
डिम्बको अवैध कारोबार गर्ने निजी आइभिएफ सेन्टरहरूमाथि छानबिन गर्न सरकारले स्वार्थ बाझिने व्यक्तिलाई जिम्मा दिएको छ । स्वास्थ्य मन्त्रालयले निजी आइभिएफ सेन्टरकै मालिकलाई छानबिनको जिम्मा दिएको हो ।
बिजुलीबजारस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकको अनुगमन र प्रतिवेदन तयार पार्न २ साउनमा समिति गठन गरेको थियो । उक्त समितिको संयोजक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापा आफैँ निजी फर्टिलिटी सेन्टर सञ्चालन गर्छिन् । थापाथली प्रसूति गृहको चिकित्सकका हैसियतमा संयोजक तोकेकामा कुपन्डोलमा उनको प्यासिफिक आइभिएफ सेन्टरसमेत छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नै समिति संयोजक थापा निजी आइभिएफ सेन्टरको मालिक रहेको थाहा भएको बताएका छन् । समिति गठन गर्दा थाहा नभएको पनि उनले बताएका छन् । ‘समिति गठन गरेपछि मात्रै थाहा भयो, उहाँ त निजी आइभिएफको पनि मालिक हुनुहुन्छ भनेर,’ प्रवक्ता बुढाथोकीले भने, ‘प्रसूति गृहका काम गर्ने चिकित्सकले निजी आइभिएफ खोल्नु राम्रो होइन, त्यसमा स्वार्थ नै देखिन्छ ।’
त्यसो भए के अब समिति हेरेफेर हुन्छ त ? प्रवक्ता बुढाथोकीले समितिमा अन्य सदस्य पनि भएकाले संयोजकले भनेकै आधारमा प्रतिवेदन नबन्ने दाबी गरे । ‘संयोजकले भनेकै आधारमा प्रतिवेदन बन्दैन, त्यहाँ सदस्य पनि हुनुहुन्छ,’ उनले भने । २ साउनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटासहित बसेको बैठकले डा. थापालाई संयोजकको जिम्मेवारी दिएर समिति बनाएको थियो । समितिमा स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सुनिता लम्साल र मन्त्रालयका कानुन अधिकृत सुरेश चौलागाईं सदस्य छन् । समितिलाई प्रतिवेदन तयार गर्न पाँच दिनको समय दिइएको थियो । बुधबार उक्त समयावधि सकिए पनि प्रतिवेदन तयार पार्न सकेको छैन ।
सरकारी अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्था सञ्चालन गर्नु नै नियमविपरीत हो । अझ डा. थापाले त प्रसूति गृहमा सेवा लिन आउने कतिपय सेवाग्राहीलाई निजी आइभिएफ सेन्टरमा लैजाने गरेकोसमेत स्रोतले बतायो । उनी लामो समय निजी सेन्टरमै बस्ने गर्छिन् । तर, यसमाथि कुनै अनुसन्धान हुने गरेको छैन ।
निजी आइभिएफ सेन्टरहरूले किशोरीहरूको डिम्ब बिक्री वितरण गरेको भेटिएपछि प्रहरीले समेत यसमाथि अनुसन्धान गरिरहेको छ । किशोरीहरूको डिम्बको अवैध किनबेचबारे नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।