
राजनीतिमा सक्रिय बन्ने योजनामाथि ‘ब्रेक’ लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयप्रति असहमति राखेर पछि नहट्ने सन्देश दिँदै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छिन् । नयाँ बानेश्वर थापागाउँस्थित काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीको भाडामा लिइएको घरलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै भण्डारी एमालेको आन्तरिक राजनीतिमा सक्रिय बन्न लागेकी हुन् । यसका लागि उनी संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ हीरक जयन्ती तयारी प्रयोजनका लागि मैनालीको घर भाडामा लिएको छ ।
चारतले सो घरलाई बहुदलीय व्यवस्थापछिको ०४८ को पहिलो आमनिर्वाचनमा मदन भण्डारीले चुनावी प्रचारको कार्यालयका रूपमा प्रयोग गरेका थिए । दासढुंगामा जिप दुर्घटनाबाट मदनको अकल्पनीय निधन भएपछि सम्पन्न उपनिर्वाचनमा विद्याले सोही घरलाई चुनावी प्रचार कार्यालय बनाएकी थिइन् । चुनावमा उनले कांग्रेसका उम्मेदवार तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् ।
मदनसँग जोडिएको पुरानो भावनात्मक सम्बन्धलाई निरन्तरता दिँदै त्यही कार्यालयबाट देशभरका नेता–कार्यकर्तासँग प्रत्यक्ष जोडिएर पूर्वराष्ट्रपति भण्डारी सक्रिय बन्न लागेको उनीनिकट नेताहरूले बताएका छन् । छिट्टै कार्यालय सञ्चालनमा ल्याउने गरी फाउन्डेसनले मर्मतसम्भार अगाडि बढाएको छ ।
हीरक जयन्ती समितिका संयोजक बागमतीका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम तयारीकै लागि घर भाडामा लिने तय भएको बताए । ‘कार्यालय लिने भन्ने समझदारी थियो, मैले पनि मिडियाबाट कार्यालयका लागि फाउन्डेसनले घर भाडामा लिएको जानकारी पाएँ,’ हेटौँडामा रहेका पौडेलले नयाँ पत्रिकासँग भने । पौडेलकै नेतृत्वमा ७५ सदस्यीय हीरक जयन्ती व्यवस्थापन समिति बनेको छ ।
विधान महाधिवेशनबाट ६ साउनमा पार्टी केन्द्रीय कमिटीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउन दबाब दिने मुडमा पूर्वराष्ट्रपति भण्डारी छिन् । आगामी २० देखि २२ भदौमा हुने विधान महाधिवेशनमा दुई हजारआसपास प्रतिनिधि छन् । भण्डारीले ओलीले केन्द्रीय कमिटीमा विशेष प्रस्तावमार्फत बहुमतबाट गराएको सदस्यता नवीकरण नगराउने निर्णयलाई बहुमत प्रतिनिधिको हस्ताक्षर जुटाएर वा विभिन्न प्रकारको दबाब दिएर उल्ट्याउन पनि सक्छिन् ।
विधान महाधिवेशन तयारीकै सिलसिलामा बस्ने केन्द्रीय सचिवालय बैठकमा समेत भण्डारीले नेताहरूलाई सहमत गराएर निर्णय उल्ट्याउन सक्छिन् । अहिले उनी ओलीसँग सार्वजनिक रूपमा आलोचना गरेर आमने–सामने नलड्ने, तर ती सबै रणनीति प्रयोग गर्दै सक्रिय रूपमा अगाडि बढ्ने तयारीमा छिन् । निर्णय उल्टिएको अवस्थामा उनलाई राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर सर्वसम्मत वा चुनिएर अध्यक्ष बन्ने ढोका खुला हुनेछ । अन्यथा उनले आफ्नो समर्थन र सक्रियतामा अरू नै नेताहरूको टिम खडा गरेर मात्र संस्थापन पक्षसँग प्रतिस्पर्धा गर्न सक्नेछिन् ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले फाउन्डेसनकै माध्यमबाट पछिल्लो पार्टी निर्णय उल्ट्याउने गरी जनमत खडा गर्ने उद्देश्यले पूर्वराष्ट्रपति भण्डारी सम्पर्क कार्यालयमार्फत सक्रिय बन्न खोजेको हुन सक्ने बताए । ‘उहाँले निर्णय बदल्न पार्टीभित्र जनमत सिर्जना गर्दै दबाब दिन मदन भण्डारी फाउन्डेसनलाई प्रयोग गर्न खोजेको अर्थमा बुझ्नुपर्छ,’ उनले भने, ‘उहाँले पार्टी फुटाउने होइन, फाउन्डेसनकै माध्यमबाट देशव्यापी सञ्जाल विस्तार गर्दै एमालेमा आफ्नो पक्षमा रहेका र बिचमा रहेका नेता–कार्यकर्तासँग संवाद गरेर जनमत खडा गर्न खोज्नुभएको हो ।’
भण्डारीनिकट नेता विनोद ढकालले अहिलेको कार्यालय हीरक जयन्ती तयारीको मूल उद्देश्यले लिइएको बताए । ‘उहाँले राजनीतिबाट ब्याक नहुने कुरा पत्रकार सम्मेलनबाटै प्रस्ट पारिसक्नुभएकाले अरूले थप प्रतिक्रिया जनाइराख्न आवश्यक परेन । तर, बानेश्वरको कार्यालय हीरक जयन्ती तयारीका लागि मदन भण्डारी फाउन्डेसनले भाडामा लिएको हो,’ उनले भने, ‘उहाँ हीरक जयन्ती मूल व्यवस्थापन समितिको संरक्षक हो । समितिले दुई वर्ष हीरक महोत्सव मनाउने सिलसिलामा मदन भण्डारी र जबजका विषयमा युवा, विद्यार्थी, महिलालगायत थुप्रै क्षेत्रमा विभिन्न किसिमका अन्तक्र्रियालगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । खासमा त्यसैको तयारीका लागि कार्यालय लिइएको हो ।’
भण्डारीका स्वकीय सचिव राजकुमार राईले फाउन्डेसनले गर्ने कार्यक्रमका सन्दर्भमा देशभरिबाट आउने नेता–कार्यकर्तासँग सामान्य र भेटघाटका लागि कार्यालय व्यवस्था गरिएको जानकारी दिए ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हीरक जयन्ती मनाउने कार्यक्रम तय गर्नु राम्रै कुरा भए पनि पार्टीलाई औपचारिक जानकारी नभएको बताए । ‘मदन भण्डारीसँग जोडिएर हीरक जयन्ती कार्यक्रम हुँदै छ भने राम्र्रै कुरा हो । तर, फाउन्डेसनले त्यसैका लागि कार्यालय खोलेको वा खोल्न लागेको विषयमा पार्टीलाई कुनै औपचारिक जानकारी छैन । त्यसैले यसमा अहिले कुनै प्रतिक्रिया छैन,’ उनले भने, ‘व्यक्तिले आफ्नो सहजताका लागि, भेटघाटका लागि, कुराकानीका लागि कार्यालय खोल्न सक्छ, अरू कुरा जानकारी छैन ।’