
वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रात्रिबजार लगाउने कार्यक्रमको नाममा आर्थिक अनियमितता गरेको पाइएको छ।
महानगरपालिकाले वीरगन्ज साइक्लिङ क्लबसँग रात्रिबजार लगाउने कार्यक्रमका लागि लागत अनुमान तयार नगरी र प्रतिस्पर्धा नगराई २० लाख २७ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको महालेखाले औँल्याएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९९ मा गैरसरकारी संस्थाबाट काम गराउनका लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधि, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधिसहित कार्यक्षेत्रगत सर्त र लाग्ने रकमको मोटामोटी अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। सोही नियमको उपनियम ८ मा १० लाख रुपैयाँभन्दा बढीको लागत अनुमान भएको काम गराउनका लागि खुला रूपमा आशयपत्र माग गरी परामर्श सेवा खरिद अवलम्बन गर्नुपर्ने व्यवस्था छ।
तर, महानगरले यी व्यवस्थाविपरीत लागत अनुमान तयार नगरी र प्रतिस्पर्धा नगराई २० लाख २७ हजार २५० रुपैयाँ वीरगन्ज साइक्लिङ क्लबलाई भुक्तानी गरेको महालेखाले जनाएको छ।
सार्वजनिक खरिद नियमावलीको प्रावधानअनुकूल नभएको खर्च नियमसम्मत नदेखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ।