Skip This
उत्तराखण्डको त्यो भयानक बाढी : एक बालकसहित १७ नेपाली सम्पर्कविहीन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
रेशमबहादुर खड्का जाजरकोट
प्रकाश पौडेल बर्दिया
२o८२ श्रावण २३ शुक्रबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उत्तराखण्डको त्यो भयानक बाढी : एक बालकसहित १७ नेपाली सम्पर्कविहीन

Read Time : > 2 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका जाजरकोट, बर्दिया
२o८२ श्रावण २३ शुक्रबार o६:o५:oo

भारत उत्तराखण्डको उत्तरकाशीस्थित खिर नदीमा अचानक बाढी आएको २० साउनको घटनामा एक बालकसहित १७ नेपाली सम्पर्कविहीन भएका छन् । जाजरकोटको कुसे गाउँपालिका– २ का १२, बर्दियाको मधुवन नगरपालिकाका चार र जुम्लाको तिला गाउँपालिका– ३ का एक गरी १७ जना सम्पर्कविहीन भएका हुन् ।

२० साउनमा खिर नदीमा लेदोसहित आएको बाढीले धराली गाउँँ र पौडीगढीमा ठुलो विनाश निम्त्याएको थियो । त्यसबाहेक उत्तराखण्डका विभिन्न क्षेत्रमा बाढीपहिरो गएको थियो । १७ नेपाली त्यही बाढीमा परेको आशंका गरिएको सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले जनाएका छन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले नेपाली नागरिकको अवस्थाबारे स्थानीय प्रहरीबाट बुझ्ने प्रयास भइरहेको बताए । ‘हिजोअस्ति सम्पर्क नै हुन सकेन । बिहीबार साँझ ५ बजे स्थानीय प्रहरीसँग सम्पर्क गर्दा ‘अहिले केही पनि भन्न सकिने स्थिति नरहेको र उद्धारमा रहेको’ जानकारी आएको छ,’ उनले भने, ‘नेपाली पनि हताहती भएको हुन सक्ने आशंका गरिए पनि यकिन भइसकेको छैन ।’ 

टेन्टभित्र खाना खाँदै गर्दा पहिरोले बगायो
पढाइको सिलसिलामा कोहलपुरमा रहेकी जाजरकोट कुसे गाउँपालिका– २, डोग्रीकी शर्मिला सिंहको मोबाइलमा बिहीबार दिउँसो १२ बजेतिर २८ सेकेन्डको अडियो म्यासेज आयो । दाइ सुशील सिंहको अडियो म्यासेज सुन्नासाथ उनी चिसो मनसहित पसिना र गहभरि आँसुमा डुबिन् । ‘बहिनी, कल नगर्नू, ठुलाबुबा बितिसक्नुभयो, कुनौडिया माइला अंकल, छपगाडा कान्छा अंकल, उषा दिदीका श्रीमान् लगायतका अरु मान्छेहरु पनि बितिसक्नुभएको छ। हामी बाँकीलाई अर्को ठाउँमा सेनाले सुरक्षित ल्याएर राखेको छ। यहाँ फोनले काम गर्दैन, भारतीय सेनाको वाइफाइबाट कुरा गरिरहेको छु,’ भिडियो सन्देश थियो । शर्मिलाले त्यो म्यासेज वडाध्यक्षलाई पठाइन् र त्यसपछि गाउँ शोकमा डुब्यो ।

उनीहरू भारतको ग्राम बाकुडानजिक मधेरा खटौला भन्ने स्थानमा सडक निर्माण तथा मजदुरीका लागि गएका थिए । जाजरकोट कुसेका १२ र जुम्ला तिलाका एक गरी १३ जना बाढीमा परेको खबर छ । तीमध्ये सातजनाको मृत्यु भएको सूचना प्राप्त भएको कुसे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार रामबहादुर सिंह, कर्णबहादुर सिंह, निमबहादुर सिंह, मानबहादुर सिंह, रविन सिंह, जनकबहादुर सिंहको मृत्यु भएको छ । रामबहादुर र कर्णबहादुर चार वर्षदेखि नै भारतमा परिवारसहित बसेर मजदुरी गर्दै आएका थिए । जुम्ला तिलाका जनकबहादुर मानबहादुर सिंहका ज्वाइँ हुन् ।

‘अहिलेसम्म सातजनाको ज्यान गएको खबर छ, ६ जना अझै बेपत्ता छन्,’ उनले भने, ‘गाउँभरि सन्नाटा छ, महिला, बालबालिका, वृद्धवृद्धा सबै छटपटाइरहेका छन् ।’ गाउँपालिकाको तर्फबाट परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासलाई तत्काल खोजी कार्य गर्न आग्रह गरिएको कुसे– २ का वडाध्यक्ष मानबहादुर सिंहले बताए ।

कर्णबहादुर सिंहकी श्रीमती निरुता शाही सिंह भन्छिन्, ‘केही दिनअघि मात्रै उहाँले म दसैँमा आउँछु, घरको अवस्था कस्तो छ भनेर सोध्नुभएको थियो ।’ त्यस्तै मानबहादुरका भतिजा लोकेन्द्र सिंहले सातजनाको ज्यान गइसकेको म्यासेज आएकाले आफूहरू गढवालतिर लागेको बताए ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई आवश्यक पहलका लागि अनुरोध गरिएको बताए । प्रशासनले सातवटै स्थानीय तहलाई भारतमा रोजगारीमा गएकाको विवरण संकलन गर्न निर्देशन दिँदै बेपत्ताको खोजी र समन्वयमा जुट्न आग्रह गरिसकेको छ ।

नाबालक छोरासहित बर्दियाका दम्पती बेपत्ता
गत ६ असारमा मात्र भारत पुगेका बर्दियाको मधुवन नगरपालिकाका– ६, सानोश्रीका ४० वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया सरस्वती भट्टराई खड्का र उनीहरूका दुई वर्षीय छोरा रोमन खड्का सम्पर्कविहीन छन् । नरेन्द्र सडक निर्माणका लागि मिस्त्रीको काम गर्दै आएकामा बाकुडाको पहिरोमा बेपत्ता भएको खबर आएको उनका माइला बुबाका छोरा बमराज खड्काले बताए । 

‘मंगलबार बिहान मात्र मेरो कुरा भएको थियो । दाइ मिस्त्रीको काम गर्नुहुन्थ्यो । भाउजूले मजदुरका लागि खाना बनाउने काम गर्नुहुन्थ्यो । बाबु सानो भएकाले दाइ–भाउजूको साथमा थियो,’ उनले भने, ‘घटना सुनेपछि ठुलोबुबा र भिनाजु उत्तराखण्ड जानुभएको छ ।’

त्यस्तै, गढवालको जमपुरीमा रहेका मधुवन– ५, रामनगरकी ४२ वर्षीया अमृता परियार बेपत्ता छिन् भने छोरी घाइते भइकी छिन् । श्रीमान् ४५ वर्षीय रामु परियार सकुशल रहेको जनाइएको छ । बुहारी अमृता पहिरोमा पुरिएको खबर आएको उनका ससुरा नाता पर्ने टीकाराम दमाईंले बताए । ‘मेरा र दाइका छोराबुहारी बाटो बनाउने कामका लागि भारतमा थिए । बुहारी अमृता पहिरोमा बेपत्ता भइछिन्,’ उनले भने, ‘घाइते अमृताकी छोरीको अस्पतालमा उपचार भइरहेको छ । बाँकी तीन छोराबुहारीसँग मेरो नियमित कुराकानी भइरहेको छ ।’