मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
२o८२ भदौ १० मंगलबार १o:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुबीकुमारी हत्या : अभियुक्तको पहिचान भइसकेको प्रहरीको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १o:१५:oo
  • जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्की भन्छन्–  रुबीकुमारीको हत्या विवाहेत्तर सम्बन्धकै कारण भएको हुन सक्ने अनुमान छ । मुख्य अभियुक्तको पहिचान भइसकेको छ, तर पक्राउ हुन बाँकी छ । हत्याको सम्भावित मोटिभमध्ये विवाहेत्तर सम्बन्ध पनि एक कारण देखिन्छ । 

रौतहट माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या विवाहेत्तर सम्बन्धका कारण हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको भए पनि पक्राउ परिनसकेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

अनुसन्धानको क्रममा प्रहरीले रुबीकुमारीको एउटा चप्पल लक्ष्मण पासवानको गौरस्थित डेराबाट बरामद गरेको छ । पासवान अहिले सम्पर्कविहीन छन् । प्रहरीका अनुसार पासवान केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । तर, उनी घर नगई गौरमा डेरा लिएर बसेका थिए । 

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले रुबीकुमारीको हत्या विवाहेत्तर सम्बन्धकै कारण हुन सक्ने संकेत गरेका छन् । ‘मुख्य अभियुक्तको पहिचान भइसकेको छ, तर पक्राउ हुन बाँकी छ । हत्याको सम्भावित मोटिभमध्ये विवाहेत्तर सम्बन्ध पनि एक कारण देखिन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

शनिबार साँझ डेराबाट एक्लै सहर निस्किएकी रुबीकुमारी त्यसपछि घर फर्किइनन् । सोही रात रुबीकुमारीको शव निलो सुटकेसमा प्याक गरी गौरस्थित बरहवा पुलनजिकै सडकमा फेला परेको थियो । शवमा गम्भीर चोटपटक थिएन । तर, नाकबाट रगत बगेको तथा हातखुट्टा पट्याइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शव व्यवस्थापनमा प्रयोग भएको ई–रिक्साचालक राजकुमार महरा पक्राउ परेका छन् । प्रहरीका अनुसार पासवानले सुटकेस गंगापिप्रा गाउँसम्म लैजान महरासँग पाँच सय रुपैयाँमा ई–रिक्सा भाडामा लिएका थिए । तर, मुडलवा गेटनजिकै ई–रिक्सामा समस्या आएपछि सुटकेस सडकमै छाडेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीको भनाइ छ ।

रुबीकुमारीको माइती माधवनारायणमै भए पनि उनीहरू २५ वर्षअघि गौर सरेका थिए । त्यही क्रममा उनको बिहे भारत मुजफ्फरपुरका शिवसागर साहसँग भएको थियो । पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएकी रुबीकुमारीका एक चार वर्षीय छोरा छन् । छोरा पढाउने उद्देश्यले रुबीकुमारी आमा मिथिला देवीसँगै गौरमा बस्दै आएकी थिइन् । व्यवसाय गरेर मुजफ्फरपुरमै बस्दै आएका उनका श्रीमान् वेला मौकामा गौर आउथे । केही दिन श्रीमतीसँगै बस्थे । र, पुन: मुजफ्फरपुर फर्कन्थे । 

घटनास्थल नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर दूरीमा पर्छ । शव सीमानजिकै भेटिएपछि प्रहरीले अनुसन्धानका अरू आयाम पनि हेरिरहेको छ । प्रहरीले अहिलेसम्म वरपरका सिसिटिभी फुटेज संकलन गरिरहेको छ । प्रहरीले मृतककी आमा, श्रीमान् र भाइसँग बयान लिइसकेको छ । 

डिजिटल प्रमाण, पारिवारिक पृष्ठभूमि र सम्भावित सम्बन्धकेन्द्रित गर्दै अनुसन्धानअगाडि बढाएको प्रहरीले जनाएको छ । ‘प्रहरी मुख्य अपराधीको नजिक पुगेको छ । चाँडै नियन्त्रणमा लिने तयारी भइरहेको छ,’ डिएसपी कार्कीले भने ।