण्डको नजिकै भए पनि त्यसको प्रचार भएको देखिँदैन,’ उनले भनिन्।

विशेषतः शनिबार, चाडपर्व तथा सार्वजनिक बिदाका दिन मानिसहरू झरना हेर्न र घुम्न आउने गर्छन्। ‘यो झरना निकै सुन्दर छ, बाह्रै महिना पानी झरिरहन्छ, झरनावरिपरिको वातावरणले झन् यहाँको रौनकता थपेको छ, हरियाली जंगल छ। रतुवा, घोरल, बँदेल, कालिजलगायतका जीवजन्तु पाइन्छन्,’ गिरीले भनिन्, ‘प्रकृतिको आनन्द लिनकै लागि यहाँ आउनुपर्छ।’

यो झरना पुग्दा प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने पर्यटकहरू बताउँछन्। जिल्ला सदरमुकाम खलंगाबाट झरनासम्म पुगेका दीपक वलीले यस झरनामा घुम्दा निकै खुसी लागेको प्रतिक्रिया दिए।  ‘सल्यानमै यति सुन्दर झरना देख्न पाइन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ। यहाँको शान्त वातावरण, पानीको ध्वनि र हरियाली, यी सबैथोकले मनलाई ताजगी दिन्छ। यो एकपटक घुम्नैपर्ने ठाउँ हो, समय मिलाएर सबै आउनुहोला,’ उनले भने।

अर्का पयर्टक नवराज आचार्यले जुगेना पानीखोला पुलदेखि झरनासम्म पुग्ने पदमार्गको स्तरोन्नति अत्यावश्यक रहेको बताए। उनले भने, ‘झरना अत्यन्तै सुन्दर छ, तर यहाँसम्म पुग्ने पदमार्गको स्तरोन्नति गरिनुपर्छ। यो थुप्रै सम्भावना भएको क्षेत्र हो। झरनालाई पारिवारिक पिकनिकस्पटको रूपमा विकास गर्न सकिन्छ, तीनै तहका सरकार र स्थानीय समुदायले संरक्षण र प्रचारप्रसारमा अझै ध्यान दिनुपर्छ।’

धागेछहरा झरना केवल प्राकृतिक सौन्दर्यको गन्तव्य मात्र नभई स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासको आधार बन्न सक्ने सम्भावना छ। जुगेना गाउँका स्थानीयहरू झरनालाई केन्द्रमा राखेर प्रचारप्रसारसँगै स्थानीय उत्पादनको बिक्रीका योजनामा जुट्न थालेका छन्। 

जिल्ला सदरमुकाम खलंगाबाट खलंगा–कालीमाटी सडकमार्ग हुँदै जुगेना पानीखोला पुलसम्म सवारीसाधनमा पुगिन्छ। त्यहाँबाट पैदल करिब १० मिनेटको पदयात्रा गरेपछि, हरियाली जंगलको फेदमा लुकेको धागेछहरा झरना देख्न सकिन्छ।