मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काबेली– ३ जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १o:३५:oo

ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली– ३ क्यासकेट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको २१.९३ मेगावाट क्षमताको यस आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो।

आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुंगानाका अनुसार आयोजनाको निर्माण कार्य ०७९ साल माघ ५ गतेबाट सुरु गरिएको थियो। निर्माण सम्पन्न भएसँगै परीक्षण उत्पादन सुरु गरिएको र परीक्षण सफल भएपछि औपचारिक रूपमा विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी दिए।

काबेली– ३ आयोजना सिरिजंघा गाउँपालिका– ५, पेदाङ, वडा नं.६ मामाङ्खे र वडा नं. ७ खेबाङ क्षेत्रभित्र पर्दछ। कुल चार अर्ब २८ करोड ५० लाख एक हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित हिलिहाङ गाउँपालिकाको अमरपुर दुवीचौरमा रहेको १३२ केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जडान गरिएको छ।

पेदाङको पुछार खोलाखेतमा रहेको विद्युतगृहदेखि अमरपुर सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३१ वटा प्रसारण टावर पोल (खम्बा)मार्फत लाइन जडान गरिएको छ। आयोजनाको संरचनामा पानीको मुहान सिरिजंघा गाउँपालिका ६ र ७ को सिमानास्थित ओथम्मा गहिरीमा रहेको छ, जहाँबाट ५,१४०.२ मिटर लामो सुरुङमार्फत पानी ल्याएर विद्युतगृहमा खसालिएको हो।

सम्पर्क अधिकृत ढुंगानाका अनुसार आयोजनाको कुल लागतमध्ये ७५ प्रतिशत एनएमबि बैंकको नेतृत्वमा प्रभु बैंक र नबिल बैंक लिमिटेडको सहलगानीमा ऋण लगानी गरिएको छ भने बाँकी २५ प्रतिशत काबेली हाइड्रोपावर कम्पनीको स्वपुँजीबाट व्यवस्थापन गरिएको हो। यसअघि पनि सोही क्षेत्रका काबेली खोलामा आधारित १३.५ मेगावाटको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेली जलविद्युत् आयोजना निर्माण भइसकेका छन्।