मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १९:२५:oo
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

घोडा चढ्न ढोरपाटन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १९:२५:oo

बागलुङ बजारमा बसोबास गर्ने बालकृष्ण शर्मा पेसाले व्यवसायी हुन्। समय-समयमा उनी आफ्नो नियमित कामबाट बाहिर निस्कन मन पराउँछन्। आफ्नो नियमित कामसँगै विभिन्न पर्यटकीय स्थान घुम्ने र ट्रेकिङ गर्ने उनको रुचि हो। उनलाई नयाँ-नयाँ कुराको अनुभव लिने सोख छ। सानैदेखिको उनको रहर थियो– घोडा चढ्ने र घुम्ने। शर्माले आफ्नो चाहना नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पुगेर पूरा गरेका छन्। घोडाको पिठ्युँमै चढेर जब ढोरपाटनको खुला घाँसेमैदानमा पाइला टेकिन्छ, तब लाग्छ– प्रकृतिसँगको साझा जीवन यही हो। बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने यो पर्यटकीय गन्तव्य घोडा चढ्न खोज्नेहरूका लागि उपयुक्त रहेको शर्मा बताउँछन्।

पछिल्लो समय ढोरपाटनमा घुम्ने र घोडचढीमा रमाउने बालकृष्ण मात्र होइन, अन्य आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ। समथर ढोरपाटन उपत्यका ठुलो क्षेत्रफलमा फैलिएको हुँदा यहाँ आउने पर्यटक घोडा चढेरै घुम्ने गरेका छन्। यहाँ फुल्ने बुकी फूल र घोडासँग रमाएर फोटा खिच्ने र टिकटक बनाउने युवायुवती लस्करै देख्न सकिन्छ। बर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको छ।

आरक्षमा प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने गर्छ। सिकार खेल्नका लागि भने बाह्र पर्यटक हेलिकोप्टरमार्फत नै पुग्ने गरेका छन्। त्यहाँ पुगेपछि भने अधिकाशंले घोडा नै चढ्ने र ढोरपाटन उपत्यका, ढोरबाराही मन्दिर घोडा नै सवार गरेर पुग्ने गरेको स्थानीय होमस्टे सञ्चालक सीता बुढामगर बताउँछिन्। बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्ने सिकार आरक्ष करिब एक हजार ३२५ वर्ग किमिमा फैलिएको छ। सो क्षेत्र घुम्नका लागि बागलुङ, पर्वत, म्याग्दीसहित पोखरा, काठमाडौं, बुटवल, चितवनलगायत देशका धेरै जिल्लाबाट आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ।

‘पछिल्ला दुई वर्षमा पर्यटकको संख्या ह्वात्तै बढेको छ। होटेल तथा होमस्टे व्यवसाय पनि बढ्दै गएको छ,’ बुढामगरले भनिन्, ‘यो समयमा बुकी फूल फुल्ने हुँदा बुकीसँगै घोडामा रमाउने पनि बढी नै हुन्छन्। यसका साथै माथिल्लो क्षेत्र जलजला बुकीपाट जाने पर्यटक पनि बढ्दै गएका छन्।’

बुकी फूलसँगै घोडा चढी रमाउँदै
असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन्। मंसिर–पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटकहरू हिउँ खेल्नकै लागि पनि आउँछन्। यहाँ आउने पर्यटक घोडा नचडी फकिएको पाइँदैन। पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गरेकाे होटेल व्यवसायी बुढामगरले बताइन्।

सुन्दर ढोरपाटनमा रमाइलोसँगै घोडा चढेरै घुम्न पाइने हुँदा चारजनाको समूहमा यहाँ आएको सुर्खेतका सविन रोकाया बताउँछन्। ‘मुलुककै एक मात्र सिकार आरक्ष रमाइलो छ भन्ने सुनेर घुम्न आइयो। पहिलोपटक घोडा चढ्न पनि पाइयो,’ उनले भने, ‘निकै रमाइलो र फरक अनुभव भयो।’

घोडा स्थानीयको आम्दानीको स्रोत
ढोरपाटन उपत्यकामा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरूको संख्या पनि धेरै छ। घोडा चढेर पर्यटकले मनोरञ्जन मात्र लिएका छैनन्, स्थानीयको आम्दानीको मुख्य स्रोत पनि बनेको छ घोडापालन। यसले स्थानीय युवाहरूलाई आर्थिक आर्जनको अवसर दिएको छ। बर्खायाम भए पनि यहाँको बुकी फूल हेर्नकै निम्ति शुक्रबार र शनिबारको दिन पारेर पर्यटकहरू धेरै मात्रामा आउने गरेका स्थानीय घोडापालक युवा फाजिन्द्र विकले बताए। ‘पर्यटकको मनोरञ्जन र घुमाउने प्रयोजनका लागि हामीले घोडा पालेका छौँ। ढोरपाटन आएर घोडा नचढी प्रायः कोही फर्कँदैनन्,’ विकले भने, ‘घोडा चढ्ने र फोटो मात्र खिचेको २५० देखि ५०० रुपैयाँ लिन्छौँ, केही समय घोडामा नै डुल्न ७०० देखि १ हजार रुपैयाँसम्म लाग्छं।

साथै, बुकीपाटन जानुपरेमा २ हजारदेखि ३५ सयसम्म घोडामा सवार गर्न पाइने उनले बताए। पर्यटकको बाक्लो उपस्थिति भएको बेला दैनिक ५ देखि ७ हजारसम्म कमाइ हुने गरेको उनले सुनाए। ‘कहिले कमाइ राम्रै हुन्छ, कहिले अलि कम हुन्छ,’ उनले भने, ‘घोडालाई दानापानी खुवाउनुपर्छ, बचेको रकमले घर खर्च चलाउँछौँ।’ घोडाका लागि दाना महँगो हुने हुँदा यसलाई पाल्न कठिनाइ रहेकोसमेत उनले बताए।

बुर्तिबाङ बजारबाट दुई घण्टाको यात्रा
रुकुमपूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लाको एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन नगरपालिका– ९ मा छ। पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ सदरमुकाम हुँदै झन्डै चार घन्टामा बुर्तिबाङ पुगिन्छ। बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप, बाइक वा बसमार्फत झण्डै दुई घन्टाको यात्रापछि ढोरपाटन पुग्न सकिन्छ। पोखरालगायतका सहरबाट विभिन्न ट्राभल्स एजेन्सीले प्याकेजमा पनि ढोरपाटन लैजाने गर्छन्।