
७८ लाख घुस ‘डिल’ अडियो प्रकरणमा राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि मुद्दा चलाउने प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुटाएको छ । सार्वजनिक भएको घुस डिलसम्बन्धी अडियो उनकै भएको पुष्टि भएपछि आयोगले उनीमाथि छानबिन तीव्र पारेको छ । सो अडियोकै आधारमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न पर्याप्त प्रमाण पुग्ने भएपछि आयोगले उनलाई बयानमा बोलाएको छ ।
सार्वजनिक भएको अडियो पूर्वमत्री गुप्ताकै हो वा होइन भनेर आयोगले उनको स्वर परीक्षण (भ्वाइस टेस्ट) गराएको थियो । ल्याबबाट सो आवाज उनकै भएको रिपोर्ट आएको स्रोत बताउँछ । त्यसकै आधारमा आयोगले सो प्रकरणमा संलग्न सबैमाथि विस्तृत अनुसन्धान तीव्र पारेको हो । यसमा घुस लेनदेनको प्रमाण नभेटिए पनि लिने–दिने मनसाय प्रस्ट देखिएकाले त्यो भ्रष्टाचार निवारण ऐनअनुसार आकर्षित हुने स्रोत बताउँछ ।
यो घटनाको केन्द्रमा भने बहालवाला भूमि व्यवस्थामन्त्री बलराम अधिकारी छन् । पैसा खाएर पनि अधिकारीले काम नगरिदिएको गुनासो सो अडियोमा गुप्ताले गरेका छन् । अधिकारीकै मन्त्रालयअन्तर्गत कास्की मालपोतमा कर्मचारी सरुवा, लिचिबारी जग्गाको स्वामित्व विवादको निरूपण तथा भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी विषयमा त्यसरी घुस डिल भएको थियो ।
बिचौलिया सुजन लामाले मन्त्री अधिकारीका छोरा र तत्कालीन भूमि व्यवस्थासचिव अर्जुन पोखरेललाई समेत आफूले सहयोग गरेको भनेर बोलेको अडियोसमेत बाहिर आइसकेको छ । सो विषयमा पनि आयोगले छानबिन गरिरहेको छ ।
गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ लाख र कास्की मालपोतका प्रमुख थमौती/सरुवाका लागि ५३ लाख गरेर ७८ लाख रुपैयाँको डिल गरेका छन् । यही डिल सार्वजनिक भएपछि आलोचनाका बिच गुप्ताले गत ३१ असारमा पदबाट राजीनामा दिएका थिए ।
गुप्ताको अडियोसहितको उजुरी गत १० असारमै दर्ता भएपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेरै छानबिन गरिरहेको छ । घुस प्रकरणसँग जोडिएको पोखराको लिचिघारीको जग्गाबारे विवरणसमेत अख्तियारले मगाएको छ । अख्तियारले कास्की मालपोतलाई पत्र काटेर जग्गासम्बन्धी कागजात र जग्गाको अवस्थालगायतका विवरण मागेको छ ।
यो प्रकरणको केन्द्रमा रहेका भूमि व्यवस्थामन्त्री अधिकारी भने अझै पदमै छन् । उनीमाथिको मुद्दा बिचौलिया लामाको बयानका आधारमा भर पर्ने स्रोत बताउँछ । यसमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत आयोगको छानबिनमा छिन् । उनीसँग पनि आयोगले सोधपुछ गरिरहेको छ ।