
अमेरिकाको बढ्दो दबाबका बाबजुद पनि भारतले रुसबाट तेल खरिदलाई निरन्तरता दिएको छ । पछिल्लो समय रुसी तेलको छुट थप बढेसँगै ‘इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी)’, ‘भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड (बिपिसिएल)’ र ‘हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल)’जस्ता भारतीय सरकारको स्वामित्वमा रहेका रिफाइनरले रुसी तेलको खरिद जारी राखेका छन् ।
हिन्दुस्तान टाइम्स (एचटी) मिडियाको व्यावसायिक तथा वित्तीय समाचार केन्द्रित प्रकाशन ‘मिन्ट’ले दुई जानकार व्यक्तिलाई उद्धृत गर्दै लेखेअनुसार पछिल्लो समय ‘स्पट डिल’का लागि समेत रुसी आपूर्तिकर्तासँग वार्ता सुरु भएको छ । पछिल्लो केही दिनभित्रै भारतीय रिफाइनरले पहिलेभन्दा धेरै छुटमा रुसी तेलले भरिएका दुई कार्गो जहाज खरिद गरेका उक्त समाचार संस्थाले जनाएको छ ।
‘अहिले रुसी तेल आपूर्तिका लागि ओएमसी अर्थात् तेल मार्केटिङ कम्पनी वार्तामा संलग्न छन् । रुसी तेल खरिद कम गर्ने वा रोक्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । विश्वव्यापी रूपमै तेलको मूल्य घटेकाले पछिल्लो समय रुसी तेल आपूर्ति घटेको भए पनि रुसबाट तेल आयात पूरै रोक्ने सम्भावना अहिले देखिँदैन,’ मिन्टले अगाडि लेखेको छ ।
उक्त संस्थाका अनुसार रुसी आपूर्तिकर्ताले पछिल्लो दुई–तीन कार्गो तेलको मूल्यमा प्रतिब्यारेल तीन डलरसम्मको छुट दिएका छन् । यसअघिका खरिदमा करिब १.७ डलर छुट दिइएको थियो । बढ्दो छुटबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी ऊर्जा खरिदका लागि भारतको निन्दा गरे पनि भारतले गर्ने रुसी तेलको खरिद थप बढ्ने सम्भावना देखिएको छ ।
अहिले भारतले रुसी तेलमा पाइरहेको छुट सन् २०२२ को सुरुवाती दिनमा पाएको छुटका तुलनामा धेरै कम हो । सन् २०२२ मा सबैभन्दा धेरै छुट पाएको समयमा भारतले रुसी तेलमा प्रतिब्यारेल लगभग ३० डलरसम्म छुट पाएको थियो । तर, अहिले आएर छुट रकम एकल अंकमा संकुचित भएको छ ।
जुलाई ३० मा राष्ट्रपति ट्रम्पले अगस्ट ७ देखि अमेरिका भित्रिने भारतीय सामानमा २५ प्रतिशत भन्सार कर लाग्ने घोषणा गरेका थिए । साथै भारतले रुसबाट गर्ने ऊर्जा र रक्षा खरिदका लागि थप जरिवानासमेत लगाउने घोषणा गरेका छन् ।
यसैबिच, अमेरिकी मिडिया ‘ब्लुमबर्ग’ले रुसी कच्चा तेलले भरिएका कम्तीमा चारवटा तेल ट्यांकर भारतको पश्चिमी तटनजिक देखिएको समाचार छापेको छ । पानीजहाजमाथि निगरानीकर्तालाई उल्लेख गर्दै ब्लुमबर्गले लेखेको अनुसार ‘द अकिलिज’ र ‘द एलाइट’ नामक ती जहाज हाल जामनगरनजिक देखिएका छन् ।
जुनको अन्त्यमा रुसको मानक ‘युराल्स’ कच्चा तेल लोड गरिने क्षेत्र ‘प्रिमोस्र्क’ र ‘उस्ट लुगा’बाट तेल लोड गरेर हिँडेका ती जहाजको अगस्ट २ र ३ मा जामनगर जिल्लाको सिक्कामा तेल ओराल्ने समयतालिका रहेको ब्लुमबर्गको समाचारमा उल्लेख छ । ती दुबै ट्यांकरमाथि युरोपेली संघ र बेलायतको प्रतिबन्ध लागेको छ ।
