
वीरगन्ज भन्सार कार्यालय पर्साले बिलबिजकभन्दा कम परिमाणमा देखाएर सामानहरूको भन्सार पास गरेको तथ्य फेला परेको छ । १६ साउनमा भन्सारबाट पास भएको डिप बोरिङ जडान मेसिनका १८८ थान सामानलाई एक थान मात्र देखाएर भन्सार पास भएको तथ्य फेला परेको हो।
सामान आयातकर्ता, भन्सार एजेन्ट र भन्सारका कर्मचारीहरूको मिलेमतोमा आयात भएको मालसमानको परिमाण संख्याभन्दा कम देखाएर भन्सार पास भएको भन्सारको प्रज्ञापनपत्रमा उल्लेख छ।
भन्सार कार्यालयका अधिकृत लेखनाथ पोखरेलले पास गरेको उक्त गाडीलाई अर्का कर्मचारी नवीन लम्सालले चेकजाँच र पासमा सहजीकरण गरेको भन्सार कार्यालयको प्रज्ञापनपत्रमा देखिन्छ।
भारतको दिल्लीबाट सचदेवा वियरिङ कर्पोरेसनबाट पिबी ११ बिआर ७९८६ नम्बरको भारतीय गाडीमा उक्त मालसमान आयात भएको प्रज्ञापनपत्रमा उल्लेख छ। उक्त समानलाई काठमाडाैं महानगरपालिका–४, सिनामंगल ठेगाना ३७२ एजेन्ट कोड रहेको भन्सार एजेन्ट भोजराज भट्टराईले पास गराएका छन्। स्रोतका अनुसार भन्सार अधिकृत पोखरेल, भन्सार एजेन्ट भट्टराई र आयातकर्ता कम्पनीका सञ्चालक जयलाल साहको मिलेमतोमा उक्त मालको परिमाणम घटाएर भन्सार पास गरिएको हो।
अनलोड गर्दैगर्दा प्रहरी नियन्त्रणमा
उक्त गाडीमा प्रज्ञापनपत्रभन्दा बढी मालसमान रहेको भन्दै विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो।
वीरगन्ज महानगरपालिका लिंकरोडस्थित सुरज मेसिनरीको नाममा आएको उक्त मालसमान भन्सारबाट छुटेको केही घण्टामा पावरहाउस चोकको कादम्बरी स्कुलको गल्लीबाट अनलोड गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिलबिजकभन्दा बढी मालसमान बोकेको भन्दै पावरहाउसस्थित कादम्बरी स्कुलको गल्लीमा अनलोड गर्दैगर्दा पक्राउ गरिएको हो।
विशेष सूचनाको आधारमा बिलमा प्याक भएको सूचीमा १८८ थान र भन्सार प्रज्ञानपत्रमा मात्र एक पिस मात्र देखाएको भन्दै नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं नेतृत्वको टोलीले बिलभन्दा बढी मालसमान बोकेको भन्दै उक्त गाडीलाई अनलोड गर्दैगर्दा नियन्त्रण लिएको थियो।
भन्सारबाट पास भएको गाडीमा बिलभन्दा बढी मालसमान रहेको भन्दै उक्त गाडीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साका बुझाएका थिए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले मालसमानभन्दा कम संख्या देखाएर भन्सारबाट पास हुने कुराको बारेमा आफूलाई जानकारी नभएको भन्दै पन्छिए। उनले वीरगन्ज भन्सार कार्यालयबाट पास भएको मालसामानको प्रज्ञापनपत्र हेरेर मात्र प्रतिक्रिया दिने बताए।
नियन्त्रणको केही घण्टामा छुट्यो गाडी
भन्सारबाट नै पास भएको बिलबिजकभन्दा बढी मालसमानसहित प्रहरीले पक्राउ गरेको मालसमान र गाडी राति नै छाडेको पाइएको छ। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बिलबिजकभन्दा बढी मालसमान बोकेको आंशका लागेपछि गाडीलाई नियन्त्रणमा लिएर जाँचबुझ गरेर राति नै छाडिएको बताए।
उनका अनुसार विशेष सूचनाका आधारमा अनलोड गर्दैगर्दा पक्राउ गरिएको गाडी बिलबमोजिम देखिएपछि छाडिएको हो। स्रोतका अनुसार पर्साका एकजना मन्त्रीले पक्राउ गरिएको गाडी छाड्न पर्साका प्रहरी प्रमुखलाई दबाब दिएपछि त्यही वेलामा उक्त गाडीलाई छाडिएको हो। बिलबिजकभन्दा बढी मालसामान बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिने क्रममै उक्त मन्त्रीले तत्काल गाडी र मालसमान छाड्न दबाब दिएका हुन्।