
बागमती प्रदेशमा नवनियुक्त आठ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथग्रहण गराए।
नवनियुक्त मन्त्रीहरूमध्ये कांग्रेसका २ र एमालेका ६ जना छन्। एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त भएका छन्।
कांग्रेसतर्फबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी विनाविभागीय मन्त्री बनेका छन्।
कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री नियुक्त गरिएको छ भने बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैँमातहत राखेका छन्।