
ब्राजिलले महिलाको कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै कीर्तिमानी नवौँपटक उपाधि जितेको छ । ६ पटक विश्वकै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइसकेकी ३९ वर्षीया मार्टाले ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । बेन्चबाट मैदान प्रवेश गरेपछि मार्टाले कोलम्बियाको पोस्टमा दुई गोल गरिन् । उनले इन्जुरी समयको छैटौँ मिनेटमा ३–३ का लागि बराबरी गोल गरी ब्राजिललाई उपाधिको आशा दिलाइन् ।
इन्जुरी समयमा उनकै गोलको सहयोगमा ब्राजिलले पहिलोपटक अग्रता लियो । खेलको ११५औँ मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले ४–४ को बराबरी गोल गरिन् । त्यसपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भयो । टाइब्रेकरमा ब्राजिलकी गोलरक्षक लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाइन् । गोलरक्षक लोरेनाको यसै प्रदर्शनमा ब्राजिलले लगातार पाँचौँ र समग्रमा नवौँपटक कोपा अमेरिका महिला उपाधि हात पार्यो । ब्राजिलले पछिल्ला पाँचमध्ये चार फाइनलमा कोलम्बियालाई नै हराएर उपाधि जितेको हो ।
विश्वकपमा ६ पटक र ओलम्पिकमा पनि ६ पटक खेलेकी मार्टाले ब्राजिलका लागि २०६ खेलमा १२२ गोल गरेकी छिन् । अमान्डा गुटिएरेसले प्रतियोगितामा कुल ६ गोल गर्दै पाराग्वेकी क्लाउडिया मार्टिनेजसँगै शीर्ष स्कोररको उपाधि बाँडिन् । कोलम्बियाका लागि लिन्डा कैसिडोले २५औँ मिनेटमा, मायरा रामिरेजले ८८औँ मिनेटमा र सान्टोसले ११५औँ मिनेटमा गोल गरिन् । ब्राजिलकी डिफेन्डर टार्सियानेको आत्मघाती गोलमा कोलम्बियाले सुरुवाती अग्रता लियो । कोलम्बियाले तीनपटक अग्रता लिए पनि रक्षा गर्न सकेन ।
बढिरहेको महिला फुटबल क्रेज
दक्षिण अमेरिकामा कोपा महिला अमेरिका कपले फुटबलको क्रेज बढिरहेको ब्राजिलियन गोलरक्षक लोरेनाले बताइन् । ‘यस प्रतियोगिताले दक्षिण अमेरिकी महादेशमा महिला फुटबल क्रेज बढिरहेको छ,’ फाइनलकी म्यान अफ दी म्याच भएकी लोरेनाले भनिन्, ‘पछिल्लो समयमा महिलातर्फको स्पर्धा पनि प्रतिस्पर्धात्मक बनिरहेको छ ।’ उपाधि भिडन्तमा कोलम्बिया र ब्राजिलबिचको हाई स्कोरिङले एक उदाहरण पेस गरेको उनको भनाइ छ ।
‘दुवै टोलीले फाइनललाई सहज लिएनन् । खेलको अन्तिम समयसम्म गोल गर्न दुवै टोलीका खेलाडी प्रयासमा रहे,’ उनले भनिन्, ‘यसले पनि कोपा महिला अमेरिकाको स्तर प्रमाणित गर्छ ।’ यसैगरी, ब्राजिलकी अनान्डाले टाइब्रेकरसम्म पनि कसले उपाधि जित्छ भन्न नसकेको अवस्थामा पुगेको बताइन् । ‘टाइब्रेकरमा जाँदा एउटा गल्तीमा उपाधि गुम्ने निश्चित थियो । यस्तोमा कुन पक्ष हाबी हुने भन्न सकिने अवस्था थिएन,’ उनले भनिन्, ‘तर, हाम्रा गोलरक्षकले उत्कृष्ट बचाउ गरिन् ।’