द अकिलिज र द एलाइट दुवै ‘एफ्रामेक्स’ श्रेणीका तेल ट्यांकर हुन् । ‘एभरेज फ्राइट रेट एसेसमेन्ट (एफ्रा)’ को संक्षिप्त रूपबाट नाम रहेका यी जहाज श्रेणीले लगभग सात लाख ब्यारेल तेल बोक्न सक्छ । ब्लुमबर्गको रिपोर्टअनुसार सिक्का बन्दरगाहको प्रयोग ‘रिलायन्स इन्डस्ट्रिज लिमिटेड’ र ‘भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड’ दुवैले गर्ने गरेका छन् ।
जहाज ट्र्याकिङसम्बन्धी तथ्यांकले ‘देस्तान’ र ‘हराई’ नामक अन्य दुई ट्यांकर पनि जुन २४ देखि जुलाई १ तिर रुसबाट युराल्स कच्चा तेलको कार्गो उठाएपछि भारततर्फ हिँडेको देखाउँछ । बेलायतद्वारा र युरोपेली संघ दुवैले प्रतिबन्ध लगाएका देस्तान आगामी केही दिनभित्रै जामनगर जिल्लामा रहेको सिक्का बन्दरगाह पुग्ने अपेक्षा रहेको ब्लुमबर्गले लेखेको छ । – द वायरबाट
शुल्क वृद्धिपछि स्वदेशी उत्पादनमा मोदीको जोड
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा निर्मित उत्पादनमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय निर्यातमा २५ प्रतिशत भन्सार शुल्क र अनिर्दिष्ट जरिवाना लगाउने घोषणा गरेको केही दिनपछि प्रधानमन्त्री मोदीले स्वदेशी उत्पादनलाई जोड दिएका हुन् । उनले विश्व अर्थतन्त्र अनिश्चितताको अवधिबाट गुज्रिरहेको बताएका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र वाराणसीमा एक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले आफ्नो आर्थिक प्राथमिकतामा ध्यान केन्द्रित गर्नुपर्ने र नागरिकले स्वदेशी वस्तु तथा सामग्री किन्न संकल्प गर्नुपर्ने बताए ।
‘आज विश्व अर्थतन्त्र धेरै उतारचढावबाट गुज्रिरहेको छ । अनिश्चितताको वातावरण छ । यस्तो अवस्थामा प्रत्येक देशले आफ्नो स्वार्थमा ध्यान केन्द्रित गरिरहेको छ । भारत पनि विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्न गइरहेको छ । त्यसैले हामी आफ्नो आर्थिक हितप्रति सचेत हुनुपर्छ । हाम्रा किसान, उद्योगहरू, युवाहरूका लागि रोजगारी हाम्रा लागि सर्वोपरि छन् । सरकारले यस दिशामा हरसम्भव प्रयास गरिरहेको छ,’ प्रधानमन्त्रीले भने ।
‘तर, देशका नागरिकको रूपमा हाम्रा पनि केही जिम्मेवारी छन् । यो कुरा मोदीले मात्र होइन, सबैले भनिरहनुपर्छ । भारतलाई विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनाउन चाहने जोकोहीले, कुनै पनि राजनीतिक दलले, कुनै पनि नेताले, देशको हितमा बोल्नुपर्छ र मानिसलाई स्वदेशी वस्तु किन्न संकल्प गर्न आवश्यक छ भनेर उत्प्रेरित गर्नुपर्छ,’ मोदीले अगाडि भने, ‘भारतका जनताले भारतीय सीप प्रयोग गरेर उत्पादन गरेको चिज स्वदेशी हो ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका आयात हुने सबै सामानमाथि २५ प्रतिशत भन्सार कर लाग्ने घोषणा गरेका थिए । ट्रम्पले उक्त भन्सार दर घोषणा गर्ने क्रममा भारत छिर्ने अमेरिकी सामानले विभिन्न अवरोध सामना गर्नुपरेको तथ्यको आलोचना गरेका थिए । साथै उनले भारतले गर्दै आएको रुसी तेल र सैन्य उपकरणको खरिदको समेत आलोचना गरेका थिए । यस कदमका लागि भारतमाथि थप ‘जरिवाना’ लगाउनेसमेत उनले धम्की दिएका छन् ।
(एडडिटिभीबाट)